गाई भैँसी चर्ने चौर बन्यो पर्यटकीय क्षेत्र, ४० लाखमा निर्माण भयो​​​​​​​ फनर्पाक

काठमाडौं । बागलुङको बरेङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ । बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले ४० लाख रुपैयाँ लागतमा ‘फनपार्क’ निर्माण गरी सञ्चालनमा ल्याएको हो । पार्क सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तीन वर्ष अगाडि निर्माण सुरु गरिएको पार्क यसै वर्षदेखि सञ्चालनमा आएको गाउँपालिका कार्यालयले जनाएको छ । एक दशक अगाडिसम्म झाडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणीय बनेको स्थानीय बताउँछन् । पार्क निर्माण भएपछि बरेङसहित बागलुङको गलकोट, जैमिनी, गुल्मी, स्याङ्जालगायत ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका स्थानीय चित्र थापाले बताए । गर्मीयाम सुरु भएपछि पार्कमा रहेका रुखका छहारीमा बस्न आउनेको सङ्ख्या बढेको उनको भनाइ छ । करिब दुई हेक्टर क्षेत्रफलमा बनेको पार्कमा बालबालिकाका लागि खेल्ने, वनभोज स्थल, भवन, फोटो खिच्ने स्थान लगायत पूर्वाधार बनेकाले आन्तरिक पर्यटकको आकर्षण बढेको थापाले उल्लेख गरे ।  बरेङका सबै वडासहित गुल्मी, स्याङ्जा, माछापुच्छ्रेलगायत हिमालहरू अवलोकन गर्न सकिने भएकाले ठूल्डाँडा र पार्क पर्यटकका लागि आकर्षण केन्द्र बनेको उनले बताए ।   ‘पहिले हामीले यहाँ गाई भैँसी चराउने गर्थ्यौ, अहिले सुन्दर पार्क बनेको छ । सामाजिक सञ्जालको प्रयोगले पार्कको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटक आउने गरेका छन्, यहाँ फोटो, भिडियो खिच्न, वनभोज खान, हिमालको अवलोकन गर्न पर्यटक आउने गरेका छन्,’ उनले भने ।  बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पद मार्ग र मोटरबाटोले ठूल्डाँडा जोडेपछि पर्यटकको आगमनमा वृद्धि आएको बताए । ठूल्डाँडामा पार्कसहित खानेपानी, शौचालय, बालबालिकाका लागि खेल्ने स्थान, वनभोज स्थल, आरामका लागि भवन, फोटो खिच्न पूर्वाधार बनाइएको उनको भनाइ छ । पार्कमा खुला व्यायामशालासमेत निर्माण गरिएको अध्यक्ष शर्माले जानकारी दिए । ‘यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रसार र पर्याप्त पूर्वाधार नहुँदा ओझेलमा परेको थियो, यसलाई संरक्षण र प्रवर्द्धन गरी स्थानीयको आयआर्जनको स्रोत विकास गर्नुपर्छ भन्ने उद्देश्यले यहाँ पूर्वाधार निर्माण गर्‍यौं, पद मार्ग र मोटरबाटो दुवैले जोड्यौँ,’ अध्यक्ष शर्माले भने, ‘अहिले ‘फनपार्क’मा व्यायामशालासहित थुप्रै संरचना बनेका छन्, जसले गर्दा यहाँ दैनिक पर्यटक आउने गरेका छन् । वरपर रहेका रुखसहित पोखरी पनि संरक्षण गरेर राखेका छौँ ।’

मर्स्याङ्दी जलविद्युत् जोगाउन मुग्लिन–पोखरा सडकको संरचना परिवर्तन गरिने

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक पूर्वी खण्डको सात किलोमिटर सडक संरचना परिवर्तन गरिने भएको छ । राजमार्गमा पर्ने मर्स्याङ्दी जलविद्युत् केन्द्रको संरक्षण गर्न संरचना परिवर्तन गरिने भएको हो । आयोजनाभन्दा माथि सात किलोमिटर सडक घुमाएर मुग्लिन लगिने आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुँडाराज ढकालले जानकारी दिए । आँबुखैरेनी गाउँपालिका-२ भुवनटारबाट मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पूर्वतर्फ गोरखाको पहाड काटेर राजमार्ग निर्माण गरिने उनले बताए । ‘पुल पार गरेर पुनःसडक मुग्लिन बजारमा जोडिनेछ’, ढकालले भने ।   जलविद्युत् आयोजना हुँदै हाल सञ्चालनमा रहेको राजमार्ग फराकिलो पार्न नमिल्ने भएकाले उक्त क्षेत्रमा सडकको संरचना र स्थान परिवर्तन गर्नुपरेको आयोजनाले जनाएको छ ।  

