४६ अर्ब डलरको योजना : नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई कार्कीको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणशे कार्कीले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन् । फ्रान्सको राजधानी पेरिसमा आयोजित फ्रान्स-नेपाल जलविद्युत् लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढीरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युतको महत्वपूर्ण भूमिका रहने हुनाले बजारको चिन्ता नगरी नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । सन १९९९ अघि नेपालको कुल विद्युत उत्पादन क्षमता २५० मेगावाट रहेकोमा निजी क्षेत्र प्रवेश गरेको २५ वर्षमै आज नेपालले ३,५०० मेगावाट विद्युत उत्पादन क्षमता पुर्‍याएको छ । यसमा निजी क्षेत्रको योगदान ८० प्रतिशत अर्थात २८०० मेगावाट पुगेको कार्कीले जानकारी गराए । नेपालले प्राप्त गरेको यस उपलब्धीमा फ्रान्सको पनि साथ र सहयोग रहेको स्मरण गराउँदै कार्कीले द्विपक्षीय सम्बन्ध, वित्तीय उपकरण, प्राविधिक सहयोग र संस्थागत विकासमा नेपाल र फ्रान्सले सहयकार्य गरिरहेको पनि बताएका थिए । यस्ता साझेदारीले दिगो, समावेशी र जलवायु प्रतिरोधी ऊर्जा विकासप्रति नेपाल र फ्रान्सको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरिरहेको उनको भनाई थियो । त्रिशूली नदीमा निर्माणाधिन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा  फ्रान्सले वित्तीय सहयोग गरेको कार्कीले स्मरण गराएका थिए ।  यस परियोजनाको लागि फ्रान्सले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर ४५३ मिलियन अमेरिकी डलरको ऋण उपलब्ध गराएको थियो । यो परियोजनाबाट नेपालको विद्युत आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ । त्यस्तै सन् २०२५ मा फ्रेन्च दूतावास, नेपाल विद्युत प्राधिकरण, र ब्लू वाटर इन्टेलिजेन्स बीचको सहकार्यमा सुरु गरिएको हाइड्रोनेपाल परियोजनाले कृत्रिम बुद्धिमत्तामा आधारित उपकरणहरू प्रयोग गरी नदी बेसिनहरूलाई डिजिटल बनाउने र जलवायुगत पूर्वानुमान क्षमतामा सुधार ल्याउने कार्यमा सहयोग पुर्‍याइरहेको पनि कार्कीले बताए । सार्वजनिक-निजी सहकार्य अन्तर्गत सुरु भएको हाइड्रो नेपाल जस्तै मोडेलमा कार्बन ट्रेड, सीमापार व्यापार, र अनुसन्धान जस्ता क्षेत्रहरूमा पनि काम गर्न सकिने उनको भनाई थियो । नेपालमा व्यवसायदेखि व्यवसाय र सार्वजनिक-निजी साझेदारी दुबै मोडलमा काम गर्नको लागि अपार सम्भावना छ । यस्ता  साझेदारीहरूमार्फत प्रविधि स्थानान्तरण, परामर्श, परियोजना विकास, हरित वित्तपोषण र नवप्रवर्तनको क्षेत्रमा पनि काम गर्न सकिन्छ ।  