अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल, सभामुख घिमिरे र पूर्वाधारमन्त्री दाहालको चासो
काठमाडौं । अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माई नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनी भन्छन्, ‘पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।’ हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ । अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको बताए । ‘सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ,’ उनले भने, ‘उहाँहरूले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौँ ।’ नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उहाँले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताए । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उनको भनाइ छ । वि.संं २०६५ सालमा भारत सरकारको २ करोड रुपैयाँको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए । सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपिन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताए ।
बर्खा लागेपिछ धुलिखेल-साँगा सडकको कालोपत्रे शुरु
काठमाडौं । स्तरोन्नतिको काम जारी रहेको साँगा-धुलिखेल सडक खण्डको कालोपत्र शुरु भएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत साँगा-धुलिखेल सडक खण्ड ६ लेनमा विस्तार भइरहेको छ । सूर्यविनायक-साँगा र साँगा-धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा साँगा-धुलिखेल खण्ड कालोपत्र शुरु गरिएको हो । धुलिखेल मुख्य चोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडक अहिले कालोपत्र शुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए । हाल आधुनिक प्रविधिबाट कालोपत्रको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको जनाइएको छ । खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुने छ । पहिलो तहमा ३० देखि ३५ समीको ‘सबबेस’, त्यसपछि २० सेमीको ‘सिटिपी’ गरी त्यसमाथि १० सेमीको ‘क्र्याक-रिलिफ लेयर’ हालेर त्यसमाथि ११ देखि १३ सेमीको ‘डिबिएम’ गरी त्यसमाथि ६ सेमीको ‘आस्पाल्ट कङ्क्रिट लेयर’ गरी जम्मा ८० सेमीको आधुनिक प्रविधिबाट कालोपत्र भइरहेको हो । सूर्यविनायक-धुलिखेलसम्म १६ किलोमिटर दुरी छ । जसमा सूर्यविनायक-साँगा ७.५ किमी र साँगा-धुलिखेल ८.५ किमी छ । यो दुरीमा ६ लेन सडक विस्तार तीन वर्षमा सम्पन्न गर्ने गरी दुई खण्ड, दुई चरणमा ठेक्का सम्झौता गरिएको थियो । सूर्यविनायक-साँगासम्मको ठेक्का विसं २०७९ मङ्सिर र साँगा-धुलिखेलसम्मको ठेक्का सम्झौता २०७९ पुसमा गरिएको थियो । सडक खण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ । इन्जिनियर खनालका अनुसार हालसम्म साँगा–धुलिखेल सडकखण्डको भौतिक प्रगति करिब ५० प्रतिशत सम्पन्न भएको छ । हाल शुरु गरिएको तीन किमी कालोपत्रे असार मसान्तभित्र सकेर करिब ६० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य आयोजनाको छ । यो आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडक खण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडक खण्ड ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वीतराईका लामा दुरीका सवारी मात्र दैनिक २ हजार ५०० भन्दा बढी गुड्ने गरेका छन् ।
म्याग्दी नदीको कटान रोक्न सिङ्गा तातोपानीमा कम्पोजिट पर्खाल निर्माण, जोखिममा रहेका बस्तीलाई राहत
म्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ। चालु आर्थिक वर्ष २०८१ /८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका हुन्। गत फागुनदेखि सुरु भएको दुईवटै योजना बर्खा सुरु हुनुअघि नै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताए । एक करोड ५५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको छ। यो योजनाका लागि दुई करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीन-तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए। जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ । यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताए । विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ । यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए । प्राकृतिक उपचार स्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको १० करोड रुपैयाँ बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रियामा छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो । रासस