साउनयता विद्युत् वितरणतर्फका नौवटा सबस्टेसन सञ्चालनमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका लाइनहरु पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै, वितरण ट्रान्सफर्महरुपनि जडान गरिएको छ । साउनबाट हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका ९ वटा वितरण सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुकासाथै चुहावट पनि घटेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरी नै वितरणतर्फका लाइन र सबस्टेसन निर्माण अभियानकै रुपमा चलिरहेको बताए । ‘विद्युत् नपुगेका ठाउँमा विद्युतीकरण गर्न र पुगेका ठाउँको आपूर्तिलाई सुधार गर्न वितरण प्रणालीको विस्तार र सुदृढीकरण व्यापक रुपमा गरिरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने । ‘संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरु तथा औद्योगिक क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय र भविश्यमा बढ्ने मागलाई सन् २०५०को समयमीमा निर्धारण गरी उच्चस्तरको भरपर्दो र विश्वसनीय विद्युतीय भार बोक्न सक्ने प्रसारण र वितरणतर्फका लाइन र सबस्टेसनहरु चरणबद्ध रुपमा निर्माण अगाडि बढाइसकेका छौं ।’ घिसिङले यसका लागि अहिले सञ्चालनमा रहेका प्रसारण तथा वितरण लाइन र सबस्टेसनको स्तरोन्नति तथा सुदृढीकरण र नयाँ प्रसारण लाइन र सबस्टेसनको निर्माण सुरु गरिएको बताए । प्राधिकरणले इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका लागि ३३/११ केभीको चिसापानी सबस्टेसन, मकवानपुरको बागमती तथा बकैया गाउँपालिकामा विद्युत आपूर्तिका लागि क्षतिवन सबस्टेसन, म्याग्दीको मङ्गला, मालिका तथा धौलागिरी गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गत देशभरी २५ वटा नयाँ सबस्टेसनको निर्माण र १२ वटा सबस्टेसनको स्तरोन्नति तथा वितरण सञ्जाल निर्माण अगाडि बढाइएको थियो । २५ वटा सबस्टेसनमध्ये पाँच वटाको निर्माण अन्तिम चरणमा छ भने सबस्टेसनहरुको स्तरोन्नति सम्पन्न भइसकेको छ । विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा मकवानपुरको मनहरी, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु ललितपुरको उनिचौरमा वितरणतर्फको ३३/११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यस्तै, विश्व बैंककै सहुलितपूर्ण ऋणमा रामछापको बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनहरुसम्म पुग्ने ३३ केभी प्रसारण लाइन र त्यहाँबाट विद्युत आपूर्तिका लागि लाइनहरु पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
निर्माण क्षेत्रका नौ कम्पनी कालोसूचीमा (नामावलीसहित)
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । संघीय तथा स्थानीय तहबाट कालोसूचीमा राख्न सिफारिस भएपछि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा राखिएका ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभरि कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने खरिद अनुगमन कार्यालयले स्पष्ट पारेको छ ।
भरतपुरमा एकैदिन तीन आयोजना उद्घाटन, पूर्वाधार बनेपछि महानगरबासीलाई उद्यमी बनाइने
चितवन । भौतिक पूर्वाधारमा द्रूत विकास गर्दै आइरहेको भरतपुर महानगरपालिकाले एकैदिन तीन आयोजनाको उद्घाटन गरेको छ । संघीय र प्रदेशसँग समन्वय गर्दै ठूलो मात्रामा विकास बजेट भित्र्याएको भरतपुरले तीनवटा सरकारको समन्वयमा निर्माण भएका आयोजना उद्घाटन गरेको हो । वडा कार्यालय भवन, १६ शय्याको अस्पताल र घरेलु प्रदर्शनी केन्द्रको महानगर प्रमुख रेनु दाहालले आज उद्घाटन गरिन् । उद्घाटन समारोहमा प्रमुख दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशीलताको विकास रहेको बताइन् । भरतपुरमा पूर्वाधार विकासको क्षेत्रमा धेरै काम भएको भन्दै उनले अबको योजना महानगरबासीलाई उद्यमी बनाउने रहेको बताइन् । उनले भनिन्, ‘स्वदेशमा नै रोजगारी सृजना गर्न महानगरले घरेलु उद्योगको प्रवर्द्धन गर्दै आएको छ । अबका दिनमा उद्यमशीलतालाई थप प्रोत्साहन गर्दै जानेछौँ ।’ समय–समयमा विभिन्न किसिमका तालिम प्रदान गर्दै आइरहेको बताउँदै उनले समग्र महानगरबासीको आर्थिक विकासमा प्रदर्शनी केन्द्रले, स्वास्थ्य क्षेत्रमा अस्पतालले र स्थानीय जनतालाई अन्य सेवा वडा कार्यालयले दिने बताइन् । कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले जनताको अधिकारलाई थप बलियो बनाउन तीनवटा योजनाको एकैपटक उद्घाटन गरिएको बताए । महानगरपालिकाले स्थानीय सरकारका रुपमा आम जनताको भावना र मर्मअनुसार काम गर्दै आएको उनको भनाइ थियो । दुईतले वडा कार्यालय भवन निर्माणका लागि एक करोड ३२ लाख रुपैयाँ खर्च भएको वडाअध्यक्ष विष्णुराज महतोले जानकारी दिए । यसैगरी, बागमती प्रदेश सरकारको एक करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । एसियाली विकास बैंक÷जेएएफपीआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत एक करोड ६६ लाख रुपैयाँको लागतमा १६ शय्याको अस्पताल निर्माण भएको हो । यसको स्वामित्व आजै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले बोलेका थिए ।