एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको प्रगति नियालीरहेको छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक्सन रुमबाटै राष्ट्रिय गौरवका आयोजनाको प्रगति नियालिरहेको बताएका छन् । मंगलबार संघीय संसद् अन्तरगतको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदैँ उनले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट नियमित तवरमा कार्यतालिका बनाएर कार्य प्रगतिको जानकारी लिई कार्य सम्पादनका लागि आवश्यक निर्देशन दिँदै आएको बताए । उनले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गरिनुका साथै नियमित अनुगमन भईरहेको समेत बताए । हालसम्म राष्ट्रिय गौरवका आयोजनामध्ये २ वटा सम्पन्न भएका, १४ वटाको प्रगति ८० प्रतिशत भन्दा माथि रहेको, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म रहेको र २ वटाको प्रगति ५० प्रतिशत रहेको छ । हुलाकी राजमार्गका सम्बन्धमा चितवन र पर्सामा राष्ट्रिय निकुञ्ज क्षेत्रमा डिपिआर तयार लगायतका कार्यमा भएको ढिलाइका कारण सो आयोजनाको कार्य आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको उनले जानकारी गराए । यस्तै, पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत भई समष्टिगत वित्तीय प्रगति ६५.७३ प्रतिशत रहेको, लुम्बिनी विकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६०.३४ प्रतिशत रहेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रारम्भिक चरणको कार्यहरू मात्र भइरहेको र लगानी एवं निर्माणको उपयुक्त मोडालिटी भए पश्चात विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइने उनले बताए । उक्त आयोजनाको लागि चालू आर्थिक वर्षमा ३५ करोड रुपैयाँ विनियोजन भएको छ । मेलम्ची खानेपानी आयोजनामा श्रावण महिनामा आएको बाढीले पुनः हेडवर्क्स पुर्नुका साथै मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको पहुँच मार्गमा क्षति पुगेको छ । मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गरी मेलम्चीको पानी वितरणलाई सुचारु गरिने उनले जानकारी गराए । यस्तैगरी प्रधानमन्त्री प्रचण्डले सञ्चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्न सरकारले जोड दिदैँ आएको समेत बताए ।
प्रधानमन्त्रीले दिए प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई भैसेपाटी निवासको साँचो [तस्वीरहरु]
काठमाडौं । ललितपुरको भैंसेपाटीमा बनेको मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको नयाँ कार्यालय तथा निवासको साँचो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् । आइतबार आयोजित एक समारोहमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई नयाँ निवासको साँचो हस्तान्तरण गरेका हुन् । कार्यक्रममा केन्द्रीय सरकारका मन्त्री, प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थिति थियो । सहरी विकास मन्त्रालयको बनाएको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको निवासमा १४ वटा ब्लक छन् । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्नको लागि बनाइएको उक्त निवास तयार गर्दा सरकारले ८५ करोड रुपैयाँ खर्च गरेको बताएको छ ।
सडक निर्माण भएको ३० वर्षपछि नागढुङ्गा–मुग्लिन सडक स्तरोन्नति हुँदै
मलेखु । सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि उक्त सडक पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नतिकाे काम भइरहेको छ । यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहे पनि जगैदेखि विस्तारको काम भने पहिलो पटक भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाका पूर्वी खण्डकाे योजना प्रमुख ईश्वर रिजालले बताए । उनका अनुसार पहिलो चरणअन्तर्गत हालसम्म ३५ प्रतिशत, दोस्रोमा १० प्रतिशत र तेस्रोमा करिब तीन प्रतिशत काम भएको छ । एक तर्फी गाडी सञ्चालन गराउँदै टेवा पर्खाल, नाली निर्माण, मोड सुधार, बेस्ट वाल निर्माणलगायत काम भइरहेको रिजालले जानकारी दिए । नेपाल सरकार र विश्व बैंकको ऋण सहयोगमा १२ अर्बको लगानीमा पृथ्वीराजमार्गको नागढङ्गा–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम थालिएको उनले बताए । ‘नौविसे नागढुङ्गामा निर्माणको काम लगभग अन्तिममा पुगिसकेको छ । पिचको काम बाँकी छ’, उनले भने । सडक विभागको तथ्याङ्क अनुसार पृथ्वीराजमार्ग र त्रिभुवन राजपथहुँदै दैनिक साना ठूला गरी करिब १५ हजार सवारी काठमाडौँ ओहोरदोहोर हुँदै आएका छन् । उकालो र घुम्तीले गर्दा सवारी जाम हुने स्थानमा दुई लेनको अतिरिक्त एक लेन थप्ने गरी काम भइरहेको योजना प्रमुख रिजालले बताए । साना गाडीको पनि चाप हुने भएकाले बजार क्षेत्रमा चारदेखि छ लेनसम्म सडक चौडा गरिने योजना रहेको उनले जानकारी दिए । आयोजनाका आयोजना पश्चिम खण्डका योजना प्रमुख किरण कार्कीका अनुसार भौगोलिक हिसाबले सहज भएका स्थानमा दुई लेनलाई नै व्यवस्थित गर्ने गरी काम भइरहेको छ । समग्रमा कम्तीमा नौ मिटरदेखि बढीमा ३० मिटरको चौडाइमा स्तरोन्नति हुने उनले जानकारी दिए। ‘नौविसे र खत्रीपौवामा पुल बन्दैछ । नौविसेदेखि मलेखुसम्ममा १६ पुल बन्नेछ’, उनले भने । सडकमाथि मेसिन चढाएर पहरा काट्नुपर्ने स्थानमा काम गर्दा माथिबाट ढुङ्गामाटो खसेर सवारीमा लाग्न सक्ने जोखिम भएकाले त्यस्ता स्थानमा सवारी आवागमन केहीबेर रोकेर काम गर्ने गरिएको कार्कीले बताए । बर्खाको समयमा धमाधम काम भइरहे पनि राजमार्गमा सवारी रोकेर काम गर्दा यात्रुले सास्ती बेहोर्नु परिरहेको छ । रासस