आठ वर्षपछि ५७ करोडमा बन्दै अदालतको भवन

बागलुङ । भूकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदैछ । पोखरा उच्च अदालतको बागलुङस्थित इजलासको उक्त भवन दुई चरणमा  काम भइरहेकाले  निर्माणले तीव्रता पाएको हो । छ तलाभन्दा बढीको पूर्ण आपाङ्गमैत्री भवनमा अहिले  चौथो तलाको काम भइरहेको  छ  । अदालतको भवन २०७२ सालको भूकम्पले छियाछिया बनाएकाले पहिलो पटक दुईवटा विद्युतीय भर्‍याङसहित नमूना भवन निर्माण भइरहेको हो । हालसम्म भवनको ४० प्रतिशत काम सम्पन्न भइसकेको र  सोही भवनसँगै जोडिएको मुख्य आवासगृहको पहिलो तला  पनि ढलान भएको निर्माण कम्पनीको जिकिर छ । मुख्य भवनको मात्रै निर्माणको काम ६० प्रतिशत भए पनि भवन तथा तीन वटा आवास गृह निर्माणका हिसाबले पूरै योजनाको ४० प्रतिशत सम्पन्न भएको हो । सम्झौता भएको ११ महिनामा चौथो तलाको ढलान भइरहेकाले सम्झौता अघि नै भवन सकेर बुझाइने निर्माण कम्पनीले जनाएको छ । उक्त भवन ३० महिनामै सक्नेगरी २०७९ मङ्सिर १६ गते श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले रु ५७ करोडमा ठेक्का पाएको थियो । भवन निर्माणका लागि अत्याधुनिक उपकरण प्रयोग गर्नाका साथै दिन र रातमा समेत दुई चरणमा निर्माणको काम भइरहेको ठेकेदार कम्पनीका  व्यवस्थापक ओम गुरुङले जानकारी दिए । ‘पुरानो भवन भत्काउनेदेखि नयाँ भवनको भूइँतलाको लागि माटो व्यवस्थापनमा समय लाग्यो, अहिले दिनरात गरी दुई चरणमा काम भइरहेको छ, यति ठूलो भवन ३० महिनामै सक्नु चुनौतीपूर्ण हो तर हामीसँग प्रविधि र जनशक्ति दुवै छ’, उनले भने, ‘रु ५७ करोड लागतको भवन दिनमा मात्रै काम गरे पाँच वर्ष लाग्छ, दिनरात काम गरेर ३० महिना अगावै सक्नु आवश्यक छ ।’ भवन निर्माणका लागि आवश्यक कच्चा सामग्री रेडिमिक्सको सहायताबाट तयार पारी प्राविधिक जाँच गरेपछि मात्रै प्रयोगमा ल्याइने गरिएको छ । श्रमिकलाई समेत आवसीय सुविधासहित भवन निर्माणस्थलमै राखिएको छ । बागलुङ इजालसका सूचना अधिकारी शिवप्रसाद गौतमका अनुसार भवन निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको अन्य निर्माणमा जस्तो निर्माण व्यवसायीले यो भवन निर्माणमा ढिलासुस्ती नगरेकाले समय अगावै सकिने छ । ‘अहिले उक्त इजलासको काम यहाँस्थित जिल्ला अदालतको भवनबाटै भइरहेकाले हामीलाई छिटोभन्दा छिटो भवन निर्माणको काम सकेर सेवा दिन आवश्यक छ’, उनले भने । अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनसँगै अथिति गृह र कर्मचारी आवाससमेत तीन ब्लकमा हुनेछ । सात रोपनी जग्गामा निर्माण भइरहेको उक्त  भवन प्रविधिमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीका साथै  साविक धौलागिरि अञ्चलका चार जिल्लामध्ये सबैभन्दा ठूलो र आधुनिक हुने सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।सो भवनमा छवटा अत्याधुनिक इजलास कक्ष रहने छन् । रासस

सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति गरिएपछि यात्रा अवधि छोटिनाका साथै सहज र सुरक्षित पनि भएको छ ।  बाटो खुलेको करिब १५ वर्षपछि सडक ग्राभेल, ढलान र कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तार, घुम्ती तथा मोड निर्माण र ग्रेड सुधार भएपछि यात्राअवधि छोटिएको स्थानीय चालक विश्वास खत्रीले बताए। ‘पहिला पोखरेबगरदेखि घोडेपानी पुग्न तीन घण्टा लाग्दथ्यो,’ उनले भने ‘अहिले एकै घण्टामा पुगिन्छ । गाडी विग्रने समस्या कम भएको छ । दुर्घटनाको जोखिम पनि कम भएको छ ।’ अठार दशमलव ५४ किलोमिटर दूरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार-खिवाङ-शिख-फलातेहुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकैको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो । सो प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको कास्कीस्थित स्थानीय पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण गरिएको सो आयोजनाका लागि मोतीदान-जयमाता जेभीले २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको थियो ।  निर्माण कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले सडक आयोजनाका अधिकांश काम सकिएको बताए । ‘डिबिएसडी प्रविधिको कालोपत्र गर्नेुपर्ने बिरौटा बाहेकको ठाउँमा दोस्रो कोड पनि भइसक्यो,’ उनले भने ‘ढलान, ग्राभेल र सोलिङको काम यसअघिनै सकिएको छ ।’  विसं २०७७ जेठ २२ गते सक्ने सम्झौता भएको सो आयोजनाका लागि निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूबनोट हुनु, प्राकृतिक विपत्ति आइपर्नु, कोरोना महामारीलगायत कारणले लक्ष्यभन्दा तीन वर्षपछि पूरा हुन लागेको हो ।  सडक निर्माणले पूर्णता पाएपछि स्थानीयवासी तथा पर्यटकलाई आवतजावत गर्न सहज भएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए। शिख, घारका दुई हजार पाँच सय घरधुरी र दैनिक सयौँको सङ्ख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई यो सडकले सुविधा पुगेको उनले जानकारी गराए ।   म्याग्दीको गौरवको आयोजना मानिएको सो आयोजनाबाट सडक यातायात मात्र नभएर पर्यटन प्रवर्द्धन र कषिको  विकासका लागिसमेत उत्तिकै महत्व छ । सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारवासीलाई आवतजावतका साथै ढुवानी स्थानीय उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति

काठमाडौं । अनेकौँ बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७.१९ प्रतिशत र वित्तीय प्रगति २९.३२ प्रतिशत छ । नेपाली सेना, विकास निर्माण निर्देशनालयका सहनिर्देशक प्राविधिक महासेनानी विश्वबन्धु पहाडीले उक्त आयोजना निर्धारित मितिमा सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको बताए । “नेपाली सेनाको जिम्मेवारीअन्तर्गत निर्माणाधीन द्रुतमार्ग निर्माण कार्यलाई गुणस्तरीयरुपमा लक्षित समय सीमाभित्र सम्पन्न गर्न सेना कटिबद्ध रहेको छ”, उनले भने । आयोजनाको मुख्य चुनौतीका रुपमा लिइएको सुरुङ र अग्ला विशिष्ट प्रकृतिका पुल निर्माण लक्ष्यअनुरुप र उत्साहजनक ढङ्गले प्रगति भइरहेको पहाडीको भनाइ छ । उनका अनुसार आयोजनाअन्तर्गत मकवानपुरको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ र अग्ला पुल निर्माण भइरहेका छन् । हालसम्म निर्माणाधीन सुरुङको कूल लम्बाइ ६.४१५ किलोमिटरमध्ये ३.१३५ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको आयोजनामा संलग्न प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार ३.३५५ किलोमिटर लामो महादेवटार सुरुङमा १.४९० किलोमिटर निर्माण भएको छ । यस्तै १.६३ किलोमिटर लम्बाइको धेद्रे सुरुङमा ८०६ मिटर तथा १.