पर्यटकीय क्षेत्र अर्नाकोट पुग्ने सडक १६ वर्षपछि स्तरोन्नति हुँदै
ढोरपाटन । पर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो पुगेको १६ वर्ष पूरा भयो । विसं २०६४ मा बुर्तिबाङ बजारदेखि मस्ती हुँदै अर्नाकोट जोडिएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले सो सडक स्तरोन्नति गर्न थालेको छ । निसीखोला गाउँपालिका–२ र ढोरपाटन नगरपालिका–५ मा पर्ने अर्नाकोट उच्च पहाडी क्षेत्रमा पर्छ । ढोरपाटनको केन्द्र बुर्तिबाङ बजारदेखि करिब सात किलोमिटर दक्षिण पश्चिममा पर्ने अर्नाकोटसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्नका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । पूर्वाधार विकास कार्यालय बागलुङमार्फत सडक स्तरोन्नतिको काम हुन थालेको हो । उक्त सडक निर्माणका लागि भगवती मालिका कन्स्ट्रक्सन म्याग्दीले जिम्मा पाएको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर मनिष भण्डारीले जानकारी दिए । यस वर्ष करिब पाँच किमी सडक स्तरोन्नति हुने उनको भनाइ छ । सडकको सलामकोट–मस्ती–अर्नाकोट क्षेत्रमा ग्राभेलिङ, सडक चौडा गर्ने र नाली निर्माण गरिने भण्डारीले बताए । ८६ लाख बजेट लागत अनुमान गरे पनि निर्माण कम्पनीले रु ६३ लाख २८ हजार नौ सय २० मा सम्झौता गरेको मनिष भण्डारी बताउँछन् । इञ्जिनियर भण्डारीले भने, ‘कार्यालयले ठेक्का प्रक्रिया अगाडि बढाएर सम्झौता पनि गरेको छ, अब केही दिनमा निर्माण कम्पनी ‘फिल्ड’मा पुगेर काम गर्ने छ, यस वर्ष बजेट निकै कम छ, त्यसले गर्दा धेरै काम गर्न सकिने स्थिति छैन, निर्माण कम्पनीले आगामी असार मसान्तसम्म काम सक्नुपर्नेछ, सडकको एक ठाउँमा ह्युमपाइप राख्नुपर्नेछ, केही ठाउँमा ग्याविनसहितको पर्खाल, नाली निर्माण र केही भागमा ग्राभेलिङ गरिनेछ ।’ ढोरपाटन–५ का स्थानीय मीनबहादुर विकले वर्षौं बित्दा पनि सडक स्तरोन्नति नहुँदा यहाँका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताए । सडक अप्ठ्यारो हुँदा गाउँमा उत्पादन भएका तरकारी बुर्तिबाङ बजार पु¥याउन निकै कठिन हुने गरेको उनको भनाइ छ । सडक खुलाएको २० वर्ष हुन लाग्दा पनि स्तरोन्नति नहुनु दुःखद् भएको विक बताउँछन् । यस वर्ष स्तरोन्नति गर्ने भनिए पनि पूरै सडकको स्तरोन्नति नहुने उनको भनाइ छ । बागलुङ क्षेत्र नं २ ९ख० का प्रदेशसभा सयस्य दोर्णकुमार कुँवरले विसं २०६४ मा निकै दुःखका साथ सडक खुलाएको जनाउँदै यस वर्ष बल्ल स्तरोन्नतिका लागि थोरै भए पनि बजेट व्यवस्थापन भएको बताए । खासगरी टाढा गाउँका नागरिकलाई बजारसँग जोड्न र पर्यटकीय क्षेत्र अर्नाकोटमा पर्यटक आगमनलाई बढाउनका लागि सो सडक खुलाइएको उनको भनाइ छ । सो सडकले यस क्षेत्रका हजारौँ नागरिकको जीवनस्तर परिर्वतनमा ठूलो भूमिका खेलेको सुनाउँदै अब केही वर्षमै बुर्तिबाङदेखि अर्नाकोटसम्म स्तरोन्नति गर्ने कुँवरले बताए । ‘सडकले अर्नाकोट नजोडिँदा दैनिक उपभोग्य सामान ल्याउन बुर्तिबाङ बजार झनुपर्ने स्थिति थियो, स्थानीयले बोकेरै सामान ओसारपसार गर्थे, बजारमा पुग्नै तीन/चार घण्टा लाग्थ्यो, अहिले कच्ची भए पनि सडक गाउँसम्म पुगेको छ’, कुँवरले भने, ‘सडकले सहजता प्रदान त गर्ने नै भयो, कहिलेकाहीँ अप्ठ्यारो सडकका कारण दुर्घटनासमेत हुने गरेको छ, अब यस वर्ष थोरै बजेट विनियोजन भयो, यसले स्तरोन्नतिको थालनी हुनेछ, आगामी वर्षदेखि बढी बजेट व्यवस्थापन गरेर काम सक्नुपर्नेछ ।’ रासस
भेरी करिडोरको सतह चाँडै छिचोलिने
