बागलुङमा ७ करोडमा बन्यो पुल, किसानलाई बजार पुग्न सहज

ढोरपाटन । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठे र ९ को मालारानी जोड्ने गरी मोटरेवल पुल निर्माण भएको छ ।  पाँच वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्युठान र गुल्मी आउजाउ गर्न सहज भएको छ । विसं २०७७ कात्तिक २७ गते सडक डिभिजन कार्यालयले सात करोड ६६ लाख रुपैयाँमा निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७९ फागुनमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएकामा तीन वर्षपछि मात्र निर्माण सम्पन्न भएको हो । पर्याप्त बजेट प्राप्त नहुँदा समयमै काम सम्पन्न नभएको सडक डिभिजन कार्यालयका  सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले राससलाई जानकारी दिए । नवनिर्मित पुल मालारानीबाट राजकुट–हर्पे–देवीस्थान रोल्पा–रुकुम–जाजरकोट आवागमन सहज भएको छ ।   स्थानीय प्रेमबहादुर केसीले बडिगाडखोलामा पुल बनेपछि गाउँमा उत्पादन बजारीकरण गर्न सहज भएको बताए । गाउँमा धेरै किसानले फलफूल र सागसब्जी उत्पादन गरे पनि अब डोकोमा बोकेर बजार पुर्याउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । रासस

२३ वर्षपछि निर्माण सम्पन्न नेपालगञ्ज-बघौडा सडक, अब सहज छ नरैनापुर यात्रा

राँझा । बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ । हुलाकी सडक निर्माणसँगै अहिले नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगञ्ज पुग्न सकिने नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानले बताए । ‘हुलाकी सडक निर्माण नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ’, खानले भने, ‘हुलाकी सडक नरैनापुरवासीको लाइफलाइन बनेको छ ।’ हुलाकी सडक निर्माण भएपछि अहिले नेपालगञ्जबाट नरैनापुरको सीमावर्ती क्षेत्र सुईया बघौडासम्म दैनिक रूपमा चार वटासम्म सार्वजनिक यात्रुवाहक बस सञ्चालन हुने गरेका छन् । हुलाकी सडक निर्माणपछि नरैनापुरवासीको स्वास्थ्य र शिक्षामा सहज पहुँच पुगेको नरैनापुर–६ का अगुवा सोहनलाल यादवको भनाइ छ । ‘पहिला बिरामीलाई अस्पताल पुर्‍याउन धेरै कठिन हुने गथ्र्यो, अहिले गाउँघरमै एम्बुलेन्स पुग्ने भएकाले बिरामीलाई सजिलै नेपालगञ्जका अस्पतालमा लैजान सकिन्छ’, यादवले भने, ‘नरैनापुरमा अहिलेसम्म उच्च शिक्षा अध्ययनको लागि क्याम्पस छैनन्, हुलाकी सडक बनेपछि विद्यार्थीलाई नेपालगञ्ज पढ्न जान आउन धेरै सजिलो भएको छ ।’ विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको यादवले बताए । हुलाकी सडकदेखि भित्री गाउँसम्म पुग्ने सडक निर्माणमा अब गाउँपालिकाले ध्यान दिनुपर्ने उनको भनाइ छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले हुलाकी सडक निर्माण भएसँगै नरैनापुरवासीको जीवनयापनमा आमूल परिवर्तन आएको बताए । उनले गाउँपालिकाका छ वटै वडाका गाउँबस्तीसम्म पुग्ने सडक निर्माणलाई आफूले प्राथमिकता दिएको उल्लेख गरे । बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा सुरू भएको दुईदशक बढी समयपछि निर्माण सम्पन्न भएको हो । करिब २३ वर्ष अघिदेखि सडक निर्माण सुरू भए पनि पटकपटकको अवरोध र अनिश्चितताका बीच नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको बाँके क्षेत्र नं १ का संघीय सांसद सूर्य ढकालले बताए । हुलाकी सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र चासो देखाएको बताउँदै उनले हुलाकी सडक निर्माणले यहाँका नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरे । रासस

१३२ केभी प्रसारण लाइनमार्फत सेतीनदीको बिजुली राष्ट्रिय ग्रिडमा, वार्षिक आम्दानी ८७ करोडको अनुमान

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको  सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ । विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट एक हजार ५०० सयभन्दा बढि संस्थापक लगानीकर्ता यस आयोजनाका मालिक भएको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिए । विसं २०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माणकार्य सम्पन्न भई मिति २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न सुरु गरेको छ । आयोजना सञ्चालनमा आएपछि हालसम्म हरेक महिना विद्युत् खरिद सम्झौतामा तोकिएभन्दा राम्रो ऊर्जा उत्पादन भइरहेको आयोजनाले जनाएको छ । सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सवस्टेसनसम्म १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । झण्डै रु छ अर्ब लगानी रहेको यस आयोजनाबाट उत्पादित बिजुलीबाट सुरुको वर्षमा वार्षिक रू ८७ करोड आम्दानी गर्नेछ । आयोजनामा एनएमबि बैङ्कको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैङ्कको ऋण लगानी रहको छ । आयोजनाका लागि बैङ्ककातर्फबाट तत्कालिन अवस्थामा अनुमानीत कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापक लगानीकर्ताको स्वपूजी लगानी रहेको छ । कम्पनीले आज यहाँ एक उद्घाटन समारोहको आयोजना गरेको थियो । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायतले ऊर्जा उत्पादनमा भिजन लुम्बिनीले स्थापना गरेको मानक उदाहरणीय रहेको बताए । रासस