राष्ट्रिय लोकमार्गको दुरावस्था : यात्रुलाई सास्ती

ढोरपाटन । सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको अवस्था जोखिमयुक्त र हिलाम्मे हुँदा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन् । यहाँका स्थानीय साढे दुई दशकदेखि यही सडक भएर आवतजावत गर्न बाध्य छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडक कालोपत्रका लागि आठ वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । २५ किलोमिटर सडक कालोपत्र गर्नका लागि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई खण्ड बनाएर ठेक्का लगाएको थियो । बागलुङ बजारदेखि काठेखोलाको ताराखसेसम्म १३ किलोमिटर भारत कन्स्ट्रक्सन सिद्धिसाई जेवीसँग विसं २०७३ माघमा सम्झौता गरेको थियो भने ताराखसेदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर कालोपत्रका लागि एमपिएससिएफ इसिसी जेभीसँग विसं २०७२ माघमा सम्झौता भएको थियो । बागलुङ–ताराखसे खण्ड विसं २०७६ माघसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेमा हालसम्म चार पटक म्याद थप गर्दा पनि ७२ प्रतिशत भौतिक प्रगति भएको लोकमार्ग कार्यालय पर्वतले जनाएको छ । यसको म्याद गत असार २० मा सकिएको थियो । त्यस्तै, ताराखसे–घोडाबाँधे खण्ड पाँच वर्षअगाडि नै सक्नुपर्नेमा पाँचौँ पटक म्याद थप गर्दा पनि ७४ प्रतिशत भौतिक प्रगति भएको कार्यालयका इन्जिनियर पवन सुवेदीले जानकारी दिए । उनका अनुसार यस खण्डको म्याद गत असार ५ गते सकिएको हो । बागलुङ–ताराखसे खण्ड निर्माणका लागि  ४० करोडमा सम्झौता भएको थियो भने ताराखसे–घोडाबाँधे खण्डका लागि  ३४ करोडमा सम्झौता भएको इन्जिनियर सुवेदीले जानकारी दिए। आयोजना कार्यालयले पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ । ठेक्का सम्झौता अन्त्य भए पनि अहिलेसम्म नयाँ ठेक्का प्रक्रिया अगाडि बढ् नसकेको बताउँदै नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरिएको उहाँले जानकारी दिए । ‘माथिल्लो खण्डको काम निर्माण कम्पनीले ढिला सुस्ती गरेकाले कार्यालयले पत्रिकामा सूचना निकालेर सम्झौता रद्द गरेको छ । सम्झौता रद्द गरेपछि निर्माण कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो । हामी गएर जफाफ दियौँ, अदालतले स्टेअडर दिएन,’ इन्जिनियर सुवेदीले भने, ‘अब कामको मूल्याङ्कन गरेर नयाँ ठेक्का सम्झौता गर्नुपर्ने हुन्छ, त्यसका लागि लाग्ने सबै लागत पुरानै निर्माण कम्पनीले असुल गर्नुपर्ने हुन्छ । अहिले मूल्याङ्कन गर्ने र कम्पनीलाई लाग्ने लागत असुली गर्ने प्रक्रिया सुरु भएको छ ।’ लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि काठेखोला स्थानीयवासीले सडक नै अवरुद्ध गरेका थिए । इन्जिनियर सुवेदीले सडक अवरुद्ध गरेपछि लोकमार्ग कार्यालयले ठेक्का रद्द गर्ने स्थितिमा पुगेको भन्दै यस खण्डअन्तर्गत छ किलोमिटर सडक कालोपत्र भइसकेको जानकारी दिए । थप दुई किलोमिटर कालोपत्रका लागि तयारी अवस्थामा रहेको जनाउँदै चार किलोमिटर ग्राभेलको काम र दुई किलोमिटर नाली निर्माण गर्न बाँकी रहेको उनले बताए । इन्जिनियर सुवेदीका अनुसार तल्लो बागलुङ–ताराखसे खण्डको हालसम्म सात किलोमिटर कालोपत्र भएको छ । एक किलोमिटरमा कालोपत्र गर्न तयारी अवस्थामा रहेको, पाँच किलोमिटर सडक फराकिलो गरी ग्राभेल र कालोपत्र गर्न बाँकी रहेको उनले बताए । यस खण्डको ठेक्का सम्झौता अन्त्यका लागि तयारी गरे पनि सरकारले सार्वजनिक खरिद निवामावलीको १२औँ संशोधन नियम १२० (क) बमोजिम म्याद थप भएका ठेक्काको सम्बन्धमा विभिन्न कारणले निर्माण कार्य समयमै सम्पन्न हुन नसकेकामा सम्बन्धित कार्यालय प्रमुखले एक पटकसम्मलाई म्याद थप सक्ने भनेअनुसार पत्र आएको हुँदा रोकिएको इन्जिनियर सुवेदीले बताउनुभयो । स्थानीय र पालिकाले यस खण्डको काम निर्माण कम्पनीलाई अन्तिम पटक दिइने सहमति भएको उनको भनाइ थियो । स्थानीय र यात्रुले भने दुई खण्डका निर्माण कम्पनीलाई कारबाही गरी नयाँ सम्झौता गर्नुपर्ने माग गर्दै आएका छन् । बर्खाका कारण सडकको अवस्था बिजोग रहेको भन्दै यात्रा गर्न निकै गाह्रो भएको यात्रु दिलबहादुर क्षेत्रीले बताए । कच्ची सडकबाट भल बगेर कालोपत्र सडकसमेत क्षतविक्षत भएको भन्दै आधा घण्टा लाग्ने दूरीमा अहिले दुई घण्टा लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । सडकमा नाली नहुँदा वर्षाको भल सडकको बीच भागबाट बग्दा ठूला–ठूला खाल्डो परेको क्षेत्रीले बताए । ‘घोडाबाँधेदेखि बागलुङ बजारको दूरी जम्मा २५ किलोमिटर हो, यो दूरीमा समय लाग्ने भनेको आधा घण्टा हो तर सडकको अवस्था खराब हुँदा दुई घण्टा लाग्छ, सडक खोला जस्तो भनेको छ, ठूलो पानी पर्दा भल भग्छ, भलले गाडी नै बगाउला जस्तो गर्छ’, उनले भने, ‘यस्तो सडकमा ज्यान धरापमा राखेर यात्रा गर्नुपर्छ, यो अहिलेको मात्रै समस्या होइन, २०औँ वर्षभन्दा बढी भयो, धेरै पटक यस क्षेत्रबाट सांसद भने मन्त्री बने तर यति बाटो बनाउन सकेनन् ।’ स्थानीय पवन कँडेलले बर्खाको समयमा हिलो र हिउँदमा धुलो घरभित्रै आउने हुँदा सडक नजिकका धेरै स्थानीयले बसाइँसराइ गर्न बाध्य भएको सुनाए । यति बेला लोकमार्ग आसपासका घर र बारीमा भएका फलफूल सबै सडकबाट उछिट्टिएका हिलोले पुरिएको बताए । दैनिक सयौँ गाडी गुड्ने हुँदा सडकमा हिलोको थुप्रे बढेको भन्दै स्थानीय पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । रासस

