भेरी-बबई डाइभर्सनको काम दुई बर्ष भित्र पूरा गर्न उर्जा मन्त्रीको निर्देशन

सुर्खेत । नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरबको आयोजना भेरी बबई ड्राईभर्सनको काम आगामी दुई बर्षभित्र पूरा गर्ने गरी कार्ययोजना बनाउन निर्देशन दिएका छन् । आईतबार भेरी बबई डाइभर्सनको स्थलगत अनुगमन पछि आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका कर्मचारीहरुसंगको छलफलका क्रममा मन्त्री बस्नेतले आगामी दुई बर्षमा काम सम्पन्न गर्नका लागि ठोस कार्ययोजना बनाउन निर्देशन दिएका हुन् । तोकिएको अवधिमा काम सम्पन्न गर्ने अवस्था नभए निर्माण अवधिको म्याद मात्र थपेर नहुने भन्दै मन्त्री बस्नेतले आगामी दिनमा म्याद मात्र थमौती गर्ने काम सरकारले नगर्ने बताए । ‘ड्राईभर्सनको काम चाहे अनुसार अगाडी बढ्न सकेको छैन्, आगामी दुई बर्ष भित्रमा आयोजनाको काम सक्ने गरी कार्ययोजना बनाउनु पर्यो । कार्ययोजना अनुसार काम भए नभएको रिर्पोट अनुसार मात्र म्याद थप्ने बारे कुरा हुन्छ, नत्र जति पनि म्याद थप्ने काम सरकारले गर्न सक्दैन्’,  मन्त्रीले भने । आयोजना प्रभावीत क्षेत्रका नागरिकलाई मुआब्जा दिने काम पनि यथासिघ्र अघि बढाउन उनले निर्देशन दिएका छन् । ‘प्रक्रिया पुगेका नागरिकलाई आयोजनाले वा सरकारले अन्याय गर्ने काम हुदैन, प्रक्रिया पुगेका नागरिकका फाईल अघि बढाई मुआब्जा लिन बञ्चित जनतालाई प्रक्रियामा लैजानुहोस’, बस्नेतले भने, ‘नागरिकलाई हाम्रो तर्फबाट मर्का पार्ने काम गरिनु हुदैन् ।’ अनुगमन कार्यक्रममा कर्णाली प्रदेश सरकारका कार्यबाहक मुख्यमन्त्री मंगल शाही, कर्णाली प्रदेश सरकारका प्रवक्ता एर्व आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, प्रदेश सभा सदस्य बिन्दमान बिष्ट लगायतको पनि उपस्थिति रहेको थियो ।

९ सय मेगावाटको अरुण तेस्रो विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग स्थानीयवासीले ठप्प पारेका छन् । अरुण तेस्रो प्रवेशमार्गको छयाङकुटी–दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीनरूपमा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र सडक बन्द गरेका हुन् । शनिबारदेखि अरुण तेस्रो प्रवेश मार्गअन्तर्गतका जग्गाधनीले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका छन् । अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेका कारण बाध्य भएर अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्गको सडक ठप्प पारेको अरुण तेस्रो प्रवेश मार्ग मुआब्जा सङ्घर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताए । अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युत्गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा वितरणको माग गर्दै अनिश्चितकालीनरूपमा विद्युत् गृहस्थल पुखुवा र प्रवेशमार्गको सडक बन्द गरिएको संयोजक राईले बताए । जिल्ला प्रशासन कार्यालयले गत वैशाख २६ गते छयाङकुटी–दिदिङ्ग सडक खण्डको छुट मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । पहिलो चरणमा ४५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ ।

नारायणगढ-मुग्लिन सडकका दुई पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दसैँअघि सञ्चालन गर्नेगरी काम अघिबढेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ-मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामोबालुवा र डुम्रेस्थित पुल दसैँं अघि सञ्चालनमा आउनेगरी काम अघि बढाइएको हो । पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभानस्थित पुल असार महिनादेखि सञ्चालनमा आएको छ । उनले भने ‘सञ्चालनमा आउने तयारीमा रहेका दुवै पुलको माथिल्लो तहमा कालोपत्र गर्न बाँकी छ । वर्षातका कारण केही ढिलो भयो, दसै अघि काम सम्पन्न हुन्छ ।’ आयोजनाले असार मसान्तमै ती पुल सञ्चालनमा ल्याउने तयारी गरेको थियो । वर्षात्सँगै कालोपत्र र बाँकी काम गर्न नभ्याइएकाले केही ढिलो भएको हो । बाँकी १२ मध्ये १० पुल पुस महिनासम्म सम्पन्न हुने अनुमान गरिएको आयोजना प्रमुख कार्कीले बताए । पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु गरिएको छैन । पुलको मुखमा बसेकालाई मुआब्जा वितरणसँगै खहरे खोलाको पुलको काम थालिएको छ । जगको काम सकिएको छ । यी दुई पुल चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको उनको भनाइ थियो । आयोजना प्रमुख कार्कीले भने ‘जलविद्युत् कम्पनीमासमेत विस्फोटका सामग्री आउन थालेकाले दसैँपछि यो पुल निर्माणस्थलको भित्तो विस्फोट गर्न सकिएला । यससँगै कामलाई तीव्रता दिएर यसै वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्ने योजना छ । पुल निर्माणका क्रममा २४ घरको मुआब्जा दिनुपर्ने भएकाले काम रोकिएको थियो ।’ ती घर हटाउन ९७ लाख आवश्यक पर्नेमा ७० लाख निकासा गरी १६ परिवारलाई मुआब्जा दिएर हटाइएको छ । बाँकी छ परिवारलाई छिट्टै दिइनेछ । एक जनाले मुआब्जामा चित्त नबुझेर रकम बुझेका छैनन् भने अर्का एकजनाले यस अघि नै मुआब्जा लिएर पुनः सोही ठाउँमा बसेको बुझिन आएकाले अध्ययन हुँदैछ । पुलको मुखमा बसेकालाई मुआब्जा दिएर हटाउन लागिएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये चार पुल अघिनै निर्माण भई सञ्चालनमा आइरहेका छन् । आयोजना प्रमुख कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरिएको एक वर्षको समय यही विसं २०८० को पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो । नक्साङ्कनसहित पुल निर्माणका लागि ठेक्का लगाइएकामा निर्धारित समयमै काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो छ । दायाँबायाँ फुटपाथसहित गरेर नौदेखि ११ मिटर पुल फराकिलो रहेको छ । केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । सो सडकको चौडाईसमेत नौदेखि ११ मिटर फराकिलो छ । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन आवागमन हुने गर्छन् । तराईबाट राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक पर्दछ । केही वर्षअघि सडक विस्तार गरिएपछि सडक फराकिलो बनाइएको हो। तत्कालीन समयमा काटिएको भित्तोका कारण कतिपय ठाउँमा पहिरो खसेर दुःख दिने गरेको छ । रासस