जलविद्युत उपकरण, स्मार्ट ग्रिड प्रणाली, र इन्जिनियरिङ सेवामा विशेषज्ञता राख्ने फ्रेन्च कम्पनीहरू नेपालको बढ्दो ऊर्जा बजारसँग सहकार्य गर्दा उपयुक्त हुने कार्कीले बताए । यस्ता साझेदारीहरूले रोजगारी सिर्जना, आर्थिक वृद्धि, र अत्याधुनिक प्रविधिको हस्तान्तरणमा पनि मद्दत पुग्ने विश्वास गरिएको छ । सन् २०३५ सम्ममा २८,५०० मेगावाट ऊर्जा उत्पादन पुर्‍याउने सरकारी लक्ष्यलाई ध्यानमा राख्दै, नेपालले ठूला परिमाणमा प्रत्यक्ष विदेशी लगानीलाई स्वागत गर्ने तयारी गरिरहेको पनि कार्कीको भनाई थियो । सो लक्ष्य अनुसार, १५,००० मेगावाट भारतमा निर्यात गरिनेछ भने बाँकी १३,५०० मेगावाट स्वदेशमै उपयोग गरिनेछ। यो महत्वाकांक्षी योजना अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि बीमा, बैंकिङ, निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विभिन्न क्षेत्रहरूमा अवसरको रुपमा आएको कार्कीले बताए । करीब ४६ अर्ब अमेरिकी डलर अनुमानित लगानीसहित विस्तार भइरहेको यो योजनामा अन्वेषण गर्न चाहने अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि अपार सम्भावनाहरू बोकेको यस योजनालाई लिएर नेपालमा थप सहकार्य र लगानी प्रवर्द्धन गर्नका लागि इप्पानले सहजीकरण गर्ने पनि कार्कीले विश्वास दिलाए । यो दृष्टिकोणले ऊर्जा व्यापार र संयुक्त लगानीको विकास, विद्यमान जलविद्युत् आयोजना‌हरूमा इक्विटी लगानीको प्रवर्द्धन, जलविद्युत् आयोजनाहरूको लागि ऋण लगानी, जलविद्युत् विकासको विशेषज्ञता प्रयोग, नविकरणीय ऊर्जा प्रविधिहरू विस्तार, सरोकारवाला पक्षहरूमा ज्ञान स्थानान्तरण, क्षमता विकास तथा तालिम, संयुक्त अनुसन्धान र विकास, ठूला जलविद्युत् आयोजनाहरूको वित्तीय व्यवस्था, नीति समर्थन तथा संस्थागत सुदृढीकरण, व्यापारिक अवसर सिर्जना, जलविद्युत् उपकरण र इन्जिनियरिङ सेवा आपूर्ति, स्मार्ट ग्रिड र प्रसारण प्रणालीको आधुनिकीकरण, जलविज्ञान सम्बन्धी पूर्वानुमान र जलविद्युत् सञ्चालनको डिजिटलिकरण, परामर्श र परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने, कार्बन व्यापार सुरु गर्ने, ऊर्जा व्यापार र क्षेत्रीय एकीकरणलाई सहज बनाउने आदि थुप्रै अवसरहरूको ढोका खोल्ने कार्कीको भनाई थियो । अन्तर्राष्ट्रिय लगानीकर्ता र निजी क्षेत्रको सहयोगमा नेपालले आफ्ना ऊर्जा लक्ष्यहरू प्राप्त गर्ने दिशामा लगातार प्रगति गर्ने पनि कार्कीले उल्लेख गरेका थिए । आगामी असोज १ र २ गते आयोजना हुन गइरहेको पावर समिट २०२५ मा सहभागी भई नेपाललाई क्षेत्रीय बजारमा ऊर्जा आपूर्ति गर्ने मुलुककको रुपमा स्थापित गर्ने दिशामा साथ र सहयोग गर्न पनि कार्कीले आग्रह गरेका थिए ।  

इन्भेष्टमेन्ट कम्पनीमा दैवी प्रकोप

काठमाडौं । पुँजी बजारमा विभिन्न ७ वटा लगानी (इन्भेष्टमेन्ट) कम्पनी सूचीकृत भइ कारोबारमा छन् । सीईडीबी होल्डिङ्ग्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, इमर्जीङ नेपाल, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल), नागरिक लगानी कोष (सीआईटी), हाथवेय इन्भेष्टमेन्ट नेपाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित पुँजी बजारमा सूचीकृत भइरहेका छन् । लाखौं लगानीकर्ताले कारोबार गर्ने पुँजी बजारमा यी कम्पनीको वित्तीय अवस्था कस्तो रहेको छ भनेर चासोका साथ हेरिरहेका हुन्छन् । सोही बमोजिम लगानी समूहका कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण पनि सार्वजनिक गरिसकेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार सिईडिबि होल्डिङ्ग्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सीआईटीको नाफा बढेको छ भने अन्य ४ कम्पनीको नाफामा गिरावट आएको छ ।  