काँक्रेविहार । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ । करिडोरको एक सय ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको छ भने तल्लुदेखि दुनैसम्मको ६२ किलोमिटरमा नेपाली सेनाले खोलेको ट्र्याकमाथि नै यातायातका साधन सञ्चालन भइरहेका छन् । भेरी करिडोर आफैँले सतह काट्न लागेको करिडोरका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । दुनैदेखि ल्यासिक्यापसम्मको सडकमा निर्माण व्यवसायीले काम सुरु गरेका छन् । बीचमै काम छाडेर अधुरै रहेको यो सडक खण्डमा पुनः काम प्रारुरम्भ भएको हो । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाल तथा सुरक्षा निकायको टोलीले उक्त सडक खण्डको अनुगमन गरेर काममा तीव्रता दिन निर्देशन दिएको छ । बीचैमा काम छाडेमा ठेक्का तोडिने आयोजना प्रमुख रञ्जितकारले बताए । तल्लुस्थित भेरी नदीको बेलिब्रिज पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । उक्त पुल निर्माण हप्ता दिनभित्रै पूरा हुने आयोजनाले जनाएको छ । सो क्षेत्रमा अन्य पाँच पुलको काम भने बाँकी नै छ । भेरी करिडोरको ६२ किलोमिटरमा कालोपत्र गर्न हाललाई बजेट अभाव भएको आयोजना प्रमुख रञ्जितकारले बताए । ‘चालु आर्थिक वर्ष २०८०/८१ मा रु ५० करोडको बजेटमार्फत काम भइरहेको छ’, उनले भने । ठेक्का लिने तर बीचमै काम छाड्ने गरेका कारण करिडोरको काम समयमै सम्पन्न हुन नसकेको हो । सडक जतिसक्दो चाँडो निर्माण हुनेछ, त्यति नै छिटो जाजरकोट र डोल्पामा निर्माणाधीन विकास निर्माणका कामले गती पाउने छन् । यसबाट जगदुल्ला जलविद्युत् आयोजना, नलगाड जलविद्युत् आयोजना, ताक्सुगाड जलविद्युत् आयोजनालगायतको काममा सहज हुने बताइएको छ । रासस
म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका टुकमान जुग्जालीले बताए । ‘उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाहे भएको थियो,’ उनले भने, ‘पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज बनाएको छ ।’ पदमार्ग बनेपछि बिम र डाँडागाउँमा ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई आवतजावत र हिँडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा बिनियोजन गरेको ३० लाख बजेटबाट पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष शरणकुमार जुग्जालीले बताए । ‘बिम तल्लो गाउँमा ४२५ मिटर र डाँडागाउँमा २५० मिटर पदमार्ग बनाएका छौँ,’ उनले भने, ‘तेर्सोमा ढुङ्गा बिछ्याएर र उकालोमा सिँढी चिनेर ढलान गरिएको छ ।’ १ दशमलव १० मिटरदेखि १ दशमलव २० मिटर फराकिलो पदमार्ग निर्माण भएको छ । पदमार्गमा मोटरसाइकल र साइकल पनि हिँडाउन सकिन्छ । माटे पदमार्गमा बर्सात हुँदा हिलो र सुक्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाइ गर्न सहज भएको छ । बिम र डाँडागाउँ धार्मिक पर्यटकी स्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ती हुन् । मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजन बसोबास गर्ने बिम र डाँडगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । सरसफाइमा नमूना बनाउने उद्देश्यले गाउँभित्रको पैदलमार्गलाई पक्की बनाउन बजेट बिनियोजन गरेको स्थानीयवासीसमेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहनुभएका जुग्जालीले खारा–बिम सडक स्तरोन्नतिका लागि २० करोड बजेट स्रोत सुनिश्चितता भएको र सो योजनाबाट बिम र गाउँगाउँको बस्तीभित्रको सडकलाई कालोपत्र गरिने बताए ।