पाथीभरामा केबुलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग
ताप्लेजुङ । पाथीभरा (मुकुमलुङ) मा निर्माण हुन लागेको पाथीभरा केबुलकार आयोजना सहजरूपमा अघि बढाउने वातावरण निर्माणका लागि निजी क्षेत्रका प्रतिनिधिहरूले माग गरेका छन् । पाथीभरा मुकुम्लुङ केबुलकार निर्माणका सम्बन्धमा साझा धारणा बनाउन र निर्माणलाई सहजरूपमा अघि बढाउन सम्बद्ध क्षेत्र तथा निकायसमक्ष उनीहरूले माग गरेका हुन् । बिहीबार ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, निर्माण व्यवसायी सङ्घले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै पाथीभरामा केबलकार निर्माणका लागि सम्बद्ध सरोकारवाला निकाय एवं स्थानीय तथा प्रदेश सरकारसमक्ष सहजीकरणका लागि आग्रह गरेका छन् । ‘ताप्लेजुङमा स्थापित पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर हो । सबै धर्म र जातजातिको आस्थाको केन्द्रका रूपमा रहेको यस शक्तिपीठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरूबाट समेत दर्शन तथा पूजाका लागि आउने गरेको तथ्य हामी सबैमा सर्वविधितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनमार्फत ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको हामीले प्रत्यक्षरूपमा अनुभूत गरेका छौँ । अहिले सो क्षेत्रमा बर्सेनि करिब तीन लाख भक्तजन आउने गरेका छन् ।’ निजी क्षेत्रले पर्यटकको सङ्ख्यामा गुणात्मक वृद्धि गरी ताप्लेजुङमा व्यावसायिक अवसरहरूको सिर्जना गर्नु अत्यन्तै जरुरी भएको उल्लेख गरेको छ । ताप्लेजुङमा केबुलकार सञ्चालनमा आएपछि जिल्लाको अर्थतन्त्र चलायमान हुने र रोजगारीलगायतका विभिन्न अवसर सिर्जना हुनेछ यहाँका निजी क्षेत्रको भनाइ छ । केबुलकारमार्फत जिल्लामा लगानी भित्रने उल्लेख गर्दै निजी क्षेत्रले अर्बौं रुपैयाँको लगानीमा निर्माण हुन लागेको पाथीभरा मुकुमलुङ केबलकारमार्फत जिल्लाको आर्थिक विकासमा ठूलो योगदान हुनेमा विश्वास व्यक्त गरेका छन् । केबलकारबाट स्थानीयस्तरमा रोजगारी तथा स्वरोजगारीको सिर्जना हुने, जिल्लाको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने र अन्य पर्यटकीय गन्तव्यको विकास र प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । यस्ता गौरवका योजनामा सबैपक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्तिसुरक्षाको प्रत्याभूतिसहित वार्ता तथा संवादका माध्यमबाट राज्यकोतर्फबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रको धारणा छ । निजी क्षेत्रले पाथीभरामा केबलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा एउटा इँटा थप्न जिल्लाका प्रतिनिधिमूलक संस्थाहरूका तर्फबाट अपिल गरेको छ । यसअघि ताप्लेजुङको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा वार्ता गरी सहजीकरण गर्न एक समिति गठन भएको थियो । उनले यस आयोजनाबाट स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने जोड दिँदै आएका छन् । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबलकार परियोजना निर्माण जिल्लावासीको हितमा रहेको बताए । उनले मुलुकका धेरै क्षेत्रतिर अहिले धमाधम पर्यटन पूर्वाधार निर्माण भइरहेकाले मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलमा केबलकार बन्न लागेको काममा सहयोग गरी अगाडि बढ्नुपर्ने बताउँछन् । केबलकार निर्माणले ताप्लेजुङमात्र नभएर छिमेकी पाँचथर, इलाम जिल्लाको पनि उन्नति हुने तथा प्रसिद्ध कञ्चनजङ्घा जाने पदयात्रीको पनि बाटो छोटो हुने भएकाले आन्तरिक धार्मिकका अतिरिक्त विदेशी पर्यटक ल्याउन सहयोग पुग्ने स्थानीयको भनाइ छ । केबलकार निर्माणपछि विदेशी पर्यटकका लागि कञ्चनजङ्घाको पदमार्ग थप सजिलो हुनुका साथै भारतका पश्चिम बङ्गाल, दिल्ली र विहारलगायत क्षेत्रबाट पर्यटक भित्र्याउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
रानीतलाउको पूर्वाधार निमार्णसँगै स्तरोन्नति गरिँदै
