हिउँ नपग्लिँदा लमजुङका जलविद्युत् आयोजनाको उत्पादन बढ्न सकेन

लमजुङ । बर्खा सुरु हुन लाग्दा पनि लमजुङमा विद्युत् उत्पादन वृद्धि हुन सकेको छैन । हिउँ नपग्लिनु, मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायत खोलामा पर्याप्त पानी नहुँदा गत मङ्सिरदेखि घटेको विद्युत् उत्पादन वृद्धि हुन नसकेको हो ।  जिल्लामा उत्पादन थालेको सबैभन्दा ठूलो लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनामा गत मङ्सिरको सुरुआतदेखि उत्पादन घटेर २४ मेगावाटमा सीमित भएको थियो ।  अहिले केहीमात्रामा बढेर ३२ मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन थालेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले बताए । उनका अनुसार गत वर्ष यो समयमा ४०-५० मेगावाट विजुली उत्पादन हुने गरेको थियो । उनले भने, 'विगतका वर्षमाभन्दा यस वर्ष ढिलो विद्युत् उत्पादन वृद्धि हुने अवस्था छ । हिउँ नपग्लिनु, नदीमा पानी नहुनुलगायत कारणले आयोजनालाई आवश्यक पानी नहुँदा विद्युत् उत्पदान पुरानो अवस्थामा फर्किन ढिलाइ भइरहेको छ । मध्यमर्स्याङ्दी आयोजना सन् २००८ मा निर्माण सम्पन्न भएको हो ।' उक्त आयोजना रु २७ अर्ब २० करोडको लागतमा निर्माण सम्पन्न भएको थियो । जिल्लामा पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन बढ्न सकेको छैन । यस आयोजनाबाट हाल १४ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको आयोजना कार्यालयले जनाएको छ ।  त्यस्तै, मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्बाट अहिले ३०-३२ मेगावाटको हाराहारीमा मात्र विद्युत् उत्पादन भइरहेको आयोजनाका इञ्जिनियर कर्ण अधिकारीले जानकारी दिए । उनले भने, 'यस वर्ष विद्युत् उत्पादन घट्दा २५ मेगावाटको एउटा टरर्वाइन मात्र चलाएका थियौँ, अहिले दुई वटा चलाएका छौँ, तर नदीमा पर्याप्त पानी नभएकाले पूरै क्षमतामा चल्न सकेको छैन ।'  त्यस्तै, ३० मेगावाटको ङादी जलविद्युत् आयोजना, दोर्दी करिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली पूरै क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।  जिल्लामा १७ आयोजनाबाट करिब तीन सय मेगावाट बिजुली उत्पादन हुने गरेकामा नदीमा पर्याप्त पानी नहुँदा सो हाराहारीमा बिजुली उत्पादन हुन नसकेको हो । रासस

नेप्टेचौर–पात्लेखेत सडक १५ वर्षपछि स्तरोन्नति, अप्ठ्यारो यात्रा सहज बन्दै

म्याग्दी । बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नं १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ ।  बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको वैकल्पिक छोटो दूरीको २०६७/६८ सालमा ट्रयाक खुलेको यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बेनी–पाखापानी म्याग्दीको प्राथमिकताप्राप्त र रणनीतिक महत्वको सडक योजना हो ।  चालु आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाले सञ्चालन गरेको बेनी–अर्थुङ्गे– तोरीपानी–पाखापानी सडक योजनामार्फत प्रवेशविन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्यावियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति भएको हो ।  सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको बेनी नगरपालिका–९ काउराका विनोद चोखालले बताए । 'नेप्टेचौरबाट तोरीपानी–ओखले–पात्लेखेत हुदै झिँ जोड्ने मूलसडक घुमाउँरो भएपछि १५ वर्षअघि छोटो दूरीको वैकल्पिक सडक निर्माण भए पनि प्राथमिकतामा परेको थिएन', उनले भने, 'स्तरोन्नति भएको ठाउँमा यसअघि साँघुरो सडक थियो । ग्रेड तथा घुम्ती मिलेको थिएन ।' ढलान गरेपछि सडकमा यात्रा गर्न सहज भएको चोखालले बताए । बेनी नगरपालिकाको प्राविधिक शाखाका प्राविधिक मिलन केसीका अनुसार विभिन्न ठाउँमा नौ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल, नाली निर्माण र ढलान भएको छ ।  तीन करोड रुपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयन गर्न २०८१ पुस १९ गते दुई करोड नौ लाख रुपैयाँमा विकेश–दुप्चेश्वर–शुभम् जेभीले ठेक्का सम्झौता गरेको थियो । २०८२ असार २५ गतेसम्म ठेक्काको म्याद भएको योजना तीन महिनाअघि नै सम्पन्न भएको हो ।  निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरेको बताए । बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्यवृद्धि, सामाजिकलगायत समस्या देखाएर धेरै आयोजनामा ढिलासुस्ती भइरहेको छ ।  पहिलो चरणको ठेक्काबाट बचेको २० लाख रुपैयाँ बजेट बराबरको थप काम गर्न अर्को ठेक्का लगाएर काम थालिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । आव २०८१र८२ मा बेनी नगरपालिकाले सबैभन्दा धेरै बजेट यही योजनामा विनियोजन गरेको थियो ।  बेनी–पाखापानी सडकको बेनीबाट अर्थुङ्गे हुँदै किराखोरसम्म नगरपालिकामार्फत करिब छ किलोमिटर ढलान र कालोपत्र भएको छ । किराखोरबाट नेप्टचौर हुँदै तोरीपानीको गलेश्वर माविसम्मको चार किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको बजेटमा पूर्वाधार विकासका कार्यालयले गत वर्षदेखि आयोजना सञ्चालन गरेको छ । प्रदेश सरकारले मुख्य सडक स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेकाले नगरपालिकाले वैकल्पिक सडक स्तरोन्नतिको काम थालेको नगरप्रमुख सुरत केसीले बताए । रासस  

जडीबुटी-पेप्सीकोला सडकका दायाँबायाँका संरचना हटाउन सडक विभाग र काठमाडौं महानगरको ‘अल्टिमेटम’

काठमाडौं । सडक विभाग र काठमाडौं महानगरपालिकाले जडिबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५/१५ मिटरभित्रका अनधिकृत संरचना हटाउन ३५ दिनको अल्टिमेटम जारी गरेका छन् । सोमबार प्रकाशित संयुक्त सूचनामा नक्सा पासबिना वा नक्सा पास विपरीत निर्माण गरिएका संरचनाहरू सम्बन्धित व्यक्तिले आफैं भत्काउन वा हटाउन निर्देशन दिइएको छ । सूचनाअनुसार भौतिक योजना तथा निर्माण मन्त्रालयद्वारा २०५८ मंसिर १८ गते राजपत्रमा प्रकाशित सूचनाले जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५/१५ मिटर सडकको सीमा कायम गरेको छ । यही वैशाख १० गते नेपाल सरकार र स्थानीय सरकारका निकायले संयुक्त रूपमा सीमाङ्कन चिनो लगाएका थिए ।  तोकिएको ३५ दिनभित्र संरचना नहटाए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९, स्थानीय सरकार सञ्चालन ऐन र भवन निर्माणसम्बन्धी मापदण्डअनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।