सीईडीबी होल्डिङ्ग्स सीईडीबी होल्डिङग्सको खुद नाफा ३२७ प्रतिशत बढेर ३५ करोड ३० लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चैत मसान्तसम्ममा कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी २५३.६४ प्रतिशत बढेर ३८ करोड ९ लाख ५३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ७७ लाख २२ हजार रुपैयाँ सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी गरेको थियो ।  यस अवधिमा कम्पनीको प्रशासनिक खर्च १८.२९ प्रतिशत बढेर १ करोड ७० लाख रुपैयाँ, ब्याज खर्च ७२९४.२८ प्रतिशत बढेर २५ लाख ८८ हजार रुपैयाँ र कुल खर्च ३३.५५ प्रतिशत बढेर १ करोड ९८ लाख रुपैयाँ गरेको छ ।  १ अर्ब ३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष तथा सञ्चित नाफा ७४ करोड ३९ लाख रुपैयाँ रहेको छ । कम्पनीका अनुसार लगानीयोग्य रकम हाललाई मुद्दती खातामा राखिएकाले नगद मौज्दात तथा तरलता बढेको छ । कम्पनीले लगानी गरेको जलविद्युत आयोजनाहरूले विद्युत उत्पादन गरी राष्ट्रिय विद्युत प्रसारणमा विद्युत प्रवाह गर्दै आएको र ४५ मेगावटको कसुवा खोला आयोजना निर्माणको क्रममा रहेको कम्पनीले जनाएको छ । आगामी तीन वर्षमा उक्त आयोजना निर्माण कार्य सम्पन्न हुने प्रक्षेपण रहेको कम्पनीले जनाएको छ ।  नाफा र नगद प्रवाहमा प्रतिकूल असर पार्ने खालको घटना नदेखिए पनि मानवीय नियन्त्रणभन्दा बाहिरको दैवी प्रकोपको असर भने कायम रहेको कम्पनीको भनाइ छ ।  एनआरएन इन्फ्रास्ट्रक्चर  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको खुद नाफा २३.९४ प्रतिशत बढेर ६ करोड ९१ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चैत मसान्तसम्मा कम्पनीको लाभांश आम्दानी ४३.४८ प्रतिशत घटेर २७ लाख ६४ हजार रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले ४८ लाख ९० हजार रुपैयाँ लाभांश आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले लगानीको बिक्रीबाट आम्दानी ४ करोड ७ लाख ९ हजार रुपैयाँ, वित्तीय आम्दानी १ करोड ५१ लाख रुपैयाँ, अन्य आम्दानी १ लाख ६२ हजार रुपैयाँ र कुल आम्दानी १० करोड ३८ लाख रुपैयाँ गरेको छ ।  कम्पनीको कर्मचारी खर्च ९३ प्रतिशत बढेर ८२ लाख ५५ हजार रुपैयाँ, प्रशासन खर्च ७३.७७ प्रतिशत बढेर ५० लाख ३६ हजार रुपैयाँ, वित्तीय खर्च १७१९ प्रतिशत बढेर ३४ लाख ३ हजार रुपैयाँ र कुल खर्च १३९.४० प्रतिशत बढेर १ करोड ८७ लाख रुपैयाँ गरेको छ ।  १ अर्ब २८ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा १२ करोड ३ लाख रुपैयाँ र जगेडा कोष ७९ करोड ४३ लाख रुपैयाँ रहेको छ । साथै कम्पनीको प्रतिसेयर आम्दानी ७.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७१.२२ र मूल्य आम्दानी अनुपात २४५.५३ गुणा रहेको छ ।  कम्पनीले आफ्नो लक्ष्य अनुरूप लगानी छनौट गर्दै आइरहेको, उपयुक्त लगानी छनौट गरेर, प्रतिफल सुनिश्चित गर्दै विविध क्षेत्रहरूमा लगानी थप व्यवस्थित गर्दै आएको कम्पनीले जनाएको छ ।  