धौवादीमा पहिलोपटक बिजुली पुग्यो, आर्थिक गतिविधि चलायमान हुने
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ । जिल्लाको पुरानो गाउँ भए पनि उक्त क्षेत्रमा अहिलेसम्म विद्युत सेवा नपुग्दा स्थानीयले वैकल्पिक माध्यमबाट बिजुली बत्ती बाल्दै आएका थिए । जिल्लाको पहाडी क्षेत्रमा विद्युत सेवा विस्तार गर्ने गरी बुलिङटार गाउँपालिका–४ बोझा पोखरीमा निर्माण गरिएको विद्युत सबस्टेसनबाट विद्युत प्रवाह सुरु गरिएपछि धौवादी क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो । केही घरमा सोलर र अधिकांश घरमा टुकी बत्तीमार्फत दैनिकी चलाउँदै आएका स्थानीय राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेपछि अहिले सहज महसुस गरेका छन् । आफ्नो घरमा विद्युत सेवा उपलब्ध भए पछि गाउँका सर्वसाधारण खुसी भएका छन् । बिजुली नहुँदा कुटानी–पिसानीदेखि पढाइ–लेखाइमा निकै कष्ट बेहोर्दै आएका स्थानीयले अब स्वर्गको अनुभूति पाएकोजस्तो भएको वडाअध्यक्ष पदमबहादुर रानाले बताए । ‘यस क्षेत्रमा ऐतिहासिक रुद्रपुर गढीलगायतको पर्यटकीय क्षेत्र रहेका छन्, अहिलेसम्म विद्युत सेवा नहुँदा पर्यटकको आकर्षण बढाउन सकिएको थिएन, अब गाउँको विकास र आर्थिक गतिविधि चलायमान बनाउन विद्युतीकरणले बाटो खोलिदिएको छ,’ उनले भने । बोझा पोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सबस्टेसनको यसै वर्ष निर्माण कार्य पूरा भएपछि जिल्लाको पहाडी गाउँमा विद्युत विस्तारका लागि सहज भएको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए । ‘जिल्लाको प्रगतिनगरबाट ११ हजार केभीको करेन्ट प्रवाह गरी सबस्टेसन चार्ज गरी स्थानीयस्तरमा वितरणको काम सुरु गरेका छौँ,’ उनले भने, ‘आयोजनामार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौवादीसम्म र बुलिङटार गाउँपालिका क्षेत्रमा ११ हजार केभीको लाइन वितरण हुनेछ ।’ जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि विद्युत सेवा पुगेको छैन । तनहुँ तर्फबाट लाइन तानेर बुलिङटार क्षेत्रमा विद्युतीकरण गरिएकामा अब यही सबस्टेसनको प्रसारण लाइन जोडिने प्रमुख मण्डलले जानकारी दिए । कतिपय स्थानमा लघु जलविद्युतबाट विद्युतीकरण गरिएको भए पनि आवश्यक मागअनुसार आपूर्ति हुन सकेको थिएन । साथै, लामो दुरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ । बोझा पोखरीको सबस्टेसनबाट विद्युत् प्रवाह सञ्चालन हुँदा जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहजता भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । हुप्सेकोट गाउँपालिकाले उज्यालो हुप्सेकोट कार्यक्रमअन्तर्गत १६ करोडको बहुवर्षीय आयोजना सञ्चालन गरी पहाडी गाउँहरूमा राष्ट्रिय प्रसारण लाइन लैजाने कार्यक्रम सुरु गरेको हो जसअन्तर्गत गाउँपालिकाभित्रका सबै गाउँ बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको उनले बताए । ‘हुप्सेकोट गाउँपालिका–४, ५ र ६ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सेकेको थिएन अहिले गाउँपालिका, प्रदेश र संघ सरकारको संयुक्त लगानीमा सबै गाउँमा विद्युत् पुर्याउन सफल भएका छौँ,’ उनले भने । जिल्लाको पहाडी क्षेत्र बौदिकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिका विद्युतीकरण गर्ने गरी आयोजना सुरु गरिएको थियो । ठेकेदारले काम नगर्दा लामो समयसम्म अलपत्र बनेको सबस्टेसन निर्माणको काम सकिएपछि अब जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणको बाटो खुलेको छ । सात वर्षअगाडि निर्माण सुरु भएको सबस्टेसन निर्माणको काम अलपत्र पर्दा लामो समयदेखि अन्धकारमा बस्न बाध्य पहाडी क्षेत्रका बासिन्दा उज्यालोमा बस्न पाउँदा खुसी भएका छन् । बोझा पोखरी सबस्टेसन भारतीय एटुजेड इन्फ्रा इन्जिनियरिङ कम्पनीमार्फत सब कन्ट्याक्टर त्रिपुरेश्वर र जयदुर्गे इन्जिनियरिङले करिब १२ करोड रुपयाँको लागतमा निर्माण सम्पन्न गरिएको हो ।
