नेपाली सडक अब कालोपत्रे होइन, सेतोपत्रे बनाइनुपर्छ : अध्यक्ष मारु

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारु ।

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नेपाली सडकलाई निर्माण गर्न अब कंक्रिट नै प्रयोग गर्नुपर्ने बताएको छ । 'कालोपत्रे होइन, अब सेतोपत्रे गरौं' भन्ने नारासहित संघले सोमबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै यस्तो बताएको हो । 

नेपालमा सडक निर्माण गर्दा बिटुमिनका सडकको सट्टा कंक्रिट सडकलाई प्राथमिकता दिनुपर्ने संघका अध्यक्ष रघुनन्दन मारुले बताए । उनले अब गाउँ-गाउँमा बन्ने सबै सडकहरू कंक्रिटयुक्त बनाइनुपर्नेमा जोड दिए ।

बिटुमिनबाट निर्माण गरिएका सडक कम टिक्ने बताउँदै कंक्रिटको प्रयोग भए लामो वर्षसम्म टिक्ने उनको दाबी छ । 

उनले नेपालमा बिटुमिनबाट बन्ने सडकको तुलनामा कंक्रिट सडकको सुरुवाती लागत महँगो भए पनि दीर्घकालीन फाइदा हुने बताए। 

अध्यक्ष मारुले भने,  'हामी छ्ड, सिमेन्ट, ढुंगा, बालुवा गिट्टी सबैमा आत्मनिर्भर छौं । बिटुमिन आयातित वस्तु हो, जुन लामो समयसम्म टिकाउ हुँदैन । त्यसमा पनि किनेर ल्याउनुपर्ने झन्झट छ । कंक्रिटको सडक निर्माण गर्न बालुवा, गिट्टी र सिमेन्ट भए पुग्छ, जुन हामीसँग पर्याप्त छ । अब नेपालको सडक निर्माणमा बिटमिन होइन, कंक्रिट नै लागु गर्नुपर्छ ।'

दीर्घकालीन रूपमा खर्चको हिसाब हेर्ने हो भने बिटमिनको सडकको तुलनामा कंक्रिट सडकको लागत सस्तो हुने उनको भनाइ छ । 

उनले अब कंक्रिट सडकलाई मान्यता दिन संविधानबाटै पारित गर्न सरकारसँग आग्रह गरे । 

यसैगरी, बिटुमिनका लागि डलर चाहिने तर कंक्रिट सडक बनाउन आफ्नै स्रोत साधन खर्च हुने उद्योगमन्त्री दामोदर भण्डारी बताउँछन् । उनले देशभर बाटोको समस्या रहेको बताउँदै सरकारको खर्च हुने क्षेत्र पूर्वाधार भएको र यसमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

उनले भने, 'अगाडिबाट नेपाल सडक निर्माण गर्दै जाने अनि पछाडिबाट भत्किँदै जाने गरेका छन् । यो ठूलो समस्या छ । यसका लागि हामीले अब कंक्रिट सडकमा ध्यान दिइनुपर्छ । हामी सिमेन्ट र छडमा आत्मनिर्भर छौं । यति मात्रै हैन, हामीसँग धेरै स्रोतसाधन छ । अब यसमा सबैले ध्यान दिनुपर्ने जरुरी छ ।'

मन्त्री भण्डारीका अनुसार बिटुमिनको आयु १० देखि २० वर्ष र कंक्रिट सडकको आयु ३० देखि ४० वर्षसम्म हुने गरेकाे छ । 

सहज यात्रा लागि व्यवस्थित सडक आवश्यक रहेको र यसको लागि छिट्टै कानुन बनाउनुपर्नेमा उनको जोड छ ।

उनले सडक निर्माणको काममा उद्योग मन्त्रालयबाट गर्नुपर्ने साथ सहयोगका लागि आफू सधैं प्रतिबद्ध रहेको बताए । 

यसैगरी, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कंक्रिट सडक निर्माणको अवधारणा चाँडै लागु हुनुपर्ने बताए ।

यसमा सरकारको साथसहयोग रहने उनकाे भनाइ छ ।

उनले स्थानीय सरकारले अब सिमेन्टको प्रयोग गरी कंक्रिट सडक निर्माणमा लाग्न आग्रह गरे । 

मन्त्री सिंहले भने, 'हाम्रै देशमा उत्पादनमा भएको सिमेन्टको प्रयोग गरी अब कंक्रिट सडक बनाइनुपर्छ । आफ्नै उत्पादन, आफ्नै निर्माणलाई जोड दिनुपर्छ । सरकार सधैं तपाईंहरूकै साथमा छ, यसमा ढुक्क हुनूहोस् । नेपालमा २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको छ ।'

उनले लागतभन्दा आफ्नै देशमा उत्पादन भएका सामाग्रीलाई प्रयोगमा ल्याउन जोड दिनुपर्ने बताए ।

Share News