वर्तमान अवस्थामा, बजार ब्याजदरको उतार-चढाव एवं अन्य विविध कारण कम्पनीलाई असर परिरहेको भएपनि कुशल कार्यनीतिका साथ जोखिम व्यवस्थापन गर्दै आएको कम्पनीको भनाइ छ । साथै, कम्पनीले लगानी गरेका परियोजना कम्पनीहरूबाट प्रवर्द्धित पाँच वटा जलविद्युत आयोजनाहरू मध्ये चार वटा जलविद्युत आयोजनाहरू सञ्चालनमा आइसकेका छन् । बाँकी एउटा आयोजना निर्माण प्रकृयाको अन्तिम चरणमा रहेको छ । मुलुकको राजनीतिक अस्थिरता तथा समग्र आर्थिक क्षेत्रमा परेको असरले लगानी बजारलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । सुरक्षित एवं नयाँ लगानीको क्षेत्रको पहिचान गरी त्यसलाई अवसरको रुपमा रुपान्तरण गर्नु र दीर्घकालिन लगानीबाट प्रतिफल सुनिश्चित गर्नु आजको चुनौती रहेको कम्पनीले जनाएको छ ।  इमर्जिङ नेपाल इमर्जिङ नेपालको खुद नाफा ४३.८४ प्रतिशत घटेर ८६ लाख १४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चैत मसान्तसम्मा सञ्चालन आम्दानी ३४.८६ प्रतिशत घटेर १ करोड ४ लाख ११ हजार रुपैयाँ, अन्य आम्दानी ५६.३५ प्रतिशत घटेर ४१ लाख ८ हजार रुपैयाँ र अन्य स्रोतबाट भएको आम्दानी ५६.३५ प्रतिशत घटेर ४१ लाख ८ हजार रुपैयाँ गरेको छ ।  ५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.३४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५८३.३६ गुणा रहेको छ ।  कम्पनीले निजी–सार्वजनिक साझेदारी अन्तर्गत लगानीका नयाँ क्षेत्रका सम्बन्धमा छलफल तथा अध्ययनको कार्य अगाडि बढाएकोमा यस त्रैमासमा प्रभु हेलिकप्टरमा लगानी गरेको जनाएको छ । कम्पनीको लगानी रहेको २ वटा प्रवर्धित जलविद्युत आयोजनामध्ये एक आयोजना संचालनमा आइसकेको र अर्को आयोजना निर्माणाधीन रहेको कम्पनीले जनाएको छ ।  लगानी गरिएको होटल एलिस द वण्डर इनमा अपेक्षा गरे अनुरूप व्यवसाय नहुनु र पर्यटक आवागमनमा कमी हुनु, लगानी गरिएको इमर्जिङ भेन्चरले धितोपत्र बोर्डबाट आशय पत्र र स्वीकृति प्राप्त गर्न बाँकी रहनु, धितोपत्र बोर्डबाट कम्पनीलाई लगानीका लागि सीमित क्षेत्र मात्र तोकिनु, बजारको तरलता स्थितिले गर्दा मुद्दती निक्षेपमा कम प्रतिफल प्राप्त हुनु र कम्पनीले गरेका केही लगानीबाट तुरुन्तै प्रतिफल प्राप्त हुनु नसक्नु चुनौती रहेको कम्पनीले जनाएको छ ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल)को खुद नाफा ३३.१५ प्रतिशत घटेर ७२ करोड ८९ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९ रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीको ग्राहक आम्दानी २८.५३ प्रतिशत बढेर १ करोड ६१ लाख रुपैयाँ, लाभांश आम्दानी ५०.१२ प्रतिशत बढेर १ करोड ६१ लाख रुपैयाँ, वित्तीय आम्दानी ३३.१२ प्रतिशत घटेर १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ र अन्य आम्दानी ८१.६५ प्रतिशत घटेर ३४ लाख २९ हजार रुपैयाँ गरेको छ ।  यस्तै, कम्पनीको कर्मचारी खर्च २६.०६ प्रतिशत घटेर ३ करोड ८ लाख रुपैयाँ, प्रशासन खर्च २७.