मंसिर ७ गतेदेखि जनकपुर-अयोध्या रेल सञ्चालन हुने, बालेन र मोदीले गर्दैछन् उद्घाटन

राम र सीताको जन्मभूमि रेल सञ्जालमा जोडिँदै

काठमाडौं । नेपालको जनकपुरधाम र भारतको अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोड्ने योजना अघि बढेको छ । भारतीय रेलवेले जनकपुरधामदेखि उत्तर प्रदेशको अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको छ । 

करिब ६०४ किलोमिटर लामो यो रेल सेवाले दुई देशका प्रमुख धार्मिक गन्तव्यलाई जोड्नुका साथै सीमापार आवागमन, धार्मिक पर्यटन र व्यापारिक गतिविधिलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

भारतको रेल मन्त्रालयले शनिबार (नोभेम्बर १४) प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) मार्फत सार्वजनिक गरेको विज्ञप्तिअनुसार नयाँ रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ । रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर तथा बस्ती हुँदै गन्तव्यमा पुग्नेछ ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बर २३ अर्थात् मंरि ७ गते भिडियो कन्फरेन्समार्फत संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्नेछन् । 

उद्घाटनको पहिलो रेल अयोध्या धामबाट छुट्नेछ । नियमित व्यावसायिक सेवा भने अयोध्या क्यान्टबाट सञ्चालन हुने बताइएको छ ।

null

१० स्थानमा स्टपेज, हप्तामा एक दिन सञ्चालन

भारतीय रेलवेको स्वीकृत योजनाअनुसार नयाँ रेलले जनकपुरधाम र अयोध्या क्यान्टबीच करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ । यात्राका क्रममा बिहार र उत्तर प्रदेशका विभिन्न महत्वपूर्ण सहर तथा बस्तीमा यात्रु चढाउन र ओराल्न रोकिनेछ ।

रेलका टर्मिनल स्टेसनबाहेक जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक स्टपेज रहने भारतीय रेल मन्त्रालयले जनाएको छ ।

यो रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने व्यवस्था गरिएको छ ।

यद्यपि, रेलको विस्तृत समयतालिका, टिकट दर र व्यावसायिक सेवा सुरु हुने निश्चित मिति सार्वजनिक हुन बाँकी छ ।

राम र सीताको जन्मभूमि रेल सञ्जालमा जोडिँदै

जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् श्रीरामको जन्मभूमिका रूपमा हिन्दू धर्मावलम्बीले श्रद्धा गर्ने गर्छन् । रामायण परम्परासँग जोडिएका यी दुई धार्मिक स्थललाई प्रत्यक्ष रेल सञ्जालले जोड्ने योजनालाई भारतले धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारको महत्त्वपूर्ण पहलका रूपमा प्रस्तुत गरेको छ ।

भारतीय रेल मन्त्रालयका अनुसार नयाँ रेल सेवाले नेपाल र भारतका तीर्थयात्री तथा पर्यटकलाई दुवै धार्मिक स्थलसम्म पुग्न सहज बनाउनेछ । यसले रामायणसँग सम्बन्धित धार्मिक पर्यटन सर्किटको प्रवद्र्धनमा समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

अयोध्यामा राम मन्दिर निर्माणपछि त्यहाँ धार्मिक पर्यटकको आकर्षण बढिरहेको छ । त्यस्तै, जनकपुरधाम पनि जानकी मन्दिर र मिथिला संस्कृतिका कारण भारतसहित विभिन्न देशका हिन्दू धर्मावलम्बीको प्रमुख गन्तव्य रहँदै आएको छ । प्रत्यक्ष रेल सेवा सञ्चालनमा आएपछि अयोध्या पुग्ने भारतीय तथा अन्य देशका पर्यटकलाई जनकपुरधामसम्म आउन सहज हुनेछ ।

यसले जनकपुरधामलाई धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने अवसरसमेत सिर्जना गर्न सक्छ ।

होटलदेखि स्थानीय व्यापारसम्म लाभको अपेक्षा

रेल सेवा सञ्चालनले धार्मिक पर्यटनमा मात्र नभई सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने भारतीय रेल मन्त्रालयको अपेक्षा छ ।

रेलमार्ग आसपासका होटल, रेस्टुरेन्ट, यातायात व्यवसाय, पर्यटन सेवा, स्थानीय व्यापार तथा परम्परागत हस्तकलामा संलग्न व्यवसायीले नयाँ अवसर पाउने मन्त्रालयले जनाएको छ ।

विशेषगरी जनकपुरधाममा भारतीय पर्यटकको आवागमन बढेमा होटल, धर्मशाला, स्थानीय यातायात, भोजनालय, मिथिला कला तथा हस्तकलाको बजार विस्तार हुन सक्छ । धार्मिक पर्यटनसँग जोडिएका स्थानीय व्यवसायले थप आम्दानी र रोजगारी सिर्जना गर्ने सम्भावना छ ।

त्यस्तै, भारतको बिहार र उत्तर प्रदेश हुँदै नेपाल आउने यात्रुका लागि पनि नयाँ रेल सेवा उपयोगी हुने अपेक्षा गरिएको छ । शिक्षा, व्यवसाय, पारिवारिक भेटघाट तथा अन्य व्यक्तिगत प्रयोजनका लागि सीमापार यात्रा गर्ने नागरिकलाई यसले थप यातायात विकल्प उपलब्ध गराउनेछ ।

भारतीय रेल मन्त्रालयले नयाँ रेल सेवाले नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ । 

Share News