चीनसँग जोडियो तमोर कोरिडोर

ताप्लेजुङ । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको छ । तमोर कोरिडोर अन्तर्गत लेलेप–ओलाङ्चुङगोला सडक खण्डको जङ्गिन नजिकको क्षेत्रमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार साँझ सम्पन्न भएको हो । कोरिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङगोला खण्डमा २०७४ फागुनदेखि ट्र्याक निर्माणको काम सुरु भएको थियो । कोरोना महामारी र सामान्य रूपमा अन्य अवरोधका कारण ट्र्याक निर्माण सुरु भएको छ वर्षपछि मात्र काम सम्पन्न भएको हो । निर्माण कम्पनी एलाइट जेभी कम्पनीका आयोजना सम्पर्क अधिकृत (साइड इन्चार्ज) राजीव लामिछानेका अनुसार बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बत–नेपाल सिमाना टिपतालालाई सडकले जोडेको छ । उनका अनुसार लेलेप र तापेथोकको सिमाना रानीपुलदेखि ओलाङ्चुङगोलातर्फ ३७ किलोमिटर दुरी बराबर ट्र्याक निर्माणको काम गर्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो । उत्तर दक्षिण (सुभाङ खोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्र्यालयमार्फत ट्र्याक निर्माणको काम भइरहेको छ । लेलेप–ओलाङ्चुङगोला खण्डमा ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पाँचथरको सुभाङ खोलादेखि टिपतालासम्म १२१ किलोमिटर सडकको ट्र्याक जोडिएको योजना कार्यालयले जनाएको छ । यता ट्र्याक निर्माण भइसकेपछि तिब्बतसँगको सिमाना टिपतालासम्म तमोर कोरिडोरमा तत्काल यातायात सञ्चालन हुने अवस्था भने नभएको बताइएको छ । ट्र्याक जोडिए पनि पहिले निर्माण भएको टिपतालासम्मको करिब ४२ किलोमिटर दुरीभित्र सडक सरसफाइ, मर्मत तथा पुनर्निर्माणको काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन हुने अवस्था नरहेको हो । टिपतालादेखि ओलाङ्चुङगोला हुँदै जङ्गिन नजिकसम्म गोलाका स्थानीयले रकम सङ्कलन गरी ट्र्याक निर्माण गरेका थिए । नयाँ र पुरानो ट्र्याक जोडिएको ठाउँदेखि जङ्गिन हुँदै ओलाङ्चुङगोला बस्ती, मौवाटार–टिपतालासम्म सडक मर्मत तथा पुनर्निर्माण गर्न करिब दुई महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी एलाइट जेभीका प्रमुख सम्पर्क व्यक्ति पेम्बाठिले शेर्पाले भने आउँदो नयाँ वर्ष मनाउन सवारीसाधनमार्फत टिपताला पुग्नेगरी मर्मत तथा पुनर्निर्माणको काम हुने बताए । अब ओलाङ्चुङगोला बस्तीसम्म यातायात सञ्चालन हुने स्तरको सडक निर्माण गर्न करिब एक महिना लाग्ने र ओलाङ्चुङगोलादेखि टिपतालासम्म अर्को एक महिना लाग्न सक्ने उहाँको भनाइ छ । चैत मसान्त अगावै ट्र्याक मर्मत तथा पुनर्निर्माण गरिसक्ने गरी काम सुरु गरिएको पनि उनले जानकारी दिए । हाल सदरमुकाम फुङ्लिङदेखि ६८ किलोमिटर दुरी रहेको सुकेपानीसम्म यातायातका साधान सञ्चालन हुँदै आएका छन् । सुकेपानीदेखि टिपतालासम्म भने ट्र्याक मर्मतका साथै पुनर्निर्माणको काम सम्पन्न भएपछि हिउँद मौसमभर यातायात सञ्चालन हुन सक्ने बताइएको छ । बर्खा मौसममा भने तमोर नदीसहित दर्जनौँ अन्य साना ठुला खोलामा पुल आवश्यक पर्ने भएकाले मोटर गुढ्ने पुल निर्माण नभएसम्म यातायात सञ्चालन नहुने सडक योजनाले जनाएको छ । तमोर कोरिडोरलाई नेपाल, भारत र चीन जोड्ने सडक भएकाले त्रिदेशीय सडक मार्ग पनि भन्ने गरिएको छ । भारतसँगको सिमाना विराटनगरको रानीदेखि धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङ्लिङ–ओलाङ्चुङगोला–टिपतालासम्म सडकको दूरी २९९ किलोमिटर रहेको बताइएको छ । कोरिडोर सडक अन्तर्गत रानीदेखि मूलघाटसम्म कालोपत्रे भइसकेको र मूलघाटदेखि सुभाङखोलासम्म कालोपत्रे निर्माणको क्रम जारी रहेको छ । बाँकी सडकमा पनि स्तरोन्नति र स्तरवृद्धिको काम निरन्तर अघि बढ्ने उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजनाले जनाएको छ । गाेरखापत्रबाट ।

आफ्नै स्रोतमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्दै कृष्णपुर नगरपालिका