७६ प्रतिशत घटेर १ करोड ४२ लाख रुपैयाँ र वित्तीय खर्च ४७ लाख रुपैयाँ गरेको छ । २४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ६२ करोड ९० लाख रुपैयाँ सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २.४३ रुपैयाँ घटेर ३.९६ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.७८ रुपैयाँ ७८ छ भने मूल्य आम्दानी अनुपात ७२.८२ गुणा रहेको छ । कम्पनीबाट हालसम्म ४४ वटा आयोजनामा ५९ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत भएकोमा १४ अर्ब ४ करोड रुपैयाँ प्रवाह भई ४५ अर्ब ८० करोड रुपैयाँ प्रवाह हुन बाँकी रहेको छ । स्वीकृत लगानीको रकम अपेक्षा अनुसार समयमा प्रवाह हुन नसक्दा बैंक मौज्दातमा वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीबाट जलविद्युत परियोजनामा प्रवाह भएको कर्जामध्ये समीक्षा अवधिको अन्त्यसम्ममा ६ अर्ब ९७ करोड रुपैयाँ कर्जा बाँकी रहेको छ । सञ्चालनमा आएका आयोजनाहरुबाट कर्जा भुक्तानी तालिका अनुरूप नियमित रुपमा कर्जा असुली भइरहेको छ । चैत्र मसान्तसम्ममा बजार मूल्य अनुसार स्वपुँजी लगानी अन्तर्गत सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत तथा नवीकरणीय ऊर्जासम्बन्धी परियोजना तथा कम्पनीहरूमा ४ अर्ब ५० करोड रुपैयाँ (लागत मूल्य अनुसार  ३ अर्ब ४३ करोड रुपैयाँ) स्वपुँजी लगानी भएको छ ।  कम्पनीले आफ्नो सहायक कम्पनीमार्फत अघि बढाएको घुन्सा खोला र सिम्बुवा खोला जलविद्युत आयोजनाको सेयर संरचनामा नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेड समेतलाई सहभागी गराई सेयर संरचना परिवर्तन गरिएको छ । घुन्सा खोला जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता र वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भइसकेको छ । सिम्बुवा खोला जलविद्युत आयोजनाको निर्माण पूर्वका अन्य कार्यहरू सम्पन्न भइ विद्युत खरिद विक्री सम्झौता र वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेका छन् । यस अवधिमा बैंकको ब्याजदरमा व्यापक गिरावट आई कम्पनीबाट भएको लगानीको प्रतिफलमा नकारात्मक असर पर्न गएका कारण नाफा घट्न गएको कम्पनीले जनाएको छ ।  अन्य वैकल्पिक वित्तीय साधनबाट वित्तीय स्रोत परिचालन गरी लगानी अभिवृद्धि गर्ने कार्य चुनौतीपूर्ण रहेको छ । कम्पनी जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्ने विशिष्टिकृत संस्था भएकोले लगानी विस्तार हुँदै जाँदा स्वभाविक रूपले जोखिम व्यवस्थापनमा बढी सजग र सतर्क हुनुपर्ने आवश्यकता देखिएको छ । कम्पनीको व्यवसायको वृद्धि सँगसँगै संस्थागत सुदृढीकरण र क्षमता विकास गर्दै लैजानु पर्ने आवश्यकता रहेको छ । नागरिक लगानी कोष  नागरिक लगानी कोष (सीआईटी) को चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १.८७ प्रतिशत बढेर ८९ करोड ९० लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कोषले ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको ब्याज आम्दानी ३२.०२ प्रतिशत घटेर २४ करोड १ लाख ९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।  यस्तै, कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १५.