वसन्तपुर-ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ । तमोर नदी र त्यसका सहायक खोलानालाहरुमा निर्माण भएका-हुने जलविद्युत आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो । समुद्र सतहबाट ३ हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ । प्रसारण लाइनका लागि १२७ वटा टावरहरु निर्माण गरिएका छन् । वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनअन्तर्गत नै वसन्तपुर सबस्टेसनमा ६ वटा बे विस्तार भइरहेको छ । त्यसमध्ये ३ वटा बेका उपकरणहरु जडान र परीक्षण कार्य भइरहेको छ । उक्त कार्य आगामी चैतको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सम्पन्न भएपछि मुख्य रुपमा सानिमा मिडिल तमोर हाइड्रोपावर लि.ले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजनाको विद्युत् प्रवाहमा कुनै समस्या नरहेको बताए । ‘वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनमा केही हप्ताभित्रमा मध्य तमोरको विद्युत् जोडिने छ, आयोजनाको हाल अन्तिम चरणका परीक्षणका कार्यहरु भइरहेको जानकारी पाएका छौं, आयोजनाको विद्युत् जोड्न वसन्तपुर सबस्टेसनमा बे विस्तारका लागि उपकरण जडान र परीक्षणका कार्यहरु भइरहेका छन्, मध्य तमोरले विद्युत् उत्पादन सुरु गर्ने वेलासम्ममा वसन्तपुर सबस्टेसनमा बे विस्तार सम्पन्न भई विद्युत् प्रवाहका लागि तयार हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘प्रसारण लाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजनाहरु निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनु पर्ने अवस्था छ’ उनले भने ’ उनले भने ‘मध्य तमोरलगायतका जलविद्युत आयोजनाहरुको विद्युत् उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।’ कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–३अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइन र ढुङ्गेसाँघुमा १३२/३३ केभी सबस्टेसन निर्माणका लागि केइसी इन्तरनेशनल, भारतसँग २०७४ माघमा २ करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता २०७५ जेठबाट कार्यान्वयनमा आएको थियो । प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने ढुङ्गेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ । सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण गरिएको हो । कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–४अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनको दोस्रो सर्किट निर्माण र वसन्तपुर सबस्टेसनमा बे विस्तार कार्य भइरहेको छ । कुल ३५ किलोमिटरमध्ये प्रसारण लाइनमध्ये हालसम्म १५ किलोमिटर तार तानिएको छ । बे विस्तार कार्य जारी छ । यस प्याकेजका काम गर्न नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लि.सँग २०७९ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भइरहेको यस प्याकेजका सम्पूर्ण काम आगामी डेढ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ । कोशी करिडोर प्रसारण लाइन प्याकेज–१ अन्तर्गत सङ्खुवासभाको तुम्लिङ्टारबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ । प्याकेज–२अन्तर्गत सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार, बानेश्वर तथा वसन्तपुरमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ । वसन्तपुरबाट २२० केभी प्रसारण लाइन हुँदै विद्युत् इनरुवा सबस्टेसनमा पुर्याएर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुने छ । सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । कोशी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।
पाथीभरा केबुलकार निर्माण तत्काल अघि बढाउन राजनैतिक दलको चासो
ताप्लेजुङ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ) मा केबुलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरूले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुको बैठकले केबुलकार निर्माणसम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केबुलकार निर्माणको कामलाई सहजीकरण गर्दै अधि बढ्ने निर्णय गरेका हुन् । केबुलकार कम्पनीले निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय वैठकले यो निर्णय गरेको हो । उक्त बैठकमा उपस्थित राजनैतिक दलहरुले आ–आफ्नो आधिकारिक धारणामार्फत केबुलकार निर्माणमा सहजीकरण गर्ने सहमति गरेका हुन् । बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिले केबुलकार जिल्लाको सर्वांगिण विकास, रोजगारी र पहिचानसँग जोडिएकोले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए । आइएमई समूहको अगुवाईमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केबुलकार निर्माण गर्ने योजना रहेको छ । ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो ।
बेनीलाई कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती संरक्षण योजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले कालीगण्डकी किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘कालीगण्डकीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि आनन्दबगर जोखिममा परेको थियो,’ उनले भने, ‘चालु आर्थिक वर्षमा ७० मिटर लामो र आठ मिटर अग्लो पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।’ झण्डै रु ७४ लाखको लागतमा निर्माण हुन लागेको पर्खालको जगतर्फ तीन मिटर अग्लो पक्की र सतहमा चार मिटर अग्लो पर्खाल निर्माण गरिएको अध्यक्ष थापाले बताए । निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाइभर्सन गरेर अस्थायीरूपमा पर्वतको लामाखेत तर्फबाट बगाइएको छ । सत्र परिवारको बसोबास रहेको आनन्दबगरमा सयौँ रोपनी खेतीयोग्य जमिन कटानको जोखिममा थियो । परियोजनाले बेनी बजार र त्यस आसपासका बस्तीमा कटान नियन्त्रणका लागि आठ ठाउँमा ५० करोडको लागतमा संरक्षणको काम गरिरहेको छ । बेनी बजार, गलेश्वर क्षेत्र, राम मन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित उक्त आयोजना निर्माणले तिब्रता पाएको परियोजनाका इञ्जिनियर कृष्णबहादुर विश्वकर्माले बताए । ‘गलेश्वर, राम मन्दिर, वारीबेनी र बगरफाँटको योजना सम्पन्न हुुने चरणमा छन्,’ उनले भने, ‘बेनी नगरपालिका–२ भसबसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।’ बेनीलाई सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । रासस