ऊर्जामन्त्री खड्का र एसियाली विकास बैंकका उपाध्यक्षबीच भेट, के-के विषयमा भयो छलफल ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र एसियाली विकास बैँक (एडीबी)का उपाध्यक्ष फातिमा यसमिनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको उक्त भेटमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडीबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी सहकार्यबारे छलफल भएको थियो । भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा एशियाली विकास बैँकले गरेको सहयोगप्रति धन्यवाद दिए । उनले आगामी दिनमा सरकारलाई एडीबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे । ऊर्जामन्त्री खड्काले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्न विकास साझेदार निकायको महत्वपूर्ण भूमिका रहने भएकाले ऊर्जा क्षेत्रमा थप लगानीका लागि अनुरोध गरे । उनले एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सरकार लागिपरेको भन्दै आयोजना निर्माणका क्रममा देखिएका समस्या तथा चुनौतीलाई मन्त्रालयले चाँडो सम्बोधन गर्ने बताए । एडीबीले नेपालमा तनहुँ जलविद्युत् आयोजना, प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण, बागमती नदी बेसिन सुधार, बाढी जोखिम व्यवस्थापन, यान्त्रिक सिँचाइ, नवप्रवर्तन तथा सिँचाइ आधुनिकीकरण प्रवद्र्धनलगायत उर्जा, जलस्रोत र सिँचाइको क्षेत्रमा काम गरिरहेको छ । त्यस अवसरमा एडीबीका उपाध्यक्ष फातिमा यासमिनले एडिबीको लगानीमा निर्माणाधीन आयोजनामा देखिएका समस्या समाधान गर्न मन्त्रीसमक्ष आग्रह गरेकी थिइन् । बैठकमा दूधकोसी जलविद्युत आयोजनामा लगानी गर्नेबारे समेत छलफल भएको थियो । यस्तै, अप्पर अरुण जलविद्युत आयोजना, महाकाली–३ सिँचाइ आयोजना, तल्लो सेती जलविद्युत आयोजनामा एडीबीको नयाँ लगानीको बारेमा समेत छलफल भएको थियो । भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, नेपालका लागि एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक अर्नाउड काउकोइसलगायत मन्त्रालयका उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो । 

ओभरलोडको चपेटामा पूर्व-पश्चिम राजमार्ग, पुलहरू एकपछि अर्को भाँचिँदै

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकखण्डमा ओभरलोडका कारण एकपछि अर्को गरी पुलहरू भाँचिँदै गएका छन् ।  पछिल्लो पटक नवलपरासीको मध्यविन्दु नगरपालिका- २ चोरमारास्थित गिरुवारी खोलामा रहेको १८४ मिटर लामो पुल ओभरलोडका कारण भाँचिएको छ । सोमबार राति पश्चिमबाट पूर्वतर्फ आइरहेको यात्रुबाहक बस पुलको बीच भागमा बिग्रिएपछि अन्य सवारीसाधनहरू पुलमै रोकिए । पुलले अत्यधिक भार थेग्न नसक्दा लच्किएर डेढ फिट तल झरेको र फलामका डण्डीहरूमा क्षति पुगेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले जानकारी दिए। जहाँ चार महिनाकै अन्तरालमा दुईवटा ठूला फलामे पुल भाँचिएका छन् । पुल भाँचिएपछि पुनः नेपाली सडक र पुलको गुणस्तरको विषयमा बहस हुन थालेको छ ।  प्रमुख लामिछानेका अनुसार पुल डेढ फिट तल झरेको छ भने पुलको माथिपट्टिको भागमा रहेका फलामका डण्डीहरूमा क्षति पुगेको छ ।  उनले भने, ‘पुलको बीच भागमा पश्चिमबाट पूर्वतर्फ आइरहेको यात्रु बोकेको बस बिग्रियो । त्यहीँ बसका कारण अरू गाडी पुलमा जम्मा भएर रोकिए, पुल साँघुरो भयो । ओभरलोड थेग्न सकेन अनि पुल भाँचिन पुग्यो ।’ उनले पुलको क्षतिबारे अध्ययन गर्न सडक विभागबाट टोली आएको जानकारी दिए । पुलको स्थलगत अध्ययन गर्न सडक विभागबाट सिनियर डिभिजनल इन्जिनियर विशाल भट्टराईको टोली चोरमारामा पुगेको छ ।  उनका अनुसार पुलको अध्ययन गरेर विभागको टोली काठमाडौं फर्किसकेको छ । पुलको अध्ययनपछि भाँचिएको पुल चाँडै निर्माण हुने उनी बताउँछन् । उनले भने, ‘पुलमा त्यति ठूलो क्षति भएको छैन । अब पुल छिट्टै मर्मतका लागि नापजाँचको काममा लागिरहेका छौं । काम आजैदेखि सुरु भएको छ ।’ यो पुल विसं २०३१ मा निर्माण गरिएको थियो ।  यस्ता खालका पुलमा एउटा मात्रै भागले काम गरेन भने पनि सबै फेल हुनसक्ने सडक विभागका पुल अध्ययन गर्न गएको सिनियर डिभिजनल इन्जिनियर विशाल भट्टराई बताउँछन् ।  डाइभर्सनमार्फत् गाडी वारपार पुल भाँचिएपछि सवारीसाधनहरूलाई चोरमार र अरुणखोलाबाट दायाँबायाँ डाइभर्सन गरेर आवागमन गराइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासीका सूचना अधिकारी तथा प्रहरी डिएसपी मधु नेपालले जानकारी दिए । उनका अनुसार मंगलबार रातिदेखि पुल नजिकैबाट ड्राईभर्सन निर्माण गरेर सबै प्रकारका सवारीसाधनहरु वारपार भइरहेका छन् ।  पुलको काम नहुँदासम्मका लागि उक्त वैकल्पिक मार्गको प्रयोग हुने उनी बताउँछन् ।  मध्यविन्दु नगरपालिका–२, चोरमारा बजार तथा अरुणखोलाबाट बाटो प्रयोग गरी सिधै राजमार्गमा निस्कने गरी डाइभर्सन निर्माण गरिएको हो ।  ४० दिनमा विनयी खोला पुलमा गाडी गुड्ने यसअघि गत वर्षको पुस २६ गते पनि भारतीय हेभी ट्रक पास हुने क्रममा दुम्किबासस्थित विनयी खोलाको पुल पनि यसैगरी भाँचिएको थियो । उक्त पुलको निर्माण हाल भइरहेको पुल मर्मत आयोजनाका इन्जिनियर शिव खनालले बताए ।  उनका अनुसार पुलको लगभग ७० प्रतिशत काम सम्पन्न भइसेको छ । उनी भन्छन्, ‘पुलको काम सोचेअनुरूप भइरहेको छ । हाल ढलानको काम गरिरहेका छौं । अबको ४० दिनभित्र पुलमा गाडी गुड्छ ।’  उक्त भारतीय हेभी ट्रकमा सामान ल्याउने कम्पनी शिवम् सिमेन्टले सरकारलाई ८६ लाख रुपैयाँ क्षतिपूर्ति समेत तिरेको थियो । पुल भाँचिएपछि बनाइएको डाईभर्सन पनि दुई पटकसम्म खोलाले बगाएको थियो । बारबार पुलमा समस्या झन्डै तीन वर्षअघि पनि चोरमारा पुलमा प्वाल परेको थियो ।  यसैगरी, नवलपुरको गैंडाकोटको जयश्रीपुल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला ओभरलोडकै कारण भाँचिएका थिए । जीर्ण अवस्थामा रहेका यी पुल विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालनमा ल्याउने गरिएको छ । के भन्छन् पूर्वाधार विज्ञ ? पूर्वाधार विज्ञ रामप्रसाद घिमिरेले सुरुमा पुल निर्माण गर्दा सानो क्षमताका गाडी हेरर पुलको डिजाइन गरिएको बताउँछन् । यस्तो अवस्थामा हेभी गाडीमा ओभरलोड गरेर सामान ल्याउँदा पुल भत्किनु स्वाभाविकै मान्छन् उनी । यसैगरी, नदीखोलामा गिट्टी बालुवा निकाल्नाले तलको फाउन्डेसन (आधारभूत संरचना) समेत बिग्रने हुनाले यस्ता खालका समस्याहरू आउने गर्छन् । उनी ठूला ओभरलोड तथा हेभी गाडीहरू पुलमा चल्न रोक लगाइनुपर्ने बताउँछन् ।  