नागढुङ्गा-नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
काठमाडौं । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा-नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएकोलाई जानकारी दिए । आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ । प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरेत्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
बाढीले ग्राभेल बगाएपछि कान्तिलोकपथ सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको उनले बताए । कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।
सिंगटी हाइड्रो इनर्जीले पायो आईएसओ प्रमाणपत्र
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डहरू पुरा गरेकाले कम्पनीले आईएसओ ९००१-२०१५ प्राप्त गरेको हो । बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको वोर्डले सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाईन, निर्माण लगायतको मूल्यांकन गरेर प्रमाणपत्र प्रदान गरेको कम्पनीका प्रबन्ध सञ्चालक सुदिप खड्काले जानकारी दिए । काठमाडौको गहनापोखरीमा केन्द्रीय कार्यालयको रहेको कम्पनीले दोलखाको सिंगटी खोलामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना सञ्चालन गरी ४ वर्षदेखि व्यवसायीक उत्पादन गरिरहेको छ । उक्त कम्पनी धितोपत्र कारोबारमा समेत संलग्न भई पुँजी बजारमा समेत सक्रिय छ ।