०६ प्रतिशत बढेर १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड १७ लाख रुपैयाँ सेवा शुल्क तथा कमिशन आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८.२३ प्रतिशत बढेर १ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ र कुल खर्च ३९.३६ प्रतिशत बढेर ३२ करोड ८८ लाख रुपैयाँ गरेको छ । ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँ सञ्चित छ ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.६५ रुपैयाँ घटेर १८.४९ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०५.१४ गुणा रहेको छ । कोषले दीर्घकालीन प्रकृतिको कोष सङ्कलन गर्ने भएको र सहभागीहरूको मासिक सङ्कलन रकमबाट दैनिक भुक्तानी दिने कार्य गर्ने भएको हुँदा तरलता व्यवस्थापनमा सहजता छ । मुख्य आम्दानीका रूपमा कोषले सञ्चालन गरेका योजनाहरूबाट प्राप्त सेवा शुल्क, ब्याज आम्दानी तथा नगद लाभांश रहेको छ । कोषले बन्दमुखी सामूहिक कोष योजना सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कोषको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक असर पर्ने अवस्था रहेको छैन । कोषले प्रयोगमा ल्याई रहेको सफ्टवेयरलाई सबै कारोबार र अन्य निकायहरूले प्रयोगमा ल्याइरहेको सफ्टवेयरसँग एकीकरण हुने गरी मिल्दो बनाउने, पुरानो हिसाब मिलान कार्य सम्पन्न गर्ने, सहभागीहरूलाई दिइने प्रतिफल दरलाई उच्च बनाई राख्ने आन्तरिक चुनौती तथा समस्याहरू कोषसँग रहेका छन् ।  त्यसैगरी पुँजीबजार तर्फको कारोबारमा प्रतिस्पर्धा, नेपाल वायु सेवा निगमलाई प्रवाह भएको कर्जा नियमित रूपमा असुली नभएको, कोषमा आबद्ध संस्था र सहभागीहरूलाई सामाजिक सुरक्षा कोषमा जानुपर्ने अवस्था सिर्जना गरिनु तथा योगदानमा आधारित पेन्सन कार्यक्रम अन्य संस्थाबाट सञ्चालन गर्ने व्यवस्थाले कोषको कारोबारमा परेको असर जस्ता बाह्य चुनौतीहरू रहेका छन् । यी चुनौतीहरू समाधानका लागि कोषले आफ्नो प्रयोगमा रहेको सफ्टवेयरलाई नियमित रूपमा अद्यावधिक गरी सबै कार्यक्रममा लागू गर्ने, कोषका सेवाहरूलाई डिजिटलाइज गर्ने, बैंक रिकन्सिलियसन कार्यलाई चुस्तदुरुस्त बनाउने, सहभागीहरूलाई आकर्षक प्रतिफल दिने गरी सुरक्षित लगानीमा केन्द्रित हुने रणनीति कोषले लिएको छ । हाथवे इन्भेष्टमेन्ट  हाथवे इन्भेष्टेमन्ट नेपालको खुद नाफा ४७.६७ प्रतिशत घटेर ३ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतसम्ममा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५७.२४ प्रतिशत घटेर १० करोड रुपैयाँ, अन्य आम्दानी ३८७ प्रतिशत बढेर २० लाख ९९ हजार रुपैयाँ र कुल आम्दानी ५६.४१ प्रतिशत घटेर १० करोड २१ लाख रुपैयाँमा झरेको छ ।  यस्तै, कम्पनीको कर्मचारी खर्च १२.२३ प्रतिशत बढेर ६४ लाख ११ हजार रुपैयाँ, प्रशासन खर्च ३९.४६ प्रतिशत घटेर ६३ लाख ५ हजार रुपैयाँ, वित्तीय खर्च १६ प्रतिशत घटेर ३ करोड १ लाख रुपैयाँ र कुल खर्च ४४.१७ प्रतिशत घटेर ५ करोड ८३ लाख रुपैयाँ गरेको छ ।  १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा २८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने फेर भ्यालु रिजर्व ५१ करोड ५७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.