सेनाले जिम्मा लिएको पाँच पूर्वाधार आयोजनाको प्रगति सुस्त

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनासँग छलफल गर्ने भएका छन् । भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले पाँच आयोजनामा निर्माणको काम गरिरहेको छ । नेपाली सेनाले निर्माण गरिरहेका कतिपय आयोजना सन्तोषजनक नभएपछि मन्त्री ज्वालाले छलफल गर्न लागेको बताएका छन् । काठमाडौं–तराई मधेश फास्ट ट्रयाकमा भने जति काम हुने सकेको छैन भने कर्णाली करिडोरमा पनि सन्तोषजनक काम नभएको भौतिक पूर्वाधार मन्त्रालयको भनाई छ । ‘१८ भदौमा नेपाली सेनासँग छलफल गर्ने कार्यक्रम तय भएको छ’, मन्त्रीका नीजि सचिव रामहरी शर्माले भने, ‘छलफलपछि मन्त्री आफै स्थलगत भ्रमणमा जाने कार्यक्रम तय भएको छ’ । नेपाली सेनाले काठमाडौं–तराई मधेश, कोशी करिडोर, गोरखाको लार्के भञ्याङ, कर्णाली करिडोरको खुलालु र सल्लीसल्ला, दार्चुला टिंकर सडक निर्माण गरिरहेको छ । यी सबै ठाउँको स्थलगत अध्ययन गर्ने कार्यक्रम मन्त्री ज्वालाले बनाएकोसहसचिव अर्जुन थापाले बताए । काठमाडौं तराई मधेश फास्ट ट्रयाकको पछिल्लो समय डिपीआर संशोधन भएको छ । डिपीआर संशोधनपछि लागत मुल्य २ अर्ब २ करोड घटेको छ भने निर्माणको समय पनि घटेको छ । टनेल थपिदा बाटोको लम्बाई पनि कम भएको छ । मन्त्री ज्वालाले सडक विभागअन्र्तत सञ्चालन भएका आयोजनाको ‘टाइम कार्ड’ लागु गरेका छन् । तर, नेपाली सेनाले काम गरिरहेको आयोजनाको तालिका बनेको छैन । तालिका बनाउन पनि १८ भदौमा छलफल गर्ने कार्यक्रम राखिएको छ ।

निर्माण सामग्री अभावले मझगाउँ विमानस्थल निर्माण सुस्त

कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल निर्माण सुस्तगतिमा भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त विमानस्थलको अहिलेसम्म २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्री अभावले विमानस्थल निर्माण सुस्तगतिमा भएको विमानस्थल आयोजनाका इन्जिनियर अंकित शर्माले बताए । बर्खामा निर्माण सामग्री ढुवानीका लागि समस्या भएकाले विमानस्थल निर्माणको काम रोकिएको उनले बताए । ‘माटो र ग्राभेलको काम चलिरहेको थियो, बर्खाले माटो र ग्राभेल ढुवानीमा समस्या भएपछि काम रोकिएको छ,’ शर्माले भने, ‘बर्खा रोकिएपछि फेरि काम सुरु गर्नेछौँ ।’ उनका अनुसार विसं २०७८ मा तीन वर्षभित्र काम सक्ने गरी ४५ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजनाका अनुसार अहिलेसम्म विमानस्थलको धावनमार्गको ९ सय मिटर सवबेस र ९ सय मिटर नाली निर्माण सकिएको छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा विमानस्थल पुनः निर्माण भइरहेको इन्जिनियर शर्माले जानकारी दिए । उनका अनुसार विमानस्थल पुनःनिर्माणमा भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनीको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र संघीय सरकारको ५० प्रतिशत लगानी रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्न वाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएकाले निर्माण प्रभावित बनेको आयोजनाका इन्जिनियर शर्माले बताए । ‘उक्त क्षेत्रमा धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण तथा कामदार निकुञ्जले नियन्त्रणमा लिएको थियो,’ उनले भने, ‘काम सञ्चालन गर्न दिने मौखिक सहमति भई भोगाधिकारको प्रक्रिया अगाडि बढाउने भएपछि धावनमार्ग निर्माण अगाडि बढेको हो ।’ मझागाउँ विमानस्थलमा १ हजार ५ सय २५ मिटर लामो धावनमार्ग निर्माण भइरहेको छ । विसं २०३० देखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो । सशस्त्र द्वन्द्वका बेला विसं २०५६ मा सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो । त्यसयता विमानस्थल सञ्चालनमा आउन सकेको छैन । कञ्चनपुरमा विमानस्थल सञ्चालनमा नआउँदा हवाई सेवाका लागि यहाँका स्थानीय धनगढी जाने गरेका छन् । रासस