काठमाडौं । नेपाल सिमेन्ट उत्पादक व्यवसायी तथा सरोकारवालाहरूले अब नेपाली सडकमा बिटुमिन नभई कंक्रिटको प्रयोग गरी सडक निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल सिमेन्ट उत्पादक संघले सोमबार ललितपुरमा आयोजना गरेको ‘सिमेन्ट कन्क्लेभ’ कार्यक्रममा व्यवसायी एवं सरोकारवालाहरूले अब बन्ने देशभरका सडकमा सिमेन्टको प्रयोग गरी कंक्रिटयुक्त सडक बनाउनुपर्ने उल्लेख गरे ।
विज्ञहरूका अनुसार सरकारले भौतिक पूर्वाधार निर्माणअन्तर्गत सडक निर्माणलाई प्राथमिकतामा दिए पनि नेपालमा निर्माण हुने सडकको मोडालिटी कार्यान्वयनमा सोचे जस्तो नीति छैन ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेल राजमार्गका लागि बनाएको मापदण्ड, स्ट्याण्डर्ड र डिजाइनअनुसार मात्रै काम गर्नुपर्ने बताउँछन् । उनले सुरुमा भएका स्ट्याण्डर्ड डिजाइन तथा मापदण्ड परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामी सिमेन्टको प्रयोग गरी सडक निर्माण गर्नेमा सहमत छौं । हालसम्म सडक विभागले सडकको स्ट्याण्डर्ड र डिजाइन बनाएर काम गरिरहेको छ । अब यसलाई परिवर्तन गरेर नयाँ मोडेलमा जानुपर्छ ।’
अब बन्ने देशभरका सडकहरूमा सिमेन्टको प्रयोग गरेर कंक्रिटयुक्त सडक बनाउनुपर्ने उनको भनाइ छ ।
यसैगरी, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले पनि बिटुमिनको सट्टा कंक्रिटको प्रयोग गरेर सडक निर्माण गर्नुपर्ने बताए । उनका अनुसार सहरको तुलनामा ग्रामीण क्षेत्रमा कंक्रिटको प्रयोग राम्रो हुन्छ ।
सहरमा युटीलिटी बढी भएको बताउँदै उनले यसका लागि युटीलिटी करिडोर (सडक या भूमिगत क्षेत्रमा धेरै प्रकारका सेवा पाइपलाइन वा केबलहरू एउटै स्थानबाट जाने पूर्व–निर्धारित मार्ग) अवधारणा नीति बनाइनुपर्ने उल्लेख गरे ।
उनले भने, ‘सहरको सन्दर्भमा युटीलिटी करिडोर अवधारणा नीति बनाई सिमेन्टको प्रयोग गरेर कंक्रिटयुक्त सडक बनाउन सकिन्छ । तार, ढल लगायतको व्यवस्थापन गर्न सक्यो भने मात्रै कंक्रिटयुक्त सडक बनाउन सजिलो हुनेछ ।’
यसअघि बिटुमिन उपयुक्त नहुने ठाउँमा प्राविधिक सल्लाहमा स–साना कंक्रिट ढलान सडकमा निर्माण हुँदै आए पनि बजेटको व्यवस्थाले कंक्रिट पेमेन्ट (ढलानयुक्त सडक) लाई नीतिगत रूपमा व्यवस्थित गरेको महर्जनको भनाइ छ ।
यसैगरी, स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले देशका आधाभन्दा बढी सकड प्रदेश र स्थानीय सरकारअन्तर्गत रहेका बताउँदै यी सडकहरूको छुट्टै अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाएर जानुपर्ने बताउँछन् ।
सडक निर्माणका लागि खुला वातावरण उपयुक्त हुने उनको दाबी छ । उनका अनुसार हाल बनिरहेका सडकहरू दिगो र गुणस्तरीय हुन सकेका छैनन् ।
उनले भने, ‘यदि हामीले प्रणालीगत रुपमा जाने हो भने हाम्रा सडकहरू दिगो बन्न धेरै समय लाग्दैन । दिगो र गुणस्तरीय सडक बनाउनका लागि मापदण्ड आवश्यक छ । गुणस्तरीय सडक कसरी बनाउने भन्ने चुनौतीको विषय बनेको छ ।’

महानिर्देशक न्यौपाने कंक्रिट सडकमा जानुभन्दा पहिला दक्ष बन्न जरुरी रहेको बताउँछन् । सिमेन्ट प्रयोग गरी कंक्रिट सडक निर्माण गर्दा गुणस्तरमा ध्यान दिनुपर्छ । कंक्रिट सडकको म्याद सकिएपछि पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने पक्षमा पनि सोच्नुपर्ने उनी बताउँछन् ।
सडक निर्माण गर्दा सिमेन्टलाई पनि राम्रोसँग चेक गरिनुपर्नेमा उनको मत छ ।
यसैगरी, नेपाल इन्जिनियर काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले सडक निर्माणलाई दिगो र गुणस्तरीय बनाउन प्राविधिक र आर्थिक दुवै पाटो राम्रो हुनुपर्ने बताउँछन् ।
