विकट गाउँमा सडक पुगेपछि स्थानीय हर्षित
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो । सरोकारवाला निकायको कम ध्यान जाँदा पुरानो गाउँमा ढिला सडक पुगेको हो । नगरपालिकाको १७ लाख रुपैयाँ लागतमा यस गाउँमा सडक पुगेको ढोरपाटन–६ का वडाध्यक्ष उमेश बुढा मगरले बताए । करिब एक घण्टाको दूरीमा रहेका गाडीखोला र मोराङ गाउँमा वर्षौंपहिले सडक पुगे पनि पुरानो गाउँमा लामो प्रयासपछि यही महिना सडक पुगेको उनको भनाइ छ । गाउँमा सडक पुग्नुभन्दा पहिले यहाँका हजारौँ नागरिकले बजारबाट सामान ढुवानी गर्दा साह्रै समस्या खेप्ने गरेको भन्दै गाउँमा कोही बिरामी पर्दा बोकेरै अस्पताल पुर्याउने स्थिति रहेको उनले बताए । मोटरबाटोले स्थानीयको वर्षौंदेखिको समस्या समाधान गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ । सडक गाउँसम्म पुर्याउनका लागि यस वर्ष नगरपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन भएको थियो । अघिल्लो वर्षसम्म ११ लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् । करिब २६ घरधुरी रहेको पुरानो गाउँका अधिकांश स्थानीय कृषि र पशुपालनमा आबद्ध रहेको हुँदा अब यहाँ उत्पादन भएका वस्तु बजारसम्म पुर्याउन र बजारबाट सामान ल्याउन सहज हुने बुढा मगरको भनाइ छ । ‘भौगोलिक विकटताका कारण अहिलेसम्म यो गाउँमा सडक पुग्न सकेको थिएन, बजेट पनि कम पर्ने गथ्र्यो, यस वर्ष मात्रै गाउँसम्म सडक ल्याउन सफल भयौँ, अब यहाँका नागरिकले बजार जान पैदल हिँड्नुपर्ने छैन, मोटरबाटो भेट्न एक घण्टा हिँडेर गाडीखोला र मोराङ पुग्नुपथ्र्यो, अब बस्तीमै बाटो आयो,’ अध्यक्ष बुढा मगरले भने, ‘सडक पुगे मात्रै अरू विकास गर्न सहज हुने हुँदा अहिलेसम्म पछाडि परेको यो ठाउँमा अब अन्य विकासका पूर्वाधार पनि बन्दै जानेछन् ।’ पुरानो गाउँमा मोटरबाटो पुगेपछि यस क्षेत्रका सबै बस्ती सडकले जोडिएको अध्यक्ष बुढा मगरको भनाइ छ । गत मङ्सिरमा भित्रीवन गाउँ सडकले जोडिएको उनले जानकारी दिए । झण्डै १६ घरधुरी रहेको भित्रीवनका स्थानीयले पनि घन्टौँ हिँडेर मात्रै गाडीको सुविधा लिने गरेका थिए । यहाँ सडक पुर्याउन नगरपालिकाले गत वर्ष ४ लाख र यस वर्ष २ लाख रुपैयाँ विनयोजन गरेको अध्यक्ष बुढा मगर बताउँछन् । सो गाउँ नजिक रहेको ढोरपाटन सडकको करिब ११ किलोमिटर सडक कालोपत्र हुने तयारीमा छ । ढोरपाटन जोड्न ६ किलोमिटर बाँकी रहेको उनको भनाइ छ । ढोरपाटनको छन्तेङ जोड्ने गरी निर्माण भएको सडक सिकार आरक्षले अवरोध पुर्याउँदा काम रोकिएको हो । नगर उपप्रमुख धनबहादुर कायतले भौगोलिक कठिनाइका कारण धेरै गाउँमा अहिलेसम्म मोटरबाटो पुग्न नसकेको भन्दै नगरपालिकाले प्राथमिकतामा राखेर ट्र्याक खोल्न थालेको बताए । जिल्लामा दुर्गम मानिने ठाउँमा केन्द्र र प्रदेश सरकारबाट कम बजेट पर्दा अहिलेसम्म सबै ठाउँमा सडक सञ्जाल पुर्याउन नसकेको उनको भनाइ छ । नगरपालिकाले सीमित स्रोत साधन पनि सडक निर्माणलाई तीव्रता दिएको कायतको भनाइ छ ।उपप्रमुख कायतले भने, ‘नगरपालिकाले सबै ठाउँमा एकै पटक विकास गर्नका लागि पर्याप्त बजेट हुँदैन, क्रमैसँग सबै ठाउँमा विस्तारै विकास गर्दै गएका छौँ, अझै पनि धेरै ठाउँमा सडक पुर्याउन लागि परि रहेका छौँ, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी अन्य विकास निर्माणको गतिलाई अगाडि बढाउँदै छौँ ।’
हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री ज्वाला
