सुस्तामा ५ करोडको शीतभण्डार उपयोगविहीन
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको सुस्तामा पाँच करोड रुपैयाँ लागतमा निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–४ नर्सहिमा निर्माण गरिएको शीतभण्डार प्राविधिक समस्याले प्रयोगविहीन भएको हो । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्ययले उक्त शीतभण्डारमा केही प्राविधिकतर्फको काम बाँकी रहेकाले प्रयोगमा नआएको बताए । ‘शीतभण्डारलाई ठेकेदारले निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरे पनि भित्र तथा बाहिरका केही प्रविधिक काम अधुरा छन्’, उनले भने । शीतभण्डार भित्र राखिने काठ (भुइँमा काठ बिछ्याइएको) नभएकाले प्रयोगमा ल्याउन तत्काल नसकिएको उनको भनाइ छ । उक्त काठ नराखेमा भण्डारण गरिएका आलु, प्याज तथा फलफूलहरू कुहिने भएकाले अहिलेसम्म सञ्चालनमा नआएको अध्यक्ष उपाध्ययले बताए । विद्युत नभएको, सुरक्षाको दृष्टिकोणले गार्ड बस्ने कोठा, तारबार तथा पर्खाल कम्पाउण्डलगायतका काम बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको उनको भनाइ छ । अध्यक्ष उपाध्ययका अनुसार उक्त शीतभण्डारमा एक हजार मेट्रिकटनसम्म भण्डारण गर्न सकिन्छ । अहिले पाँच सय मेट्रिकटनबाट सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए । ‘शीतभण्डारलाई यही चैत मसान्तभित्र सञ्चालन गर्ने तयारी गरिरहेका छौँ । सके किसानलाई सञ्चालन गर्न भन्ने हो, सकेनन् भने सहकारीमार्फत वा सूचना निकालेर कुनै संस्थालाई जिम्मेवारी दिनेछौँ’, उनले भने । लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त शीतभण्डारमा अहिले पनि ३५ लाख रुपैयाँ खर्च भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए । सञ्चालनका लागि बाँकी प्राविधिक तथा केही पूर्वाधार निर्माण भइरहेको उनको भनाइ छ । भुसालका अनुसार निर्माण कम्पनीले शीतभण्डार सम्पन्न गरेर करिब तीन वर्षअघि नै गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । तीन वर्षअघि सम्पन्न भएको उक्त शीतभण्डार सञ्चालनमा आउन नसकेपछि स्थानीय किसानलाई समस्या हुँदै गएको बताउँछन् । यहाँका केरा उत्पादक र अन्य किसानलाई कृषिजन्य उत्पादन भण्डारणमा चुनौती थपिएको केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए । किसानका लागि निर्माण गरिएको शीतभण्डार तत्काल सञ्चालनमा आउनुपर्ने उनको भनाइ छ । रासस
प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम
बलेवा । स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो । अहिले यहाँका अधिकांश बस्तीमा बाह्रै महिना सवारीसधान सञ्चालन हुन थालेका छन् । नगरले कालीगण्डकी करिडोर र कृषि सडकलाई मूल मार्ग मानेर अन्य सडक सञ्जाल विस्तार गरेको हो । यसअघि पूर्वाधार विकासको पहिलो खुड्किला मानिएको सडक नपुगेकाले अन्य पूर्वाधारको विकासका लागि नगरसँग चुनौतीका चाङ थिए । अहिले जैमिनीका सबै गाउँ सडक सञ्जालले जोडिएका छन् । सबै वडा कार्यालयमा बाह्रै महिना सवारी सञ्चालन हुने गरी सडक सञ्जाल विस्तार भए पनि अझै पर्याप्त नभएको जैमिनी–८ छिस्तीका नारायण पौडेलको भनाइ छ । पालिका सदरमुकाम कुश्मीशेरा बजार जिल्ला सदरमुकाम बागलुङ बजारसँग कालोपत्र सडकले जोडिएको छ । कुश्मीसेराबाट वडाहरू जोड्ने सडकका नाकामा कालोपत्र र ढलानको काम सुरु भएको छ । नगरले सडक विस्तारमा नयाँ रणनीति लागू गरेको छ । जैमिनीले सडक बनाउने मात्रै नभई बनेका सडकलाई टिकाउन प्रयत्न गरिरहेको जनाएको छ । पहिलो कार्यकालमा सुरु भएको दिगो सडक कार्यक्रमलाई जैमिनीले नमूनाका रूपमा कार्यान्वयन गरिरहेको नगर उपप्रमुख हरिहर शर्माले बताए । उनका अनुसार १० वडा रहेको नगरमा १३ दिगो सडकका योजना छन् । यी सडक स्तरोन्नति भइसक्दा जैमिनीका सबै वडामा बाह्रै महिना सवारीसाधन सहजै पुग्ने नगर उपप्रमुख शर्माले बताए। ‘जैमिनी–१, ५, ६, ७ र ८ लाई छोएर राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर उत्तरबाट दक्षिण लाग्छ,’ उनले भने, ‘वडा नं १, २, ४, ९ र १० लाई छोएर बागलुङ शान्तिपुर कृषि सडक बनेको छ ।’ यिनै दुईवटा मुख्य सडकलाई आधार बनाएर जैमिनीले हरेक वडा जोड्न दिगो सडक कार्यक्रम सञ्चालनमा ल्याएको हो । ‘दिगो सडक कार्यक्रम हरेक वडामा क्रमबद्ध रूपमा पक्की सडक पुर्याउने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको कार्यक्रम हो,’ शर्माले भने, ‘हामीले गौरव गर्न सकिने गरी १३ सडक तयार गर्दैछौँ ।’ हरेक वर्ष दिगो सडकका लागि बजेट विनियोजन हुने गरेको उनले जानकारी दिए । पक्की नाली तयार, ग्राभेल गर्ने, पर्खाल लगाउने र सडक टिकाउने काममा नगर लागेको छ । टुक्रे योजनामा गरेको लगानी खेर जाने भएकाले पनि दिगो सडक कार्यक्रम ल्याइएको शर्माको भनाइ छ । दिगो सडकले सर्वसाधारणलाई आवतजावतमा सहज मात्रै होइन, कृषि उपजको बजारीकरण र पर्यटनमा समेत सहयोग गर्ने बुझाइ नगरको छ । हरेक दिगो सडकसँग नगरभित्रका कुनै न कुनै पर्यटकीय क्षेत्र जोडिएका छन् । ‘घुम्न आउनेहरूका सवारी सडककै कारण भनेको ठाउँमा पुग्दैनन्, हामीले दिगो सडक तयार गरे त्यो समस्या हट्छ,’ नगर उपप्रमुख शर्माले भने, ‘सडकमा लगानी गर्नु भनेको आर्थिक क्षेत्रमा जोडिनु पनि हो ।’ जैमिनीधाम, हाँडिकोट टापु, गाजाको दहजस्ता धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र जोड्न दिगो सडक प्रयोगमा आउने उनले बताए । बजारीकरण र पर्यटनमा सडकले राहत भूगोलका हिसाबले दूरदराजमा रहेका गाउँमा उत्पादित कृषि उपज तथा पशुधनलाई बजार पुर्याउन अहिले पनि ढुवानीमा समस्या हुने गरेको छ । ठूला साधन नपुग्ने र साना सवारी तथा मानव श्रमशक्ति महँगो पर्ने भएकाले किसान निराश छन् । उत्पादनभन्दा ढुवानी लागतका कारण मर्कामा परेका किसानलाई दिगो सडकले सहयोग गर्ने नगर उपप्रमुख शर्माले बताए । रासस
६ महिनामै उप्कियो लोकमार्गको कालोपत्र
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र ६ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो । अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन् । कालोपत्र उप्किएपछि सडक हिलाम्य र धुलाम्मे बन्ने गरेको छ । गुणस्तरहीन कामका कारण कालोपत्र उप्किएको स्थानीयले आरोप लगाएका छन् । विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौंले मर्मतको काम गरेको थियो । निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको घोडाबाँधे भ्यूटावर, काफलठुटा, झाँक्रीस्थान नरठाँटीलगायत दर्जनौँ ठाउँमा उप्किएको छ । कालोपत्र उप्किएर खाल्डाखुल्डी बनेपछि सडकमा यात्रा जोखिमपूर्ण भएको सवारी चालक बलबहादुर सुनारले बताए । ‘ठेकेदारले सुरुमा राम्रो काम गरिरहेको थियो तर कालोपत्र गर्ने बेलामा कमसल सामान प्रयोग गरेछ, अहिले गाडी कुदाउने खालको सडक छैन, जताततै खाल्डाखुल्डी र हिलोधुलो छ,’ चालक सुनारले भने, ‘गुणस्तरहीन काम भएकाले सरकारले यस्तालाइ कारबाही गर्नुपर्छ ।’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले लोकमार्गअन्तर्गत गलकोट खण्डको धेरै ठाउँमा समस्या भएको बताए । नरेठाँटीदेखि भ्यू टावरसम्मको सडक कतै कालोपत्र उप्किएको, कतै नाली पुरिएको त कतै सडकको ‘लेभल’नै नमिलेको उनको भनाइ छ । लोकमार्ग मर्मतका लागि निर्माण कम्पनीले १३ करोड ९९ लाख रुपैयाँमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले निर्माण कम्पनीले समयमै काम सके पनि गुणस्तरीय नभएको स्वीकारे । इञ्जिनियर सुवेदीले कालोपत्र भएको एक महिना नबित्दै उप्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरेको बताए । ‘निर्माण कम्पनीले जिम्मा लिएको जति स्थानमा सडक भत्किएको छ, कालोपत्र उप्किएको छ, त्यो सबै उसैले बनाउनुपर्छ, यसको जिम्मेवार निर्माण गर्ने कम्पनी नै हो, उनीहरुलाइ काम गर्नुपर्यो भनेर हामीले भनिरहेका छौँ,’ सुवेदीले भने, ‘काम गरिरहेकै बेला पनि कालोपत्र उप्किएको गुनासो आएपछि मर्मत गर्न लगाएका थियौँ । अहिले फेरि धेरै ठाउँमा उप्किएछ । त्यो निर्माण कम्पनीले जिम्मेवार भएर मर्मत गर्नुपर्छ ।’ मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लाभित्र करिब एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये बिउँ खण्डको १२ किलोमिटरबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ ।