वीरगञ्ज नगरक्षेत्रका आधादर्जन सडक कालोपत्र गरिँदै
वीरगञ्ज । पर्सागढी नगरपालिकाले ग्रामीण सडक पूर्वाधारलाई प्राथमिकता दिएको छ । वर्षौंदेखि जीर्ण, हिलाम्मे र धूलाम्मे नगरक्षेत्रका आधादर्जन सडकलाई चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने योजनाअनुसार काम अघि बढाइएको हो । सोही योजनाअनुसार नगरपालिकाले वडा नं १ स्थित जनता सडकमा कालोपत्र सम्पन्न गरेको छ । वर्षौंदेखि सडक जीर्ण हुँदा हिलो र धूलोका कारण सास्ती भोग्दै आएका स्थानीय सो सडक पक्की भएसँगै हर्षित भएका छन् । कोइलाभार मन्दिरदेखि कोइलाभार टोलसम्मको सडकखण्डलाई नगरपालिका कार्यालयले नगरस्तरीय भौतिक पूर्वाधार योजना अन्तर्गत दुई करोड ४५ लाख ६६ हजारको लागतमा निर्माण गरेको हो । उक्त एक दशमलव ५४ किलोमिटर सडक कालोपत्र गरिएको हो । सडक कालोपत्र भएपछि आवतजावतमा सहज भएको स्थानीयवासीले बताएका छन् । ‘पहिला सडक कच्ची थियो, वर्षायाममा हिलाम्मे र सुख्खायाम धुलाम्मे हुन्थ्यो’, पर्सागढी नगरपालिका–१ का श्याम महतोले भने, ‘आवतजावतमा सहज मात्रै होइन्, अब हिलो र धुलोबाटमुक्त भएको अनुभूति भइरहेको छ ।’ ठूलो धार्मिक महत्व बोकेको कोइलाभार मन्दिरसम्म पुग्न पहिला धेरै गाह्रो हुने र अब टोलबाट मन्दिरसम्म पुग्न सहज भएको उनको भनाइ छ । नगरपालिकाले ग्रामीण भेग र सहरको दुरीलाई कम गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र गरेपछि गाउँमा किसानले उत्पादन गरेको समान नजिकैको बजारसम्म पुर्याउनसमेत सहज भएको स्थानीय कामेश्वर यादवले बताए । लामो समयदेखि सरकारी उपेक्षामा परेको सो सडकलाई नगरपालिकाले प्राथमिकतामा राखेर कालोपत्र गरिएको पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले बताए । नगरपालिकाको सबै सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएको नगरप्रमुख पाठकले बताए । उनले कालोपत्र सडक निर्माण कार्यलाई सहरी र ग्रामीण क्षेत्रमा सन्तुलित रुपमा अघि बढाएको भन्दै यसमा सबैको साथ पाइरहेको उल्लेख गरे । ‘मेरो पहिलो प्राथमिकता नै स्थानीय सडक पूर्वाधार निर्माण नै हो’, नगरप्रमुख पाठकले भने, ‘कच्ची सडकको मर्मत गर्दा बढी खर्च हुने र समयपनि नोक्सानी हुन्छ, त्यसैले दिगो सडक विकास गर्ने लक्ष्यसहित सडकलाई कालोपत्र गर्न थालेका छौँ ।’ यसैवर्ष नगरपालिकाको छ वटा स्थानका सडकलाई कालोपत्र गर्न लागेको उनको भनाइ छ । नगरप्रमुख पाठकका अनुसार यसैवर्ष पर्सागढी नगरपालिका–१ को नववा बजारदेखि भटनी टोल जोड्ने सडक, वडा नं २ को बागबन्नदेखि छतवनटाँडी जाने सडकखण्ड, वडा नं ३ को मानव आश्रमदेखि आमोदेवी मन्दिर जाने सडकखण्ड, वडा नं ५ को जमुनीचोकदेखि वडा नं ४ जोड्ने हर्दिया–हरदासपुर सडकखण्ड र वडा नं ८ को वडा कार्यालयदेखि वडा नं ३ को वडा कार्यालय जोड्ने सडकखण्ड कालोपत्र गरिने छ । ‘एक पटक सडक कालोपत्र भयो भने वर्षौंसम्म त्यो सडकमा बजेट खर्चिनु पर्दैन’, नगरप्रमुख पाठकले भने, ‘जसका कारण एकातिर सडकमा हिलाम्मे र धुलाम्मे पनि भएन् र अर्कोतर्फ बजेट तथा समयको समेत बचत हुन्छ ।’ त्यो बजेटले अर्को काम पनि खर्च गर्न सकिन्छ, उनले भने । ती अधिकांश सडक कालोपत्र गर्ने गरी सम्झौताको काम भइरहेको र चालु आर्थिक वर्षभित्रै सकिने योजना रहेको उनले बताए । रासस
अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले अरुण–३ जलविद्युत् आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न र आयोजनाको काम तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार मङ्गलबार बसेको अनुगमन तथा सहजीकरण समितिको ११औँ बैठकपछि अर्थमन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । अरुण तेस्रो जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेडबाट माग भएको मूल्य समायोजनअनुसारको रकम सटही एवं स्थानान्तरण, परियोजनाको ड्याम साइट पहुँचमार्गका रूपमा प्रयोग भैरहेको कोशी राजमार्गको खाँदबारी–दोभान सडकखण्ड स्तरोन्नतिसम्बन्धी विषय र छ्याङ्कुटीदेखि दिदिङसम्मको परियोजनाको पावर हाउस प्रवेशमार्गको मुआब्जाको समस्या समाधानका लागि पहल थाल्न अर्थमन्त्री पुनले निर्देशन दिए । साथै होङ्सी शिवम् सिमेन्टको पहुँच सडक स्तरोन्नतिसम्बन्धमा आवश्यक प्रक्रिया थाल्न तथा सम्बन्धित निकायबाट बजेट प्रस्ताव गरी व्यवस्थापन गर्न अर्थमन्त्री पुनले निर्देशन दिएका छन् । अनुगमन तथा सहजीकरण समितिको बैठकले मूल्य समायोजनको विषयमा अध्ययन गर्न अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा एक अध्ययन समिति गठन गर्ने निर्णय गरेको पनि प्रवक्ता उपाध्यायले जानकारी दिए । साथै अरुण–३ आयोजनाको खाँदबारी दोभान सडकखण्डको स्तरोन्नति द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समितिले गरेको छ । रासस
