तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
दमौली । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताएका छन् । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा बुधबार तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरूको बैठक हुने उनले बताए । विसंं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।
एआईआईबीलाई नेपालमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह
काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सञ्चालक समितिका पदाधिकारीहरु र नेपालको निजि छेत्रका प्रतिनिधिहरूसँग मंगलबार चन्द्रागिरीमा भएको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एआईआईबीलाइ नेपालमा लगानी गर्न आग्रह गरे । सो भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरुको खोजीमा विशेष छलफल भएको थियो । एआईआईबीले यातायात, उर्जा र शहरी विकास लगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । आफ्नो धारणा राख्दै महासंघका अध्यक्ष ढकालले नेपाल विकासको अपार सम्भावना भएको देश भएको बताए । उनले एआईआईबी बोर्डका पदाधिकारीहरूलाई निजी क्षेत्र एआईआईबी जस्ता संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत यस सम्भावनाको फाइदा लिन उत्सुक रहेको जानकारी दिए । ढकालले नेपाल रणनीतिक रूपमा दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेकोले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठूला बजारमा सहज पहुँच पुर्याउन सक्ने बताए । ढकालले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको बताए । उनले नेपालले हासिल गरेको बाह्य क्षेत्रको स्थायित्वबारे पनि एआईआईबी अधिकारीहरुलाई जानकारी गराए । उनले मुलुक अहिले आन्तरिक उपभोग सुधारमा केन्द्रित भएको बताए । ढकालले एआईआईबी नेपालमा धेरै महत्त्वपूर्ण परियोजनाहरूमा प्रमुख साझेदार भएको छ, र हामी सहकार्यका लागि नयाँ मार्गहरू खोज्न उत्सुक छौं भनी जानकारी गराउनुभयो । महासंघका अध्यक्ष ढकालले नेपाल सरकारले देशको लगानीको वातावरण सुधार गर्न १२ वटा ऐन परिमार्जन गर्ने प्रक्रियामा रहेको ब्क्ष्क्ष्द्य बोर्ड पदाधिकारीहरुलाई जानकारी गराए । वहाँले राम्रो ‘डुइङ बिजनेस’ वातावरण बनाउन सरकार प्रक्रिया र नियमलाई सहज बनाउन गम्भीर रहेको बताए । वहाँले सम्भावित देशहरूसँग द्विपक्षीय लगानी सम्झौता गर्ने सरकारको योजनाबारे पनि अधिकारीहरूलाई जानकारी गराए । ढकालले द्विपक्षीय लगानी सम्झौताको ढाँचा छिट्टै टुंगो लाग्ने बताए । लगानीका बारेमा थप जानकारी दिँदै ढकालले आगामी अप्रिल २८ देखि २९ गतेसम्म आयोजना हुने नेपाल लगानी सम्मेलनबारे अधिकारीहरुलाई जानकारी गराए । उनले एआईआईबी प्रतिनिधिमण्डललाई यो जानकारी सबै सदस्य राष्ट्रहरूमा फैलाउन अनुरोध गरे । यसपटकको लगानी सम्मेलनको राम्रो पक्ष भनेको निजी क्षेत्रलाई पनि सहआयोजकका रूपमा समावेश गरिएको उनले बताए । ढकालले नेपालको आर्थिक विकासमा निजी क्षेत्रले अगुवाइ गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । सो भेटवार्तामा एआईआईबीका पदाधिकारीहरु, सरकारी प्रतिनिधिहरु र निजि छेत्र का प्रतिनिधिहरु सामेल थिए ।
नेपालमा जलविद्युत उत्पादनका लागि सहकार्य गर्न तयार छौँँ : राजदुत हेमन्दोयल डिल्लम
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की र नेपालका लागि मौरिससका (गैरआवासीय) राजदुत हेमन्दोयल डिल्लमबीच काठमाडौंमा भेटवार्ता भएको छ । मंगलबार इप्पानको कार्यालयमा अध्यक्ष कार्की र मौरिससका राजतदुत डिल्लमबीच नेपालको जलविद्युत उत्पादन र लगानीका विषयमा कुराकानी समेत भएको छ । भेटमा मौरिससका राजतदुत डिल्लमले नेपालसँग आफूहरुको सांस्कृतिक हिसावमा राम्रो सम्बन्ध रहेको बताए । उनले नेपाल र भारतबीच आर्थिक,सामाजिक र सांस्कृतिक हिसावले गहिरो सम्बन्ध रहेको बताए । उनले नेपालमा पर्यटकीय सम्भावना राम्रो रहेको भन्दै लुम्बीनी र पोखरामा धेरै पर्यटकीय सम्भावना रहेको बताए । राजतदुत डिल्लमले नेपाल जलविद्युतमा राम्रो सम्भावना भएको देश भएकाले जलविद्युत उत्पादनमा जोड दिँदा अन्य सम्भावना बढ्दै जाने उल्लेख गरे । उनले विद्युत उत्पादन गरी भारत लगायत अन्य देशमा बेच्नसक्ने सम्भावना रहेको बताए । उनले नेपालमा जलविद्युत नै सबैभन्दा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले जलविद्युत उत्पादनमा जोड दिन आवश्यक रहेको धारणा राखे । विश्वका अन्य देशबाट समेत जलविद्युतमा लगानी ल्याउन सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । मौरिससका राजतदुत डिल्लमले जलविद्युत नेपालमा मात्रै नभएर विश्वमा नै धेरै महत्वपूर्ण रहेको जानकारी दिए । उनले विकसित मुलुकमा समेत सबैभन्दा ठूलो लगानी जलविद्युतमा रहेको बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँग नेपालको जलविद्युत उत्पादनमा लगानीका विषयमा सहकार्य अगाडि बढाइने बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) नेपाललाई जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनाउन ठूलो योगदान गरिरहेको देखिएको जानकारी दिए । उनले जलविद्युत उत्पादनमा निजी,सरकारी र सार्वजनिक क्षेत्रको संयुक्त लगानी र कामले मात्रै पूर्णता पाउन सक्ने बताए । जलविद्युत उत्पादनको लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहुलियतको आवश्यकता रहेको बताए । जलविद्युत उत्पादन र खपतको लागि जीटुजी सम्झौता वा निजी क्षेत्र निजी क्षेत्रबीचको साझेदारीमा काम गर्ने वातावरण नेपाल सरकारले वातावरण बनाउन आवश्यक रहेको जानकारी दिए । इप्पानका अध्यक्ष कार्कीले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको भन्दै उत्पादनको लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताए । लगानीको लागि अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरिरहेको जानकारी दिए ।