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले नौवटै वडाका सडक स्तरोन्नतिको काम थालेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार प्रत्येक वडामा पाँच–पाँच किलोमिटर गरी ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने निर्णयअनुसार कार्य अगाडि बढाएको हो । नगरपालिकाकै साधनस्रोतको प्रयोग गरी ‘ग्राभेल’ गर्ने र कालोपत्र गर्ने काम अगाडि बढाइएको नगर प्रमुख हेमराज ओझाले बताए । ‘वडा नं ९ को पाग्रेचोकबाट सडक स्तरोन्नतिको कार्य अगाडि बढाएका छौँ,’ उनले भने, ‘थोरै खर्चमा सडक स्तरोन्नतिको काम गरिरहेका छौँ ।’ उनका अनुसार वडाको छनौटमा परेका सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ । ‘पाँच किलोमिटर सडक स्तरोन्नति गर्दा प्राविधिकको अनुमानित लागतअनुसार १० लाखभन्दा बढी लाग्छ,’ नगर प्रमुख ओझाले भने, ‘नगरपालिकाकै लोडर, रोलर, टिपर प्रयोग गरी न्यून खर्चमै सडक स्तरोन्नतिको कार्य अगाडि बढाएका छौँ ।’ यसरी सडक स्तरोन्नति गर्दा नदीजन्य पदार्थको सलामी दस्तुर तिर्ने, चालकलाई खाना, खाजा भत्ताबापतको रकम उपलब्ध गराउने र ढुवानीका साधनमा इन्धनको व्यवस्था गरिने उनले जानकारी दिए । ठेक्का र उपभोक्ता समितिमार्फत हुने कार्यभन्दा कम लागतमा सडक स्तरोन्नतिको कार्य गरी नगरबासीको सुविधाका लागि सडक निर्माण हुने भएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए । उनले नगरपालिकाका नौवटै वडामा हुने सडक स्तरोन्नतिको कार्यले सर्वसाधारणको आवागमनमा सुविधा पुग्ने बताए ।

राहुघाटको दोस्रो र तेस्रो जोड्ने ३.८३ किलोमिटर लामो सुरुङ जोडियो

म्याग्दी । नेपाल विद्युत प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट (सुरुङमा पस्ने पहुँचमार्ग) सुरुङ बुधबार जोडिएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलगायत जनप्रतिनिधि, आयोजना, निर्माण कम्पनी र परामर्शदाताका प्रतिनिधिको उपस्थितिमा आज सुरुङ जोडिएको हो । जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कामका रूपमा मानिन्छ । राहुघाटको प्रवर्द्धक नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत लगानीमा रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना भएको हो । हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले दोस्रो र तेस्रो अडिट जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङ जोडिएको जानकारी दिए । ‘रघुगङ्गा गाउँपालिकाको अधेरीखोलामा रहेको दोस्रो अडिटबाट एक हजार ९३९ मिटर र पिप्लेको तेस्रो अडिटबाट एक हजार ८९७ मिटर सुरुङ खनिएको छ,’ उनले भने, ‘राहुघाटको कूल छ हजार २७० मिटरमध्ये हालसम्म ९४ प्रतिशत अथवा पाँच हजार ९१७ मिटर सुरुङ निर्माण सकिएको छ ।’ तीन सय ५३ मिटर सुरुङ खन्न बाँकी रहेको केसीले बताए । चार वर्षअघिदेखि बाँध, अधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट राहुुघाटको सुरुङ निर्माण सुरु गरिएको थियो । पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमध्ये तीन सय ५१ मिटर खन्न बाँकी छ । बाँध र पहिलो अडिट जोड्ने ७७ मिटर लामो सुरुङमध्ये ७५ मिटर खनिएको छ । पिप्लेस्थित तेस्रो अडिटबाट सर्ज साफ्ट जोड्ने २५ मिटर लामो सुरुङको यसअघि नै ‘ब्रेक थ्रु’ भएको थियो । सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको सञ्चालक केसीले जानकारी दिए । उनका अनुसार पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युतगृह निर्माणस्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर ‘वटम प्रेसर साफ्ट’को सुरुङ यसअघि नै जोडिएको थियो । सर्ज साफ्टदेखि टप प्रेसर साफ्ट जोड्ने पाँच सय ४१ मिटरमध्ये ४८ मिटर खन्न बाँकी छ । टप प्रेसर साफ्टदेखि भर्टिकल सर्ज साफ्ट जोड्ने एक सय ७१ र भर्टिकल प्रेसर साफ्टदेखि वटम प्रेसर साफ्ट जोड्ने तीन सय २९ मिटर सुरुङ यसअघि नै निर्माण भएको थियो । राहुघाटको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका व्यवस्थापक राज विष्टले बताए । ‘आगामी सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ,’ उनले भने, ‘सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई एकैसाथ तीव्रता दिएको छ ।’ बाँध निर्माणस्थलमा ११९।७ मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउन थालिएको छ । एक सय १२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुुलुुसबाट खोला डाइभर्सन गरेर डिसेन्डर बनाउन थालिएको विष्टले जानकारी दिए । १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माण ६० प्रतिशतभन्दा बढी सकिएको छ । विद्युतगृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ । इलेक्ट्रोमेकानिकलसम्बन्धी काम गर्न विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग ठेक्का सम्झौता भएको थियो । भेलसँगको ठेक्का सम्झौताको म्याद सन् २०२४ नोभेम्बर महिनासम्म थपिएको छ । भारतीय आयातनिर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । विसं २०७४ मङ्सिरमा ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जेपीले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । सर्वोच्च अदालतको विसं २०७८ असार २९ को आदेशपछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन रोकिँदा आयोजना निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको अभाव हुनु चुनौतीका रूपमा देखिएको आयोजना कार्यालयले जनाएको छ । रासस