खजुरा । आन्तरिक पर्यटकको बसिबियाँलो र रमाइलो गर्ने थलो नेपालगञ्जस्थित रानीतलाउ उद्यानको थप पूर्वाधार निर्माण र सेवा सुविधा विस्तारको कार्य प्रारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालय बाँकेले रकम विनियोजन गरी निमार्णको काम सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा उक्त उद्यानको भौतिक पूर्वाधार निर्माण र सेवा तथा सुविधा विस्तारका लागि ४० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए । करिब साढे दुई दशक बन्दको अवस्थाबाट पुनः जीवन पाएको ऐतिहासिक रानीतलाउलाई लुम्बिनी प्रदेश सरकार र उपमहानगरपालिकाले आफ्नो प्राथमिकतामा राखेका छन् । तत्कालीन नगर प्रमुख डा धवलशम्शेर राणाले पाँच वर्षअघि जीर्णोद्धार गरी सञ्चालनमा ल्याएको ऐतिहासिक पृष्ठभूमिको रानीतलाउ उद्यानप्रति अहिलेका प्रमुख विष्टले पनि उत्तिकै महत्व दिएका छन् । नेपालगञ्ज भूगोलको मध्य भागमा अवस्थित यो उद्यानमा मूलतः त्यहाँ रहेको नौकाविहारले सबैलाई आकर्षित गरेको छ । उद्यानमा रमणीय बगैँचा, बालबालिकाका लागि पिङ, चिप्लेटी, चमेनागृह लगायतको व्यवस्था गरिएको छ । वडा नं ८ स्थित गोलाकार आकारको रानीतलाउ पर्यटन विकासमा कोसेढुङ्गा साबित हुँदै गएको छ । पछिल्लो समय रानीतलाउ उद्यानमा भारतीय पर्यटक आउन थालेका छन् । रानीतलाउलाई अहिले ठेक्कामा सञ्चालन गरिएको नगर प्रमुख विष्टले बताए । ‘उपमहानगरपालिकामा जनप्रतिनिधि भएर आएपछि मैले ऐतिहासिक रानीतलाउलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्दै लैजान कुनै कसर बाँकी राखेको छैन’, विष्टले भने । रासस
गण्डकीमा ८५ पुल बने, ५३ निर्माणाधीन
गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लो ६ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रमअन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार प्रदेशभर ५३ पुल निर्माणाधीन अवस्थामा छन् । थप २३ पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको प्रक्रियामा रहेको उनले जानकारी दिए । ‘प्रदेश सरकार स्थापना भएयता ८५ पुल बनिसके, सम्झौता भएकामध्ये केही पुल निर्माणको अन्तिम चरणमा छन्,’ प्रवक्ता पौडेलले भने, ‘सडक सँगसँगै पुल निर्माणलाई मन्त्रालयले प्राथमिकता दिएको छ ।’ सडकको पहुँच पुगे पनि समयमा पुल निर्माण नहुँदा वर्षायाममा ग्रामीण भेगको यातायात सेवा प्रभावित हुँदै आएको थियो । पुल निर्माणले गति लिन थालेपछि प्रदेशस्तरका सडकमा बाह्रैमास यातायात सञ्चालनका लागि सहजता थपिँदै गएको प्रवक्ता पौडेलले बताए । पुलको ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई सचेत गराइएको उनको भनाइ छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयका निमित्त प्रमुख डा. महेन्द्रबहादुर बानियाँले ३५ पुल बहुवर्षीय आयोजनामा समेटिएको जानकारी दिए । पुलका लागि चालु आवमा ३४ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको उनको भनाइ छ । ‘पैँतीस बहुवर्षीय योजनाका पुलका लागि १ अर्ब ९४ करोड ४७ हजार रुपयाँको स्रोत सुनिश्चित भएको छ,’ डा बानियाँले भने, ‘जिल्लास्थित पूर्वाधार कार्यालयमार्फत योजना कार्यान्वयन हुन्छ ।’ उनका अनुसार बहुवर्षीय आयोजनाअन्तर्गत चालु आवमा कास्कीमा तीन, स्याङ्जा, तनहुँ, लमजुङ र बागलुङमा पाँच÷पाँच, गोरखामा चार, नवलपुर, पर्वत, म्याग्दी र नवलपुरमा दुई/दुई र मनाङमा एक पुल निर्माण भइरहेको छ । यस वर्ष बहुवर्षीयमा गएकासहित कूल ५३ पुल निर्माणाधीन अवस्थामा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशभित्र सडक, पक्की पुल र झोलुंगे पुल निर्माणको काम पूर्वाधार मन्त्रालयमार्फत हुँदै आएको छ । पछिल्लो छ वर्षयता प्रदेश सरकारको लगानीमा ६३ झोलुंगे पुल भएको मन्त्रालयले जनाएको छ । हाल १० झोलुंगे पुल निर्माणाधीन अवस्थामा रहेका र ५१ झोलुंगे पुल निमार्ण सुरु हुने चरणमा रहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए । सडकतर्फ एक सय ६२ आयोजना बहुवर्षीय आयोजनाका रुपमा निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ । प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजनाको कूल दुई सय ७९ दशमलव ७१ किमी सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गइसकेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण कार्यक्रमअन्तर्गत ११ सडक आयोजनाको कूल ८९ दशमलव ३७ किमी सडकको स्तरोन्नति भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए । ‘‘क’ वर्गका १६ प्रादेशिक सडक आयोजनाहरूको एक सय २२ दशमलव ५५ किमी सडक स्तरोन्नति गर्ने कार्य अगाडि बढेको उनको भनाइ छ । गण्डकीमा गत आवसम्ममा ६ सय ७४ दशमलव शून्य ६ किमी पक्की र पाँच सय ६६ दशमलव ८५ कच्ची सडक बनेको मन्त्रालयले जनाएको छ ।