४३ किलोमिटरको लेनडाँडा सुरुङमा ८५७ मिटर निर्माण भइरहेको छ । सुरुङमार्गको दुवैतर्फबाट खन्ने र सँगसँगै ‘फिनिसिङ’ गर्ने काम भइरहेको छ । गहिरा खोचमा अग्ला प्रकृतिको पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको प्राविधिक प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए । आयोजनाअन्तर्गत हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नं १ देखि ५ सम्मका ४५ वटा पुलको डिजाइन सम्पन्न भएको र १ हजार ७६८ ‘पाइल’मध्ये १ हजार १७५ पाइल निर्माण भइसकेको सेनाले जनाएको छ । दु्रतमार्गमा ८२ मिटर अग्ला ‘टावर’ तथा ४ सय मिटरभन्दा लामा पुल निर्माण हुनेछन् । सेनाले उक्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्नेगरी १३ वटा प्याकेज बनाइ निर्माणलाई अगाडि बढाएको छ । प्याकेज नं १ देखि ७ सम्मका प्याकेज निर्माणाधीन अवस्थामा छन् । आयोजनाको पुरक विस्तृत परियोजना प्रतिवेदन समयमै स्वीकृत नहुँदा आयोजनाको बाँकी जग्गा अधिग्रहण एवं वातावरणीय प्रभाव मूल्याङ्कन तथा रुख कटानमा जटिलता थपिएको सेनाले जनाएको छ । यसअघि स्वीकृत विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’मा आयोजनाको दुवैतर्फका प्रवेश बिन्दु तथा विश्रामस्थलमा इन्टरचेञ्ज तथा टोल प्लाजाको व्यवस्था नभएकाले सेनाले पूरक विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृतिका पठाएको थियो । सो पूरक ‘डिपिआर’ स्वीकृत नहुँदा बाँकी प्याकेजमा ठेक्का लगाउन नसकिएको सेनाले जनाएको छ । पूरक डिपिआर स्वीकृतिका लागि सम्बन्धित निकायसमक्ष समन्वय भइरहेको र त्यसम्बन्धी कार्य छिट्टै निष्कर्षमा पुग्ने सेनाले विश्वास लिएको छ । आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको जग्गा अधिग्रहणमा देखिएका समस्याको हालसम्म निक्र्योल हुन नसक्दा भने आयोजनालाई तीव्रता प्रदान गर्ने कार्यमा केही बाधा अड्चन पुगिरहेको छ । सेनाले भने सो खोकना इलाकामा दु्रतमार्गको सुरु बिन्दु निर्धारण, सवारी अवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपश्चात् खरिद प्रक्रिया सुरु गर्ने गरी तयारी अवस्थामा रहेको जनाएको छ । सरकारले विसं २०७४ वैशाख २१ गते काठमाडौँ र तराई–मधेसलाई जोड्ने सो रणनीतिक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । विसं २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढबाट सो आयोजनाको शिलान्यास गरेका थिए । सरकारले गत असोज ३० गते आयोजनाको परिमार्जित डिपिआर स्वीकृत गरेको थियो । उक्त डिपिआरअनुसार द्रुतमार्गको कूल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ । आयोजनामा छ वटा सुरङमार्ग रहेका छन् । सुरुङमार्गको कूल लम्बाइ १०.०५५ किलोमिटर रहेको छ । देविचौरमा १, सिसौटारमा ०.३९, चन्द्राम भिरमा २.२५, महादेवडाँडामा ३.३५५, धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर लामा सुरुङ निर्माण हुनेछन् । अहिले लेनडाँडा, महादेवडाँडा र लेनडाँडामा सुरुङ निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । उक्त द्र्रुतमार्ग ‘एसियन हाइवे’ मापदण्डको हुनेछ । सो सडकमा दुईपाङ्ग्रे सवारी गुडाउन निषेध गरिनेछ । आयोजनामा १२.८८५ किलोमिटर लम्बाइका विभिन्न ८९ वटा पुल निर्माण गरिनेछ । मकवानपुरको बुदुनेमा सडकको दुवै किनारामा दुई विश्रामस्थल हुनेछन् । ती विश्रामस्थलमा पेट्रोलपम्प, शौचालय, होटललगायतका सुविधा रहनेछ । द्रुतमार्गमा खोकना, बुदुने र निजगढमा प्रवेश गर्न र बाहिरिनसक्ने ‘इन्टरचेञ्ज’को व्यवस्था हुनेछ । सो सडकमा ती स्थानबाहेक अन्य स्थानमा प्रवेश गर्न र निस्कन पाइने छैन । यस्तै उक्त सडकमा गुड्ने सवारीको शुल्क उठाउने प्रयोजनका लागि खोकना, बुदुने र निजगढमा एकरएक वटा ‘टोल प्लाजा’ हुने सेनाले जनाएको छ । कूल एक घण्टा दुई मिनेटमा खोकनादेखि निजगढसम्मको यात्रा गर्न सकिनेछ । उक्त आयोजना विसं २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । रासस