जाइकाको ३ करोड लगानीमा बन्यो बानेश्वरमा आधुनिक लेन, थप ४३ स्थानमा बनाइने

काठमाडौं । माइतीघरबाट जाँदा होस् वा भक्तपुरबाट काठमाडौं आउँदा चारै दिशाबाट ठोक्किन आइपुगिने ठाउँ हो ‘नयाँबानेश्वर चोक’ । यो चोक आइपुगेपछि सधैं ट्राफिक अस्तव्यस्तताका कारण केही समय त्यहीँ सवारीसाधन नरोकी सुखै थिएन । त्यही रुट प्रयोग गर्ने सवारीका चालक तथा यात्रुलाई नयाँबानेश्वर चोक पुगेर बस्ने बानी नै परेको थियो । यी त भए पुराना कुरा । अब गरौं, आजको कुरा । नयाँबानेश्वर चोकको त्यो विद्रुप अवस्था अहिले एक्कासि परिवर्तन भएको छ । ‘आँधीबेहरीपछिको सन्नाटा’ भने झैं अहिले नयाँबानेश्वर चोक सुन्दर र शान्त भएको छ । यसको रूप यसरी परिवर्तन भयो कि अहिले चोक वरिपरि नै बसिरहुँजस्तो बनेको छ। न पहिलेजस्तो सडकमा गञ्जागोल छ, न ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । ट्राफिक प्रहरी पनि आरामसँग सहजै सवारीसाधन आवागमन गराइरहेका हुन्छन् । सडक सफा, चिटिक्क र सवारीसाधनले पनि लेन मिचेर जान नपाउने बनाइएको छ । आखिर यो कसरी सम्भव भयो त ? अहिले माइतीघरबाट बबरमहल हुँदै नयाँबानेश्वर चोक पुग्नै लाग्दा र कोटेश्वरबाट तीनकुने हुँदै सिभिल अस्पताल पुग्नै लाग्दा सडकमा ट्राफिक व्यवस्थापनका निमित्त आधुनिक लेन निर्माण गरिएको देख्न पाइन्छ । अर्थात, नयाँ लेन निर्माणपछि लेन मिचेर अर्काको लेनमा सवारीसाधन लानै मिल्दैन । तपाईंले पक्कै पनि नयाँबानेश्वर चोक पुग्दा त्यो सडकको लेनमा राखिएको सानो फुटपाथजस्तो स्पेस (खाली भाग) तथा पहेँलो रङ दलिएको बार (डिभाइडर) याद गर्नुभएको होला । आधुनिक तरिकाले तयार गरिएको लेन निर्माणसँगै अहिले नयाँबानेश्वर चोकको सडकले मुहारै फेरिएको छ । रङ लगाइएको लेनमा सानो पर्खाल, अनि फलामको आकारजस्तो बलियो प्लास्टिकबाट निर्मित पहेँलो रङको डिभाइडर (लठ्ठी) ले गर्दा एकअर्काको लेन मिच्नै सकिँदैन । जसले ट्राफिक व्यवस्थापन सहज हुनुका साथै तीनकुनेबाट आउने सवारीलाई दायाँतर्फ पुरानो बानेश्वरतिर मोडिन मद्दत पुर्याएको छ । सडकमा एकाएक आएको परिवर्तन देख्दा जो कोहीलाई लाग्न सक्छ यस्तो राम्रो सडक लेन कसले बनायो होला ? धेरैको मनमा उब्जिन सक्ने प्रश्न– काठमाडौं महानगरपालिका, सडक विभाग वा अन्य सरकारी निकाय र सडक लेन महानगर तथा सडक डिभिजनले नभई जापान सरकारले बनाइदिएको हो । जापनिज सरकारअन्तर्गतको जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका) को सहयोगमा अर्बन ट्रान्सपोर्ट म्यानेजमेन्ट सिस्टम (यातायात व्यवस्थापन प्रणाली) कार्यक्रममार्फत उक्त लेन बनाउने काम भएको छ । काठमाडौं महानगरपालिका, सडक विभाग, नेपाल ट्राफिक प्रहरी कार्यालय र काठमाडौं उपत्यकका विकास प्राधिकरणसँग समन्वय गरेर जाइकाले उक्त लेन निर्माण गरेको हो । सडक व्यवस्थापनमा सहजता ल्याउनका लागि जाइकाको सहयोगमा लेन तयार भएको सडक विभागअन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक इकाइका प्रमुख प्रकाश भण्डारीले बताए । ‘पहिला बानेश्वर चेकको सडकमा दायाँ मोडिने लेन थिएन, जसले गर्दा चोकको व्यवस्थापनमा समस्या हुँदै आएको थियो,’ उनले भने, त्यसलाई व्यवस्थित गर्नका लागि चोक सुधार गरेको हो ।’ चोकको दुवै ठाउँमा करिब २००/१३० मिटर परबाट लेन बनाउने काम गरिएको छ । उनका अनुसार व्यवस्थित चोक बनाउनका लागि लेनको काम गरिएको हो । जाइकाकै लगानीमा तयार भएको उक्त लेन बानेश्वरमा बनाइसक्दा करिब तीन करोड रुपैयाँ लगानी भएको काठमाडौं महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले बताए । ‘जाइकाले लामो समयदेखि बानेश्वरमा त्यो योजना अगाडि बढाउनका लागि अध्ययन गर्दै आएको थियो, सरकारी निकायसँग समन्वय गरेर काम भएको हो,’ उनले भने । थापाका अनुसार जाइकाले उक्त पाइलोट प्रोजेक्टका रूपमा अगाडि बढाएको थियो । सोही योजनाअनुरूप तयार भएको उक्त लेनपश्चात् काठमाडौंका