भारतलाई राति भारु ४ मा विद्युत् विक्री गरिरहेका छौँ : हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई रातिको समयमा भारु ४ मा नेपालले विद्युत् विक्री गरिरहेको जानकारी दिएका छन् । आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।  उनले भारतमा अहिले केही समय यता दिउँसोको समयमा विद्युत् सस्तो भएको बताए । बिजुली खपत गरेबापत भारतमा अहिले एक मेगावाट आवरको करिब ५० पैसा पाउने अवस्था रहेको उनको भनाई थियो ।  प्रबन्ध निर्देशक शाक्यले भने, ‘अहिले केही दिनदेखि भारतमा बिजुली दिउँसोको समयमा सस्तो भएको छ । यो विभिन्न भारतीय मिडियामा पनि आएको छ । युरोपमा कुनै बेला नेगेटिभ प्राइज हुन्छ भन्थ्यौँ । बिजुली खपत गरेबापत उल्टै पैसा पाउने भन्ने थियो । भारतमा अहिले त्यो करिब करिब सुरु भएको अवस्था छ । एक मेगावाट आवरको करिब ५० पैसा भनेपछि एक युनिटको त एक पैसा भन्दा कममा अहिले दिउँसोको एउटा समय त्यतिसम्म झरेको छ । त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मर्स्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राख्यौँ । खर्च गरेनौँ । बेलुका अहिले पिक लोड समयमा ती आयोजनाहरू चलायौँ । दिउँसोको समयमा नेपालले पनि त्यही बिजुली आयात गर्ने गरेको शाक्यले बताए । राती ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेचिरहेको दाबी गरे । शनिवार मात्रै २५ सय मेगावाट आवर खरिद गरिएको र १३ सय मेगावाट आवर विक्री गरेको बताए ।  उनले भने, ‘पिक लोडको समयमा पनि अहिले हामीलाई भारतबाट बिजुली लिनु परेन । हाम्रो खोलामा पानी प्रशस्त बढेको छ । राती ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेच्दैछौँ । ९ बजेपछि भारु ४ मा बिजुली पाउने अवस्था छ । त्यसको मतलब हामीले सस्तोमा एक डेढ पैसा, पर युनिटमा किनेर भारु ४ मा बेच्न पाउने अवस्था छ । राति पनि दुई, अढाई रुपैयाँ तलमाथि भइरहन्छ । हामीले शनिवार मात्रै २५ सय मेगावाट आवर खरिद गरेछौँ । राति हामीले १३ सय मेगावाट आवर विक्री गरेका छौँ । विक्री र खरिद युनिट हेर्दा विक्री युनिट कम छ । तर पैसाको हिसाबले फाइदा छ । यही क्रम अझै केही दिनसम्म रहन्छ । जबसम्म आफ्नो खोलाको पानी दिउँसोसम्म बढी हुने, सञ्चित गर्न नसकिने गरी हुन्छ, त्यसपछि हामी भारतबाट किन्दैनौँ । तर राति हामी बेच्नसक्छौँ । राउण्ड द क्लक जुन १५ देखि सुरु हुन्छ । मल्टी इयर ५ वर्षे जुन छ । त्यसमा एउटा  फिक्स दरमा बेच्ने सम्झौताअनुसार बेच्छौँ । बजारको दरमा भर पर्दैन ।’ प्रबन्ध निर्देशक शाक्यले गत बुधवार र बिहीबार बाहेकका दिन बाहेक अरू दिन विद्युत् आपूर्तिमा समस्या नरहेको जिकिर गरे । वास्तविकता भन्दा पनि फरक रहेर सत्यता लुकाएर अफवाह फैल्याइएको उनको भनाई थियो ।