कृष्णगण्डकी परियोजनामा ४ करोडको पूर्वाधार निर्माण
गलकोट । एक वर्षअघि देखि निर्माण थालिएको बृहत् कृष्णगण्डकी परियोजनालाई तीर्थस्थलका रुपमा विकास गरिएको छ । कालीगण्डकीको धार्मिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तीर्थस्थलका रुपमा विकास गर्न थालिएको उक्त परियोजनाअन्तर्गत हालसम्म चार करोड रुपैयाँको पूर्वाधार निर्माण गरिएको परियोजना कार्यालयले जनाएको छ । शालग्राम पाइने एक मात्र नदी कालीगण्डकी किनारमा निर्माण थालिएको कृष्णगण्डकी परियोजनाले गण्डकी सभ्यता, शालग्राम संरक्षण र नदीको महत्व दर्शाउने लक्ष्य लिनाका साथै पवित्र तीर्थस्थलका रुपमा धार्मिक पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । कालीगण्डकी नदीलाई संस्कृति भाषामा कृष्ण गण्डकी भनिन्छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदीको सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि नदी किनारमा एक वर्षअघि मात्रै कृष्णगण्डकी बृहत् परियोजना सञ्चालनमा ल्याइएको थियो । सत्सङ्ग हल, कालीगण्डकी कटान नियन्त्रण र बस्ती संरक्षण, पैदल मार्गको ढुङ्गा छाप्ने, जग्गा व्यवस्थापन, तारजाली र पर्खाल लगाउने काम भइरहेको छ । सनातन हिन्दू धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको एक कालीगण्डकीको प्रसारप्रचार र संरक्षणका लागि बृहत् कृष्णगण्डकी परियोजना निर्माणले तीव्रता पाएको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) का केन्द्रीय अध्यक्ष परमेश्वर अच्युत दासले जानकारी दिए । ‘हाम्रो लक्ष्य बृहत् छ, गण्डकीको महिमा बुझाउन र यसको प्रवर्द्धन गरी पर्यटकीय गतिविधि बढाउन नदी किनारमै परियोजना सञ्चालनमा ल्याइएका छौँ । विदेशीहरुले गण्डकीको महिमा बुझिसकेको अवस्थामा हामी भने नदी दोहन गरिरहेका छौँ’, अध्यक्ष दासले भने । सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रूपमा रहेको कालीगण्डकी क्षेत्रलाई तीर्थस्थलका रुपमा विकास गर्ने र यहाँ पाइने पवित्र शालग्रामको संरक्षण गर्ने स्कोनको उद्देश्य रहेको उनको भनाइ छ । नदी छेउमा व्यवस्थित स्नान कक्ष, घाट, सत्सङ्ग हल तथा कृष्ण मन्दिरको बृहत् कल्पनाका साथ एक वर्षअघि मात्रै बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुतुर्केघाटमा कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको भन्दै हालसम्म रु चार करोडको संरचना तयार भइसकेका दासले बताए । करिब १७ रोपनी जग्गामा सञ्चालित परियोजनाको निर्माणले गति लिइरहेको भन्दै परियोजनाको अगुवाइ स्कोनले गरिएको बागलुङ नगर कार्यालयले जनाएको छ । एक करोड ३५ लाख रुपैयाँ लागतमा कालीगण्डकीको कटान रोक्नका लागि बागलुङको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत पूर्वाधार निर्माण भइरहेको छ । नदीको कटान रोक्न तथा स्नान गर्ने स्थल निर्माण गर्न गत आर्थिक वर्षमा ६५ लाख रुपैयाँ र चालु आवमा ७० लाख रुपैयाँ विनियोजन गरिएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार आगमी चार वर्षमा परियोजनाको आधारभूत काम सम्पन्न भइसक्नेछ । परियोजना सम्पन्न गर्न १७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको इञ्जिनियर पौडेलले बताए । जीवनलाई खुसी बनाउने, योग ध्यान तथा तपस्या गर्नेदेखि घाटसम्म एउटै परियोजनाभित्र राखिएको उनको भनाइ छ । कालीगण्डकी दोहनको चपेटामा परिरहेको तथा नदीको बहाव परिवर्तन भइरहेको सन्दर्भमा नदी कटानलाई संरक्षण गरेर कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याई पूर्वाधार निर्माण थालिएको गौराङ्ग दासले बताए । उनले पहिलोपटक कालीगण्डकीको महिमाको विषयमा ‘गण्डकी उत्सव’ कार्यक्रम गरिएको जनाउँदै यसको संरक्षण तथा प्रवर्द्धनका लागि स्कोन अगाडि बढिरहेको बताए । परियोजनाले समग्र कालीगण्डकी नदीको सभ्यता दर्शाउने, धार्मिक पर्यटन प्रवर्द्धन गर्ने तथा धार्मिक तीर्थस्थलको प्रमुख स्थानका रुपमा प्रचारप्रसार गर्नेगरी सञ्चालनमा ल्याइने स्कोनले जनाएको छ । रासस