विभिन्न चोकमा त्यस्तै प्रकारका लने बनाउने तयारी भइरहेको छ । बानेश्वरको काम सकिएता पनि त्यसले पारेको सकारात्मक तथा नकारात्मक विषय तथा ट्राफिक व्यवस्थापनमा पुर्याएको मद्दतका विषयमा अध्ययन भइरहेको थापाले बताए । अध्ययनको क्रम अन्तिम चरणमा पुगेको पनि थापाले जानकारी दिए । ‘जाइकाले काम पछिको प्रभावकारितालाई पनि उत्तिकै ध्यान दिँदो रहेछ, उक्त प्रोजेक्ट अगाडि बढाउनुअघि विभिन्न सरकारी निकायका कर्मचारीहरू पनि सोही क्रममा जापान पुगेका थिए,’ उनले भने, ‘अध्ययन सम्पन्न भएको केही महिनापछि अर्को ठाउँमा काम सुरु हुन्छ ।’ थप ४३ ठाउँमा त्यस्तै लेन बनाइने काठमाडौंभित्रका बढी ट्राफिक जाम हुने चोकहरूमा सोही प्रकारका लेन बनाउने तयारी अहिले भइरहेको छ । जसका लागि डिजाइन तयार तथा प्राविधिक कामहरू भइरहेको थापाले बताए । बानेश्वर एरियापश्चात् विभिन्न ४३ चोकमा लेन बनाउने तयारी भइरहेको हो । अध्ययनपछिको दोस्रो काम लैनचौर चोकमा हुने बताइएको छ । जसका लागि बजेट व्यवस्थापन भइसकेको इकाइका प्रमुख भण्डारीले बताए । उनका अनुसार लैनचौरमा लेन निर्माणको लागि जाइकाको अनुमानमा ९० लाख रुपैयाँ रकम लाग्ने देखिएको छ । अब भने लेनको काम गर्दा सरकार आफैंले लगानी गर्नुपर्ने भण्डारीले बताए । ‘अबको बन्ने योजनामा सरकारको लगानी हुन्छ, यसमा सकारकारी कार्यालयले पनि रकम हाल्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘योजनामा कति खर्च हुन्छ भन्ने विषयका लागि त्यसको डीपीआर भएपछि मात्र थाहा हुन्छ । अन्य आयोजनाका लागि बजेट व्यवस्थापन भइसकेको छैन ।’ निर्देशक थापाका अनुसार बाँकी ४२ वटाको काम क्रमिकरूपमा हुने छ । कुन–कुन ठाउँमा कस्ता लेन बनाउने हो त्यसको निर्णय भने भइसकेको छैन । बजेटको व्यवस्थापन गर्दै लेनको काम अगाडि बढाउन सकिने थापाको भनाइ छ । जाइकासँग प्रविधि तथा डिजाइनको सहयोग भने निःशुल्क लिन सकिने पनि थापाले बताए ।

भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार, दैनिक कामकाजमा सहज

भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताए । यहाँका स्थानीयलाई अहिले विभिन्न विद्युतीय उपकारण जोडेर आफ्ना काम गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ । ‘विद्युत् बल्न थालेपछि दैनिक जीवन सहज बनेको छ’, उनले भने, ‘पारि भोजपुर सदरमुकाम झलमल्ल हुँदा हाम्रो ठाउँ अँध्यारो हुन्थ्यो । वडाको पहलमा हाम्रो ठाउँमा विद्युत् बल्यो धेरै खुसी लागेको छ ।’ विद्युत्ले जीवन गुजारा गर्न सहजता थपिएको स्थानीयवासी रुपमान श्रेष्ठले बताए । विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै सूचनाको पहुँचमा जोडिन सहज भएको उनको भनाइ छ । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै आफ्नै घरमा बसेर देश–विदेशको जानकारी लिने गरेको उनले बताए। ‘लामो समयदेखि हामीले धेरै दुःख भोग्दै आएका थियौँ’, उनले भने, ‘विद्युत् विस्तारपछि इन्टरनेटसँगै रेडियो, टिभीको माध्यमबाट देश–विदेशका सूचना थाहा पाउन सहज भएको छ । वडा कार्यालयको पहलमा भएको कामले हामी धेरै खुसी छौँ ।’ भौगोलिकरूपमा विकट रहेका यी स्थानमा लामो समयको मेहनतपछि विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए। वडाको कुनै पनि ठाउँमा विद्युत् नपुगेको अवस्थामा वडा केन्द्रसम्म विद्युत् विस्तार गर्न सफल भएको उनको भनाइ छ । ‘हाम्रो वडा भौगोलिकरूपमा निकै विकट छ’, वडाध्यक्ष राईले भने, ‘विद्युत् नहुँदा स्थानीयलाई धेरै नै समस्या छ । अहिले हामीले पहिलो प्राथमिकतामा राखेर विद्युत्को काम अघि बढाएका छौँ । अथक प्रयासपछि दुई स्थानका स्थानीय अहिले विद्युत्को पहुँचमा जोडिएका छन् ।’ सीमित स्रोतसाधनको अधिकतम् उपयोग गर्दै जनतालाई दिएको बचन पूरा गरिरहेको वडाध्यक्ष राईको भनाइ छ । यहाँका सबै घरपरिवारमा आगामी वर्षभित्र विद्युत् विस्तार गरिसक्ने लक्ष्य रहेको उनले बताए । विद्युत् विस्तारका लागि वडाले रु १२ लाख बजेट विनियोजन गरेर तार खरिद गर्ने तयारी गरेको वडाध्यक्ष राईले बताए । ‘जनतालाई दिएको बचनअनुसारको काम अघि बढाएको छु’, उनले भने, ‘कतिपय काम वडाको एक्लो प्रयासले मात्र गर्न पनि सम्भव छैन । बजेट सीमित छ । तर पनि वडाको बजेटसँगै स्थानीयसँग आफैँ श्रमदानमा जोडिएर हालसम्म ४० प्रतिशत बढी जनतालाई विद्युत् बाल्ने वातावरण तयार गरेका छौँ । आगामी वर्षभित्र सबै क्षेत्रमा विद्युत् पुर्याउने मेरो लक्ष्य छ ।’ अहिले बाक्चखा र भञ्याङमा विद्युत् विस्तारको कामभइरहेको वडाध्यक्ष राईको भनाइ छ । आगामी माघसम्ममा यहाँका एक सय ५० घरपरिवारमा विद्युत् विस्तार गरिसक्ने अध्यक्ष राईले जानकारी दिए । यो वडामा जम्मा तीन सय ५६ घरपरिवार रहेका छन् । वडा कार्यालयले सडक, कृषि खानेपानी, रोजगारीको क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष राईले बताए । किसानलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक तालिमसँगै पाँच सय दन्तेओखरको बिरुवा वितरण गरेको उनको भनाइ छ । पन्ध्र जनालाई हाउसवायरिङ र २५ महिलालाई सिलाइकटाइसम्बन्धी तालिम दिइएको छ । किसानलाई व्यावसायिक तरकारी खेती तथा बाख्रापालनसम्बन्धी तालिम दिएको वडा कार्यालयले जनाएको छ । तालिम पाएसँगै किसान व्यावसायिक तरकारी खेतीमा लागेको उनको भनाइ छ । स्थानीयको आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । रासस

सङ्खुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मि.उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसनहरु निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र गरिरहेका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताए । ‘प्रसारण लाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजनाहरु निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउने पर्ने अवस्था छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘कोशी प्रदेशका पहाडी जिल्लाहरुमा उत्पादित विद्युत् इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।’ वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ताप्लेजुङको ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ । वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ । वसन्तपुरबाट बानेश्वर हुँदै तुम्लिङ्टारसम्म करिब ३० किलोमिटर २२० केभी डवल सर्किट प्रसारण लाइनको एउटा सर्किट निर्माण सम्पन्न भइसकेको छ । इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । डबल सर्किट टावर निर्माण गरिएको छ भने हाल सिंगल सर्किट तार मात्र तानी लाइन सञ्चालनमा ल्याइएको छ । नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो । कोशी करिडोर अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) खण्ड प्रसारण लाइन र ढुंगेसाँघुमा १३२ केभी सबस्टेसन निर्माणाधीन छन् । करिब ३४ किलोमिटर डबल सर्किट प्रसारण लाइनमा पर्ने १२८ वटा टावरमध्ये ६ वटाको मात्र निर्माण बाँकी छ । एउटा सर्किटको २६ किलोमिटर तार तानिएको प्रसारण लाइन आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । वसन्तपुर–ढुंगेसाँघु २२० प्रसारण लाइनको अर्को सर्किट निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको उक्त काम आगामी फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ढुङ्गेसाँघु सबस्टेसनको निर्माण ९५ प्रतिशत सकिएको छ । उक्त प्रसारण लाइनमा ताप्लेजुङमा निर्माणको अन्तिम चरणमा रहेका ७३/७३ मेगावाटका मध्य तमोर र मध्य मेवाखोला जलविद्युत् आयोजनाहरु जोडिने छन् । अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैक दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । कोशी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।