निर्माण सामग्री अभावले मालढुङ्गा–बेनी सडक ठप्प

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज अच्युतविलास पन्तले जानकारी दिए । सम्झौता अवधि नाघिसक्दासमेत जम्मा ४२ प्रतिशतमात्र प्रगति भएको उक्त सडकखण्ड निर्माण सामग्री अभावले ठप्प बनेको हो । सम्झौताअनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म ४२ प्रतिशतमात्र काम भएको छ । कालीगण्डकी करिडोर आयोजना जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज पन्तका अनुसार हालसम्म मालढुङ्गा–बेनी सडकको ४२ प्रतिशत काम सम्पन्न भएको छ । उनले २०८० पुससम्म म्याद थप भएको बताउँदै सडक निर्माणका क्रममा विभिन्न बाधा–अवरोध सिर्जना भएकाले ढिला भएको बताए । थप गरिएको अवधिसमेत अब दुई महिनामात्र बाँकी छ । गत वर्ष नै सम्पन्न हुनुपर्ने सडक भए पनि ठेक्का सम्झौताअुनसार निर्माण सामग्रीको प्रयोग गर्न नपाएपछि ढिलाइ भएको हो ।ठेक्का सम्झौतामा नजिकै रहेको कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गरेर सडक निर्माणमा प्रयोग गर्ने उल्लेख भए पनि निर्माण कम्पनीलाई नदीजन्य वस्तु उत्खनन गर्न नदिइएपछि समयमै काम सम्पन्न हुन नसकेको हो । सामग्रीकै अभावले निर्माण कम्पनीले एक वर्षदेखि धमाधम काम गर्न सकेको छैन । गत माघदेखि ठप्प बनेको काम असारदेखि सुरु भए पनि फेरि दसैँदेखि ठप्प बनेको इन्जिनियर पन्तले बताए । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण सामग्रीको अभावमा रोकिएको हो । तेह्र किलोमिटर लामो उक्त सडकमा अहिले यात्रा गर्न सकस हुने गरेको छ । सडकमा रहेका ठूला–ठूला खाडल, हिलो र ढुङ्गा तथा पहिराका कारण जोखिमपूर्ण बनेको छ । म्याग्दी सदरमुकाम बेनी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधन हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेका छन् । मालढुङ्गाबाट बेनीसम्मको १३ किलोमिटर पार गर्न घण्टौँ समय लाग्ने गरेको छ । निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले पटक–पटक बेनी–जोमसोम–कोरल्ला सडक आयोजनालाई पत्र लेख्दै निर्माण सामग्रीको व्यवस्थापन गरिदिन आग्रह गरेपनि कुनै सुनुवाइ नभएपछि निर्माणले गति लिन नसकेको हो । सडकको निर्माण ढिलाइ हुँदा चौतर्फी दबाबका कारण असारदेखि सुरु भए पनि निर्माण सामग्री नहुँदा फेरि रोक्नुपरेका एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए । कालीगण्डकी नदीमा शालिग्राम पाइने भएकाले क्रसर व्यवसायीले जथाभावी उत्खनन गर्दा यसको संस्कृति र सभ्यता नै लोप हुन थालेको भनेर सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि अदालतको अन्तरिम आदेशपछि स्थानीय तहले समेत नदीबाट ढुङ्गागिट्टी उत्खननका लागि ठेक्का लगाउन सकेका छैनन । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशानुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लागेको छ । रासस

८० लाख निर्माण भयो गोरखाको स्तुल खोलामा बेलीब्रिज

  गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए । उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिकाको वडा नं ८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खाका बेला सवारीसाधान आवातजावतमा अत्यधिक कठिनाइ हुने गरेको थियो । बेलीब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेभीसँग ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणको काम एक वर्षभित्रमा सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि ठेकेदार कम्पनीले चार महिनाभित्रै काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिए । बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई अहिले सजिलो भएको छ । पुल नबन्दा हिउँदका बेला जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा भने सवारी सञ्चालन गर्न नसक्ने अवस्था रहेको थियो । पुल निर्माण सम्पन्न भएसँगै आरुघाट गाउँपालिका–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका क्षेत्रका स्थानीय बासिन्दा विशेष लाभान्वित भएका छन् । रासस

विपी स्मृति भवनलाई जुट्यो तीन करोड सहयोग

बागलुङ । बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ । विपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति भएको छ । सहयोग सङ्कलन गरिएको रु तीन करोडमध्ये रु ७५ लाख सरकारी निकायबाट हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको छ । गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ । अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा स्मृति भवन निर्माण भइरहेको छ । हालसम्म भवन निर्माणमा झण्डै रु एक करोड खर्च भइसकेको अध्यक्ष आचार्यले बताए । उक्त भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट रु ५० लाख, बागलुङ नगरपालिकाबाट रु २० लाख र जैमिनी नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन भई फछ्र्योट भइसकेको छ । यस्तै जिल्लाका विभिन्न व्यक्ति, शुभेच्छुक तथा जनप्रतिनिधिबाट रु एक करोड ५९ लाख र जापानबाट रु ५० लाख सङ्कलन भएको छ । ‘सहयोग जुटाएरै आधुनिक भवन निर्माण थालिएको छ’, अध्यक्ष आचार्यले भने ‘अबको तीन वर्षमा भवनले सार्थकता पाउला भन्ने आशा छ, सहयोग उठ्ने क्रम जारी छ ।’ नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनले सहयोग सङ्कलन अभियानलाई स्वदेशमा मात्रै नभएर विदेशमा समेत चलाइएको बताए । शेरचन हालैमात्र जापान भ्रमणमा पुगेर भवन निर्माणका लागि रु ६० लाख सहयोग सङ्कलन गरेर फर्किएका थिए । रु १० करोड सहयोग जुटाउने नेपाली कांग्रेसको अभियान छ । बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद गरेर भवन निर्माण थालिएको हो । रासस