तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सवस्टेसन

सिरहा । सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन निर्माण सम्पन्न भएको छैन । हालसम्म ७७ प्रतिशत मात्र काम भएको छ । नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सवस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाडौंको ढिलासुस्तीले सवस्टेसन निर्माणमा ढिलाइ भएको हो । सरकारको सिङ्गल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सवस्टेसनको भवन, ट्रन्सर्फर जडान विद्युतीय पोल सबै एउटै निर्माण कम्पनीको जिम्मा रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताए । विसं २०७४ असोज ६ गतेदेखि कार्य सुरु गर्ने सम्झौता भई १८ महिनामा निर्माण कार्य सक्नुपर्नेमा तेस्रो पटक २०८० असोजसम्म समय थपिए पनि निर्माण हुने स्थिति छैन । निर्माण कम्पनीका प्रतिनिधि हृदय सिंहका अनुसार एक हप्ताभित्रै पुनः भगवानपुर सवस्टेसन कार्य अघि बढाइने बताए । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख हिमांशु यादवले लामो दूरीका कारण हावाहुरीको समयमा विद्युत् प्रसारणमा समस्या हुने गरेको बताए । उनले भने , ‘स्थानीयले ३३ हजार केभीको लाइनका लागि पोल गाड्न ठाउँठाउँमा अवरोध सिर्जना गरेकाले काम समयमै हुन नसकेको हो ।’ लहान वितरण केन्द्रअन्तर्गत हाल ७० हजार ग्राहक रहेका छन् । गर्मीको समयमा लाइन आउने जाने हुने, भोल्टेजको समस्या देखापर्ने भएकाले भगवानपुर सवस्टेसन बनेपछि यस्ता समस्या समाधान हुने बताइएको छ । प्रादेशिक कार्यालय जनकपुरधामका इन्जिनियर शम्भुकुमार मण्डलले लहानदेखि तीन सय ७६ पोल गाड्नुपर्ने बताए । हाल पोल गाड्ने काम भइरहेको उनको भनाइ छ । उक्त सवस्टेसन १९ करोड ४० लाखको लागतमा निर्माण भइरहेको छ । रासस  

पार्किङ शुल्कमा छुट दिएपछि चोभार सुख्खा बन्दरगाहमा बढ्न थाल्यो आयात

काठमाडौं । चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारी साधन आउने क्रम बढ्दो रुपमा रहेको । गत असार १४ गतेदेखि चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारी साधन आउन शुरु गरेको हो । डेढ महिनाको अबधिमा ४९ वटा सवारी साधन बन्दरगाहामा आइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका अनुसार नयाँ सवारी साधन आउने क्रम निरन्तर जारी रहेको छ । हालसम्म सांग्रिला मोटर्स प्रा.लि. को पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कारहरु र जि. ओ. अटोमोवाइल्स प्रा.लि. को ५ वटा म्यगदभि गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास गर्नेगरी आएको हो । उक्त गाडीहरु वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हाल सवारी साधन आउन सहजीकरण गरिएको बताए । उनले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) सँग समेत धेरै छलफल गरी चोभार भन्सार कार्यालयबाट भन्सार प्रकृया गराउन सबै प्रकृया व्यवस्थित भएपछि सवारी साधन चोभार आएका बताए । आगामी दिनमा अझै सवारी चोभार आउने जानकारी व्यवसायी तथा नाडाले गराएका छन । यसका साथै अन्य व्यवसायीहरुसँग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको व्यहोरा जानकारी दिए । चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि आउने मालवाहक सवारी साधन एवं नयाँ सवारी साधनहरुको लागि प्रबेश शुल्क निःशुल्क गर्नुका साथै पार्किड्ग एवं गोदाम शुल्क समेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ । जसको कारण हाल सम्म चोभार सुक्खा बन्दरगाहमा १७६ वटा कन्टेनर र ४९ नयाँ गाडीहरु भन्सार जाँचपासको लागि आइसकेको र उक्त आउने क्रम निरन्तर रुपमा बढी रहेको छ । आन्तरिक टर्मिनलमा पनि पार्किड्ग एवं गोदाम प्रयोगको लागि आउने व्यवसायीहरुको सख्या बढ्दो क्रममा रहेको जनाईएको छ । चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्न समय केही समय लागे पनि भविश्यमा राम्रोसंग चल्ने विश्वास लिइएको गजुरेल बताउँछन् ।

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार पुनः निर्माण अन्तिम चरणमा

काठमाडौं  । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको पुनःनिर्माण अन्तिम चरणमा पुगेको  छ । चीनले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग उपलब्ध गराएको थियो । सन् २०२२ मा सक्ने गरी सम्झौता भएको नौतले दरबार पुनःनिर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको थियो । विसं २०७६ चैतपछि कोरोनाका कारण काममा समस्या आएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए । पुरातत्व विभागले पुनःनिर्माणमा प्राविधिक सहयोग गरेको थियो । पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको थियो । विसं २०७६ चैतअघि नै ८० प्रतिशत काम सकिएकामा कोरोना महामारीका कारण बाँकी काम सकेर संरचनाका काम हालै  सम्पन्न गरी भित्री साजसजावट र ग्यालरीको काम भइरहेको उनले जानकारी दिए। करिब एक वर्षमा भित्री सजावट र ग्यालरीका काम पनि सम्पन्न गरी सङ्ग्रहालयकै रुपमा नौ तले दरबार सर्वसाधाराणको अवलोकनका लागि खुला गरिने हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । विभागका पूर्व महानिर्देशक दामोदर गौतमले कोरोना महामारी  शुरु हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटो गतिमा भएको बताए । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भएको हो । हाल पुरानै स्वरुपमा नौतले दरबार ठडिएको देखिन्छ । करिब  १६ करोड लागतमा दरबार पुनःनिर्माण भएको जनाइएको छ । दरबार पुनर्निर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास भएको थियो । नेपाल भ्रमणमा रहेका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले  संयुक्त रूपमा दरबार पुनर्निर्माणको शिलान्यास गरेका थिए । दरबार विसं १८२६ मा तत्कालीन राजा पृथ्वीनारायण शाहले निर्माण गराएका हुन् । सम्झौता अनुसार सन् २०२२ को नोभेम्बरसम्म नौतले दरबार पुनःनिर्माणको म्याद रहेको थियो । समयमा काम नसकेपछि पुनःनिर्माणका लागि म्याद थप गरिएको हो । वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माण अझै सकिएको छैन । यस क्षेत्रका ९५ सम्पदामध्ये ७५ वटामा भूकम्पले क्षति गरेको इञ्जिनीयर रेणु महर्जनले जानकारी दिए । हालसम्म ४२ सम्पदा पुनःनिर्माणको काम सकिएको छ । हाल ११ सम्पदा पुनःनिर्माणको काम भइरहेको छ । २२ सम्पदाको भने अझै पुनःनिर्माण सुरु हुन सकेको छैन । बजेट अभावमा २२ सम्पदा पुनःनिर्माण गर्न नसकिएको इञ्जिनीयर महर्जनले बताए । नुवाकोट दरबार पुनः निर्माण जारी चीनले नुवाकोटको सात तले दरबारको पुनर्निर्माणमा पनि सहयोग गरेको छ । चीनकै सहयोगमा नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणको काम पनि भइरहेको जनाइएको छ । नुवाकोट दरबार क्षेत्रका तलेजु भवानी मन्दिर, गारदघर, रङ्गमहल लगायत सबै संरचना चीन सरकारले नै पुनर्निर्माण गर्दैछ । नुवाकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचिकृत हुने गरी प्रक्रिया अघि बढेकाले चीन सरकारले पुरानो स्वरुपमै निर्माण गरिरहेको विभागले जनाएको छ । नुवाकोटको साततले दरबारको निर्माण पनि पृथ्वीनारायण शाहले नै गराएका हुन् । रासस