उनले भने, ‘सडक निर्माणमा इन्जिनियरले मात्रै सिकेर हुँदैन । नयाँनयाँ प्रविधिबारे सबैले सिक्नुपर्छ । हाम्रो देशमा सडक निर्माण गर्दा अनुसन्धान नै भएको देखिँदैन । अनुसन्धान नै नगरिँदा हामी धेरै पछि परेका छौं । हरेक कुरामा अनुसन्धान आवश्यक छ । साथै पूर्वाधार क्षेत्रमा पैसा पनि धेरै चाहिन्छ ।’
राष्ट्रिय योजना आयोगका सदस्य रमेश सिंहले पनि नेपालका लागि कंक्रिट सडक नै उपयुक्त भएको दाबी गरे । उनले बिटुमिनको तुलनामा सिमेट प्रयोग गरी बन्ने सडकको आयु लामो हुने भएकाले गुणस्तरलाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाउनुपर्नेमा जोड दिए ।
सुरुवाती चरणमा बिटुमिनभन्दा करिब दुई गुणा महँगो पर्ने भए पनि कंक्रिटको प्रयोगबाट बन्ने सडक दीर्घकालीन र गुणस्तरीय हुने उनको भनाइ छ ।
उनले भने, ‘दीर्घकालीन रूपमा हेर्दा सिमेन्ट प्रयोगबाट बन्ने सडक नै सस्तो पर्छ, बिटुमिन जस्तो दुई÷चार वर्षमै बिग्रिँदैन, यस्तो सकडमा इन्धन तथा तेल पनि कम खर्च हुन्छ, वातावणमैत्री पनि हुन्छ, सवारी साधनको चक्का पनि धेरै तात्दैन । बिटुमिनको प्रयोगभन्दा कंक्रिटको प्रयोगबाट सडक निर्माण गर्दा देश र जनतालाई नै फाइदा हुन्छ ।’
यसैगरी, इन्जिनियर तथा राजेन्द्रराज शर्माले पनि बिटुमिनको प्रयोगभन्दा कंक्रिटको प्रयोगले बनेको सडक हरेक किसिमबाट प्रभावकारी हुने बताउँछन् ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ८.८६ अर्ब रुपैयाँ बराबर मूल्यको एक लाख २९ हजार ३८० मेट्रिक टन बिटुमिन स्वदेश आयात भएको छ ।
देशभर दुई दर्जनभन्दा बढी सिमेन्ट प्लाण्टहरू छन् जसको उत्पादन क्षमता २ करोड ५० लाख मेट्रिक टन भए पनि ७५ लाख मेट्रिक टन मात्रै सिमेन्ट उत्पादन हुँदै आएको छ । ३७ लाख मेट्रिक टन मात्र सिमेन्ट आयात गरिएको थियो ।
यसैगरी, नेपाल गुणस्तरण तथा नाप तौल विभागकी महानिर्देशक ज्योतिकुमारी भट्ट (जोशी) ले अहिले सिमेन्ट उद्योगको कारणले नै देश सिमेन्टमा आत्मनिर्भर भएको प्रसंग जोडिन् । सिमेन्टको खपत बढाउन र निर्यातमा सहजीकरण गर्न सरकारले पहल गर्नुपर्ने धारणा उनको छ ।
उनले भने, ‘हामीले देशभर विभिन्न ब्राण्डका सिमेन्ट उत्पादन गरिरहेका छौं । अब यसको खपतमा जोड दिनुपर्छ । यदि यसमा विभागले थप केही गर्नुपर्ने भएको खण्डमा सहयोग गर्न तत्पर छौं ।’
यसैगरी, वाणिज्य आपूर्ति मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले सिमेन्ट उत्पादन सुरु भएको ५० वर्ष भएको बताउँदै सिमेन्टको निर्यातमा सरकार सधैं सकारात्मक रहेको बताए । उद्योगमा नीति सहजीकरण लागि मन्त्रालयले थप पहल गरिरहेको उनको भनाइ छ ।
त्यस्तै, सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल कंक्रिट सडक नै राम्रो हुनेमा जोड दिन्छन् ।
सोही कार्यक्रममा भारतका कंक्रिट सडकविज्ञ सुनिलकुमार सक्सेनाले देशको पूर्वाधार विकासमा कंक्रिट सडक आवश्यक रहेको बताए । उनका अनुसार भारतका ठूलाठूला राजमार्गहरुका हरेक सडकमा कंक्रिट नै प्रयोग गरिएको छ ।
उनले कंक्रिट सडकबारे सरकारले नै नीति नियम मापदण्ड आफैले बनाएको समेत जानकारी दिए । यी सडकहरू पछिसम्म टिकाउ हुने भएकाले यसलाई भारतीय सरकारले प्राथमिकता दिएको उनले बताए । यसमा सुरुमा खर्च धेरै भएपनि पछि समस्या नहुने उनको भनाइ छ ।
यता पूर्वाधारविद रामबहादुर घिमिरे नेपाली सडकमा बिटुमिन नै ठीक हुने बताउँछन् । उनी भन्छन्, ‘ कंक्रिट सडक बनाउन धेरै महँगो हुन्छ । ढल, पानी, इन्टरनेट जस्ता युटिलिटी मर्मत गर्दा फोड्नुपर्छ, जसले खर्च बढाउँछ । सानो क्षति भए पनि ठूलो क्षेत्र फोर्नुपर्छ । सतहबाट पानी नजाने भएकाले वर्षा पानीको निकासमा समस्या हुन सक्छ ।’
उनका अनुसार यसले दुर्घटना जोखिम पनि बढाउँछ ।