मनहरीमा रजैया दरदरा मोटरेवल पुलको शिलान्यास
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ र ५ जोड्ने रजैया दरदरा मोटरेवल पुलको शिलान्यास गरिएको छ । सोमबार एक समारोहबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुलको शिलान्यास गरेका हुन् । प्रदेश सरकारले विनियोजन गरेको बजेटअन्तर्गत मनहरी गाउँपालिका–९ र ५ जोड्ने मोटरेवल पुलको शिलान्यास गरिएको हो । लामो समयदेखि बन्न नसकेको यो पुल निर्माणमा प्रदेश सरकारले पहल गर्दै आएको थियो । प्रदेश सरकार गठन भएलगत्तै निर्माणको योजना अघि बढाए पनि विस्तृत परियोजना प्रस्ताव (डिपिआर), निकुञ्जलगायत समस्याका कारण काम अघि बढ्न सकेको थिएन । प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री कुमारी मोक्तान, मकवानपुर क्षेत्र नं २ (ख) का प्रदेश सांसद इन्द्रबहादुर बानियाँ र मनहरी गाउँपालिकाको पहलमा पुल निर्माणका लागि बजेट सुनिश्चितता भएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । नागरिकको गुनासो र दबाब तथा सरोकारवालाको पहलका बीच प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त पुल निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए । पूर्वाधार विकास कार्यालय चितवनमार्फत कार्यान्वयन गरिएको उक्त पुल निर्माण योजनाका लागि प्रदेश सरकारले २४ करोड ७ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनी बिटी/आरएस जेभीले तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्र चौधरीले बताए । शिलान्यास कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा, प्रदेश सांसद एकलाल श्रेष्ठ, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलगायत उपस्थित थिए ।
१० करोडको लागतमा नगर भवन निर्माण हुँदै
महोत्तरी । दश करोडको लागतमा महोत्तरीको भङ्गाहा नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माण हुने भएको छ । भङ्गाहा–५ सीतापुरस्थित १० कट्ठा १९ धुर जग्गामा आइतबार प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत्सिंह भण्डारीले शिलान्यास गरे । कूल १० करोड ९१ लख ४२ हजार ६२३ को लागतमा प्रशासकीय भवन निर्माण गरिने नगर कार्यपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादवले बताए । भवन निर्माणका लागि नगरप्रमुख सञ्जिवकुमार साहकी माता फूलकुमारी साहले करिब दुई करोड मूल्य बराबरको जग्गा दान गरेकी हुन् । शिलान्यासपछि पूर्वमन्त्री भण्डारीले जग्गादाता फूलकुमारी र उनका पति अशेश्वर साहलाई दोसल्ला ओढाएर सम्मान गरे । हालको कार्यालय भवन नगरप्रमुख सञ्जिवकुमार साहको निजी हो । यो भवन कार्यालय सञ्चालनका लागि नगरप्रमुख साहले दुई वर्षअघि निःशुल्क उपलब्ध गराएका हुन् । नयाँ भवन निर्माण नभएसम्म कार्यालय सञ्चालनका लागि उक्त भवन निःशुल्क उपलब्ध गराइरहने नगरप्रमुख साहले आफ्नो पुरानो प्रतिबद्धता दोहोर्याएका छन् । नयाँ भवन दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ । रासस