उनले भने, ‘ठूला आभरलोड तथा हेभी गाडी पुलमा चलाउन दिनु हुँदैन । यदि चलाउनैपर्ने भएमा डाईभर्सन निर्माण गरेर चलाइनुपर्छ । यस्तो व्यवस्थापन गर्न सकिएन भने पुल पुनः निर्माणको विकल्प नै छैन ।’ उनका अनुसार खासगरी महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ र अरनिको राजमार्गका ५० वर्ष नाघेका पुलहरूमा यी र यस्ता घटना नियमित हुने जोखिम रहेको बताउँछन्।  के छ कानुनी व्यवस्था ? कानुनी व्यवस्थाअनुसार भारवहन अनुगमन तथा नियन्त्रणका लागि सम्बन्धित निकायहरूले व्यक्ति, फर्म वा कम्पनीहरूले स्थापना गरेका तौलपुलको प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ । भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ अनुसार मालवाहक सवारीसाधनको अगाडिको ‘एक्सल’ को अधिकतम’ एक्सल लोड’ छ मेट्रिक टनभन्दा बढी हुनु हुँदैन । उक्त नियमले पछिल्लो समय प्रतिएक्सल (चार पाङ्ग्रा) १०.२ मेट्रिक टन वजन राखेर सवारीसाधन सडकमा सञ्चालन गर्न सकिने जनाएको छ । सो निर्देशिकाको अनुसूचीमा पाँच एक्सल (१८ पाङ्ग्रा) भएका सवारीसाधनको भारवहन क्षमता ४० .२ मेट्रिक टन रहने उल्लेख गरिएको छ ।  सर्वाधिक वजन परिकल्पना गरिएको यस्तो सवारीसाधनमा अगाडिको एक्सलमा दुई पाङ्ग्रा, बीचको एक्सलमा चार पाङ्ग्रा र पछाडिको तीनवटा एक्सलमा १२ पाङ्ग्रा रहने उल्लेख छ । तर उक्त अनुसूचीको सवारीले बोक्न पाउने अधिकतम वजन सवारीको अगाडिको वा अन्य दुईपाङ्ग्रा जोड्ने एक्सल, एकल एक्सल, ट्यान्डम एक्सल र ट्राइडम एक्सलको योगफल हुने भनिएको छ। उक्त मापदण्ड अनुसार अधिकतम कुल वजन ५९.२ टन हुन आउँछ ।

गोन्द्राङमा साढे २ करोड बढी लागतमा राईनो पार्क बन्दै, मेयर दाहालद्धारा शिलान्यास

चितवन । भरतपुर–१२ को गोन्द्राङमा नगर स्तरीय पार्क निर्माण हुने भएको छ । साढे २ करोड बढी लागतमा निर्माण हुने राईनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरिन् । उनले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीति अनुसार राजमार्गसँग जोडिएको यस ठाँउमा पार्क निर्माण गर्न लागिएको बताइन् । उनका अनुसार यो पार्कमा विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण र सौन्दर्यकरणको काम हुनेछ । राईनो पार्क भरतपुर आउने पर्यटकलाई नजिकै छोटो समय घुमघाम गर्न उपयुक्त स्थान बन्ने विश्वास व्यक्त गरिन् । बेलशहर सामुदायिक वन क्षेत्रमा पर्ने पार्क  ८ विघा क्षेत्रफलमा निर्माण हुनेछ । गौतम मोर्डन जेभीले २०८२ कात्र्तिक ७ गतेभित्र निर्माण सम्पन्न हुने गरी मूल्य अभिवृद्धि करसहित रु २ करोड २३ लाख ८ हजार ६५४ रुपैयाँमा पार्कको निर्माण गर्नेछ । भरतपुर महागनरपालिकाका सिनियर डिभिजनल ईन्जिनियर सन्तोष आर्चायले यो रकमबाट वन्यजन्तु उद्धार भवन, गोही, सर्प, माछा, कछुवाको लागि पोखरी, म्युजियम, फुटपाथ, घेराबारसहितको खुला चिडियाखाना र विश्रामका लागि गोलघर निर्माण हुनेछ । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले पार्क निर्माणले पर्यापर्यटनलाई सहयोग पुराउने उल्लेख गरिन् । यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले पार्कमा ठेक्कामा उल्लेख भएका सबै संरचना बन्दा निकै आर्कषक पार्क निर्माण हुने विश्वास व्यक्त गरिन् । कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर–१२ का अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा भएको थियो ।