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर सरकारले पर्याप्त बजेट विनियोजन गरेको दाबी गरे । उनले नेपालगञ्जदेखि गुलरियासम्मको सडक खण्डको अनुगमनका क्रममा सन्तुष्टि गर्ने ठाउँ रहेको बताए । मन्त्री ज्वालाले सडक खण्डको निर्माण तीव्ररूपमा अघि बढेको पनि बताए । उनले तीन वर्षको लागि २ अर्ब ७८ करोड सम्झौता भएकोमा एक वर्षमै करिव ५० प्रतिशत काम सम्पन्न भइसकेकाले आगामी एक वर्षभित्रमा सम्पूर्ण निर्माणको काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले स्थानीयहरूको गुनासो बजेट अभाव भयो भन्ने रहेको भन्दै सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । ‘हुलाकी राजमार्ग नेपाल सरकारको उच्च प्राथमिकतामा छ, हामीले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर बजेट पनि पर्याप्त नै विनियोजन गरेका छौं,’ उनले भने, ‘अहिले यो सडकको खासगरी नेपालगञ्जदेखि गुलरियासम्मको यो खण्डको अनुगमन गर्दा सन्तुष्टि गर्ने ठाउँ छ, यो साइटको रुख कटान, बिजुलीका तार हटाउने, पोल हटाउने लगायतका कुराहरूमा समस्या समाधान भएका छन् । कामको गति पनि तीव्ररूपमा अघि बढेको छ। बजेटको अभाव भयो भन्ने गुनासो छ। बजेटको पूर्ति गर्नका लागि हामी पहल गर्नेछौं। अबको एक वर्ष भित्रमा यो पूरा हुने स्थिति देखिन्छ ।’ मन्त्री ज्वालाले नेपालगञ्ज–गुलरिया खण्डमा निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन बाँकी रहेको भन्दै अर्थ मन्त्रालयमा बजेट माग गरिएकाले कामलाई निरन्तरता दिन आग्रहसमेत गरे । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीक अनुसार मूल्य अभिवृद्धि करबाहेक २ अर्ब ७८ करोड ४१ हजारमा २०८२ मङ्सिर २७ गते सम्पन्न गर्ने गरी गत वर्ष माघ २५ देखि शर्मा एण्ड कम्पनीले काम सुरु गरेको हो ।
काठमाडौं-तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’
बारा । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए । ‘ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ । केही खरिद प्रक्रिया टुङ्गिन बाँकी छन् । मुद्दा मामिलामा पनि गएका छन् । तर हामीले तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने । खरिद प्रक्रियालाई लिएर पाटन उच्च अदालतमा दायर भएको मुद्दाको चाँडो निरुपण भएर काम अघि बढ्न सके तोकिएको समयभित्रै काम सम्पन्न हुने उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजनामा आइपर्ने कानुनी, प्रशासनिक तथा अरु कठिनाइलाई प्राथमिकताका साथ चाँडो टुङ्ग्याउन सक्नुपर्ने पोखरेल बताउँछन्। करिब ७१ किलोमिटर लम्बाइ रहेको सो आयोजना काठमाडौंमा चार दशमलव छ, ललितपुरमा ९, मकवानपुरमा ४९ दशमलव ७० र बारामा सात दशमलव छ किलोमिटर पर्दछ । आयोजनाको कूल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ । प्याकेज नम्बर ८ (क), ८ (ख), ९ (क) र ९ (ख) को भने खरिद प्रक्रिया नै विवादित छ । पटक–पटक ठेक्का आह्वान गर्दा पनि यी चार प्याकेजको खरिद प्रक्रिया टुङ्गिन सकेको छैन । अहिले यसको मुद्दा पाटन अदालतमा विचाराधीन छ । त्यसैगरी, प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको सुरु विन्दु निर्धारण, सो क्षेत्रको सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण विवाद समाधान गर्न बाँकी छ । यही कारणले सो क्षेत्रमा आयोजनाको खरिद प्रक्रिया सुरु हुन सकेको छैन । अहिले आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको आयोजनाको अपरेसन तथा कार्यान्वयन महाशाखा प्रमुख इन्दिवर गुरुङ बताउँछन् । खरिद प्रक्रियामा गइसकेका काममा मुख्यगरी सुरुङमार्ग र पुल निर्माणको काम धमाधम भइरहेका छन् । अहिले निर्माणाधीन तीन सुरुङमार्गको कुल लम्बाइ ६ दशमलव ४१५ किलोमिटरमध्ये चार दशमलव ३२५ किलोमिटर अर्थात् ६७ दशमलव ४३ प्रतिशत खन्ने काम सकिएको छ । लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज तथा कात्तिकभित्र ‘ब्रेक थ्रु’ गरिसक्ने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विनायक शर्माले जानकारी दिए । एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको उनको भनाइ छ । महादेवटार सुरुङमार्गको लम्बाइ तीन दशमलव ३५५ किलोमिटरमध्ये हालसम्म एक दशमलव ९४८ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइ एक दशमलव ६३ किलोमिटरमध्ये हालसम्म एक दशमलव १७३ किलोमिटर सुरुङ खनिसकेको छ । लेनडाँडा सुरुडमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बमोजिम कुल लम्बाइ एक दशमलव ४३ किलोमिटर रहेकामा हालसम्म एक दशमलव २०४ किलोमिटर सुरुङ खनिएको छ । आयोजनाको ६ स्थानमा सुरुङमार्ग छन् । सबै सुरुङमार्गको कुल लम्बाई १० दशमलव ५५ किलोमिटर छ । यसमा देवीचौरी सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ शून्य दशमलव ३९, चन्द्राम भीर सुरुङ दुई दशमलव २५, महादेवडाँडा सुरुङ तीन दशमलव ३५५, धेद्रे सुरुङ एक दशमलव ६३० तथा लेनडाँडा सुरुङ एक दशमलव ४३० किलोमिटर छ । त्यसैगरी, आयोजनामा कुल ८९ पुल बन्नेछन् । यसको कुल लम्बाइ १२ दशमलव ८८५ किलोमिटर हुनेछ । बुदुनेमा दुई विश्रामस्थल बन्नेछन् भने खोकना, बुदुने र निजगढमा इन्टरचेञ्ज बन्नेछन् । त्यस्तै, टोलप्लाजा पनि खोकना, बुदुने र निजगढमा बन्नेछन् । हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका पुलअन्तर्गत रहेका कुल दुई दशमलव ८०२ पाउन्डेसन पाइलमध्ये एक दशमलव ६६५ पाइल निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । द्रुतमार्गको सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर रहेको छ । आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार चार सय १६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार दुई ४४ र व्यक्तिगत जग्गा पाँच हजार एक सय ७२ रोपनी रहेको छ । अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा पाँच हजार एक सय ७२ रोपनीमध्ये हालसम्म चार हजार सात सय ७७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । तीन सय ९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ । खोकना-बुङ्गमती क्षेत्रमा दुई सय १४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ भने एक सय ६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन सकेको छैन । यो क्षेत्रमा कुल तीन सय ७९ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ । आयोजनाका लागि हालसम्म कटान गरिएका रुखको बदलामा एक अनुपात २५ का दरले वृक्षरोपण गरिएको सेनाले जनाएको छ । आयोजनाका लागि कूल सात लाख चार हजार चार सय ४० बिरुवा रोप्नुपर्नेमा हालसम्म जम्मा सात लाख पाँच हजार पाँच सय ५२ बिरुवा रोप्ने कार्य सकिएको छ । मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको यो आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी सेनाले पाएको थियो । आयोजनाको २०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए । विसं २०७४ साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएको थियो । सोही वर्ष मङ्सिरदेखि नेपाली सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रुतमार्गको ट्रयाक निर्माणको काम थालिएको थियो । गत वैशाखमा आयोजना सम्पन्न हुने समयावधि बढाएर २०८३ चैत मसान्तसम्म पु¥याइएको थियो । त्यस्तै, गत साउनमा आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएको थियो । यसबाट लागत घट्ने अनुमान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषदबाट २०८० साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बमोजिम आयोजनाको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ । यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो । विसं २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्झौता भई जेठ ३१ गतेदेखि निर्माण सुरु भएको हो । रासस