सिद्धबाबा सुरुङ मार्गकाे भौतिक प्रगति ५७ प्रतिशत, काम तीव्र गतिमा हुँदै
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । हालसम्म सुरुङ मार्गको भौतिक प्रगति ५७.५१ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ५१.१ प्रतिशत रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिए । उनका अनुसार अहिले मुख्य टनेल भुइँ भागको १ हजार ८९ मिटर ढलान (इन्भर्ट) निर्माण सकिएको छ । दायाँबायाँ लेपन (लाइनिङ)को ८३४ मिटर काम सकिएको इन्जिनीयर ज्ञवालीले बताए । उनका अनुसार अहिले सुरुङ मार्ग भित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको छ । ‘सुरुङ मार्गको तीन वटा बाइपासमध्ये पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो बाइपास १३० मिटर छ । पहिलो बाइपासमा इन्भर्टको काम १४५ मिटर र १२४ मिटर लाइनिङको काम सकिएको छ । सुरुङ मार्गको तेस्रो बाइपासमा इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम ३० मिटर भइसकेको छ,’ उनले भने । २ लेनको मुख्य सुरुङ मार्ग १ हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । इन्भर्ट र लाइनिङको काम सकेपछि एक दुई महिनापछि लाइटिङ सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरु गरिने आयोजना प्रमुख कृष्ण राज अधिकारीले बताए । उनका अनुसार सुरुङ मार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । सुरुङ मार्ग कार्य प्रगतिका बारेमा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरोकार भएका पक्षबाट नियमित अनुगमन हुँदै आएको छ । सुरुङ मार्गको कामलाई निर्धारित समयमा सम्पन्न गर्न/गराउन, जनप्रतिनिधिले गर्नुपर्ने आवश्यक सहयोगका अनुगमनमा आएको प्रतिनिधिसभाका सांसद ठाकुर प्रसाद गैरेले बताए । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट १ हजार १२६ मिटर सुरुङ मार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । यो आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरूङ मार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र अन्तर्गत पर्छ । सुक्खा याममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङ मार्ग निर्माण गरिएको इन्जिनीयर ज्ञवालीले बताए । उनका अनुसार यस सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् ।
प्रगति प्रतिवेदन सुनेर हौसिएको सरकारी टोली जब दाउन्ने पुगेर झस्कियो
काठमाडौं । दाउन्नेको उकालोमा रहेको आफ्नो होटलको खाली कुर्चीतिर हेर्दै पदमबहादुर पोखरेल सुनाउँछन्, ‘कुनै बेला मेरो होटलमा यति भीड हुन्थ्यो कि बस्ने ठाउँ मिलाउन हम्मेहम्मे पर्थ्याे ।’ तर, अहिले ? अहिले अवस्था त्यस्तो छैन । आउ ! निःशुल्क खाउ भने पनि उनको होटलमा बस्ने ग्राहक पाइने अवस्था छैन । विगतमा राजमार्गमा गुड्ने गाडीहरू उनको होटल अगाडि लहरै रोकिन्थे । यात्रुहरू खाना-खाजा खान झुम्मिन्थे । तर अहिले उनको होटलमा गाडी र ग्राहकभन्दा बढी हिलो र धुलोको जाम छ । उनको व्यापार सुस्त छ, सडक सुनसान र पदमबहादुर निराश छन् । ‘पहिला त मान्छे गन्नै सकिँदैनथ्यो, अहिले गाडीहरू यो बाटो चल्नै छाडे,’ उनी निराश हुँदै भन्छन्, ‘सात वर्ष भयो, यही धुलो र धुवाँ खाएर बसेको । व्यापार सुकिसक्यो ।’ उनले यो सकस भोग्नुको कारण हो- दाउन्ने-बुटवल सडक । अहिले यो सडक हिलाम्मे र धुलाम्मे छ । राजमार्गमा गुड्ने अधिकांश सवारी साधन यही सडकको सास्तीका कारण रुट परिवर्तन गरेर पोखरा हुँदै काठमाडौं आउँछन् । पदमबहादुर पोखरेल जसरी पदमबहादुरले हामीसँग सडकको कारण पाएको सास्ती सुनाए, त्यो सास्ती सडकमा गुड्ने लाखौं यात्रु र व्यापार व्यवसाय गरिरहेका हजारौं व्यवसायीले पनि भोगिरहेका छन् । वर्षौंदेखि निर्माण कार्य अलपत्र पर्दा यो राजमार्ग यात्रा गर्ने स्थानीयका लागि ठूलो सास्ती बनेको छ । प्रतिवेदनमा प्रगति, सडकमा सास्ती यो धुलाम्मे यथार्थभन्दा केही किलोमिटर पर, सरकारी प्रतिवेदनमा भने विकासको अर्कै उज्यालोको कथा छ । यही उज्यालोको कथा सुनाउन सरकारले केही सञ्चारकर्मीलाई तीन दिन लगाएर यही सडकमा घुमायो । भौतिक पूर्वाधार मन्त्रालय र निर्माण व्यवसायी महासंघको सहकार्यमा केही सञ्चारकर्मीलाई लगेर यही सडकको प्रगति देखायो । सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो प्रगति विवरण सुनायो । डिभिजन प्रमुख नारायणप्रसाद लामिछानेका अनुसार चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल भएको छ । ५१ मध्ये ४६ वटा ठेक्का सम्पन्न भइसकेका छन् । गोन्द्राङ–पुल्चोक ६ लेन सडक र हुलाकी राजमार्गका महत्वपूर्ण खण्डहरू कालोपत्रे भए । कागजमा हेर्दा, विकासले साँच्चै गति लिएको देखिन्छ । तर, दाउन्ने बुटवलको सडकको दुर्दशा भने बयान गरेर साध्य छैन । कागजी प्रगतिको फेहरिस्त सुनेर उत्साहित भएर अनुगमनका लागि हिँडेको सरकारी टोली दाउन्ने पुगेर झसङ्ग भयो । केही घण्टा अघि आफ्नै कर्मचारीले सुनाएको प्रगतिको प्रतिवेदन उच्च सरकारी अधिकारीलाई फिक्का मात्रै होइन नमीठो लाग्यो । एकातिर सरकारी सफलताको तथ्याङ्क, अर्कोतिर पदमबहादुर जस्ता व्यवसायीको उजाडिएको व्यापार । विकासको यो विरोधाभासले एउटा गम्भीर प्रश्न जन्मायो, आखिर समस्या कहाँ छ ? यसको जवाफमा निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल भन्छन्, ‘सबै दोष व्यवसायीलाई मात्र दिएर हुँदैन । हामीले समयमा काम गर्न नचाहेका होइनौं, सरकारी निकायबीच समन्वयको अभाव र प्रशासनिक झन्झटले आयोजनाहरूलाई बन्धक बनाएको छ ।’ उनको भनाइले स्पष्ट पार्छ कि दाउन्ने सडकको ढिलाइ केबल ठेकेदारको लापरबाहीको परिणाम होइन, यो राज्य संयन्त्रको असफलताको पनि प्रतिविम्ब हो । ‘सिंहदरबार गाउँमा आयो भनिन्छ, तर एउटा सामान्य स्वीकृतिका लागि महिनौं कुर्नुपर्छ । यस्तो अवस्थामा कसरी समयमा काम सकिन्छ ?’ उनले प्रश्न गरे । उनको भनाइले स्पष्ट पार्छ कि दाउन्ने सडकको ढिलाइ केबल ठेकेदारको लापरबाहीको परिणाम होइन, यो राज्य संयन्त्रको असफलताको पनि प्रतिविम्ब हो । यो संयुक्त अनुगमनले सरकारी फाइलमा सीमित विकास र नागरिकले भोगिरहेको यथार्थबीचको पर्खाललाई सतहमा ल्याइदिएको छ । भरतपुर डिभिजनको प्रगति आफ्नो ठाउँमा सह्रानीय होला, तर जबसम्म दाउन्ने जस्ता राष्ट्रिय महत्वका सडकहरू अलपत्र रहन्छन्, तबसम्म नागरिकले विकासको अनुभूति गर्न सक्दैनन् । यति धेरै निराशाका बीच पनि पदमबहादुर पोखरेल झिनो आशा पालेर बसेका छन् । ‘अहिले कामको गति अलि बढेको छ,’ उनी भन्छन्, ‘यही गतिमा काम भए अर्को वर्षसम्म त सकिन्छ कि !’ उनको यो आशा, दाउन्नेको धुलोमा पिल्सिएका सबै नागरिकको साझा प्रतिक्षा हो । अब हेर्नु छ, राज्यले यो प्रतिक्षालाई कहिले सम्बोधन गर्छ र प्रतिवेदनको विकासलाई कहिले सडकको यथार्थमा बदल्छ ।
विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव
लम्कीचुहाँ । खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको अगाडि होइन काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताएका छन् । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका स्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गदैं मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको बताए । उनले भने, 'समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी छ । सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ ।' यसैगरी मन्त्री यादवले सुदूरपश्चिम प्रदेशको प्रदेश राजधानी समेत रहेको कैलाली जिल्ला जिल्लामा विकासका थुप्रै पुर्वाधार निर्माण गरिएका भएपनि लम्कीचुहा नगरपालिकामा खानेपानीको निकै समस्या भएका कारण यहाँका नागरिकलाई स्वच्छ, सुरक्षित खानेपानी प्रदान गर्ने उदेश्यले उक्त आयोजनाको शिलान्यास गरिएको उल्लेख गरे । 'देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो सर्वोच्च प्राथमिकता र दीर्घकालीन नीतिगत प्रतिबद्धता हो,' उनले भने, 'यही राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउँदै हामी अहिले गाउँ–सहर, हिमाल–पहाड–तराईसम्मका सबै बस्तीमा खानेपानी तथा सरसफाइका पूर्वाधार निर्माणमा नयाँ गति, पारदर्शिता र गुणस्तर थपिरहेका छौँ ।' सुरक्षित खानेपानी सबै नागरिकका लागि मौलिक अधिकार मात्रै होइन, समृद्धि र सामाजिक न्यायको आधार पनि हो भन्ने दृष्टिकोणले सरकारले यस क्षेत्रमा दीर्घकालीन नीतिगत सुधार र पूर्वाधार विस्तारमा विशेष जोड दिइरहेको समेत मन्त्री यादवले जानकारी दिए । उक्त आयोजनालाई सफल बनाउनका लागि नेपाल सरकार, लम्कीचुहा नगरपालिका र खानेपानी उपभोक्ता समितिको त्रिपक्षीय सहकार्य अपरिहार्य रहेको तथा तोकिएको समयमै आयोजना सफल पार्न समेत मन्त्री यादवले सबैमा आग्रह गरे । उनले भने, 'आयोजनाले लम्कीचुहाका बासिन्दाहरूको जीवनमा सुख, समृद्धि र स्वस्थता ल्याओस् भन्ने कामना गर्दै हामी सबै मिलेर ‘स्वच्छ पानी, स्वस्थ जीवन’ को अभियानलाई सार्थक बनाऔँ ।' लम्कीचुहा नगरपालिकाका नगरप्रमुख शुसिला शाहीले लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण सम्पन्न भएपछि खानेपानी समस्याबाट पीडित यहाँका नागरिकलाई निकै राहत हुने भन्दै खुशी सहित धन्यवाद व्यक्त गरे । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण सम्पन्न भएपछि लम्कीचुहा नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ का कम्तिमा पनि ७४ हजार ५०० नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए । उनका अनुसार यस आयोजनामा नेपाल सरकारको ७० प्रतिशत, खानेपानी उपभोक्ता समितिको २५ प्रतिशत र लम्कीचुहा नगरपालिकाको ५ प्रतिशत लागत साझेदारी रहेको छ । लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना प्याकेज दुई निर्माण गर्न यही असार २३ गते निर्माण व्यवसायी सुप्रिम जयमाता जेभी र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयबीच ठेक्का सम्झौता भई सोही दिन आयोजना कार्यालयले तोकिएको मिति भित्रै निर्माण सम्पन्न गर्न कार्यादेश दिईएको आयोजना प्रमुख अरुणकुमार कर्णले जानकारी दिए । उनका अनुसार मूल्य अभिवृद्धि कर सहित कुल २९ करोड ४८ लाख ३२ हजार ४९९ रुपैयाँमा भएको ठेक्का सम्झौता अनुसार आउँदो २०८५ साल असार २५ गते भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । शिलान्यास कार्यक्रममा खानेपानी मन्त्रालया सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई कमलराज श्रेष्ठ, लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीहरु, निर्माण व्यवसायी एवं अन्य उपभोक्ताहरुको पनि सहभागिता थियो ।