८५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७८.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७४०.२६ गुणा रहेको छ । सहायक कम्पनी हाथवे स्टक डिलर लिमिटेडमा चुक्ता पुँजीको ९० प्रतिशत लगानी गरेको छ । यस कम्पनीले सहायक कम्पनी हाथवे स्टक डिलर लिमिटेडसँग घर भाडा बापत मासिक ५५ हजार रुपैयाँ लिने गरेको छ । यस कम्पनीले सहायक कम्पनी हाथवे स्टक डिलर लिमिटेडलाई अल्पकालीन लगानीको लागि २५ करोड १२ लाख ९७ हजार ४ सय १८ रुपैयाँ अग्रिम रकम भुक्तानी गरेको छ । चैतसम्ममा कम्पनीले ९.४० करोड रुपैयाँ बराबरको थप दीर्घकालिन लगानी गरेको र कम्पनीको मौज्दात, आम्दानी र तरलता सन्तोषजनक रहेको छ ।  कम्पनीले आफ्नो लक्ष्य अनुरूप उपयुक्त लगानी छनोट गरेर प्रतिफल सुनिश्चित गर्दै विविध क्षेत्रहरूमा लगानी गर्दै जाने क्रममा कम्पनी अघि बढिरहेको छ र आगामी अवधिमा लगानी बढाएर लाने क्रममा रहेको छ । कम्पनीले अवलम्बन गरेको कुशल कार्यनीतिका साथ जोखिम व्यवस्थापन गर्दै आइरहेको छ ।  सुरक्षित एवं दीर्घकालीन वैकल्पिक लगानीको क्षेत्रको अभाव, लगानी गर्नको लागि पर्याप्त स्रोतको कमी, पुँजी बजारमा आउने उतार चढाव, कम्पनीको लगानीका नयाँ क्षेत्रका सम्बन्धमा बढाइएका छलफलबाट सीमित सफलता मात्र प्राप्त हुनु गरिएको लगानीबाट तुरुन्तै प्रतिफल प्राप्त हुन नसक्नु तथा लगानी गरिएका कम्पनीहरूको संस्थापक सेयर बिक्रीका लागि उचित बजार मूल्य नपाउनु चुनौतीको रुपमा रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफा ८.८४ प्रतिशत घटेर ९० करोड ७४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.१२ प्रतिशत घटेर १ अर्ब ४८ करोड १८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २३.६८ प्रतिशत घटेर १ अर्ब ४९ करोड रुपैयाँ गरेको छ । चैत मसान्तसम्ममा बैंकको वितरण योग्य आम्दानी ७६ करोड ९५ लाख रुपैयाँ रहेको छ ।  २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा बैंकले ७ अर्ब ७८ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५० करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।  बैंकको प्रतिसेयर आम्दानी ५.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.७७ गुणा रहेको छ ।  समीक्षा अवधिमा बैंकले स्वीकृत गरेको परियोजनाहरूमा आवधिक अनुगमन गर्दै थप कर्जा प्रवाह गर्ने क्रम जारी राखेको छ । साथै थप परियोजनाहरू पनि विश्लेषणका अवस्थामा रहेका छन् । बैंकले निजि-सार्वजनिक साझेदारी अन्तर्गत निर्माण गर्ने सम्भाव्यता रहेको शहरी पूर्वाधार औद्योगिक पूर्वाधार र उर्जाका परियोजनाहरूमा एसपीभी मोडलमा लगानी गर्न सरोकारवालासँगको छलफल र अध्ययनको कार्य अगाडि बढाएको छ । बैंकको सम्पत्ति तथा दायित्वको बेमेलका कारण उत्पन्न हुने जोखिमको व्यवस्थापन, स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालीन प्रकृतिको कम लागतको श्रोत संकलन बैंकको चुनौती हो । यस्तै, अर्थतन्त्रमा आएको मन्दीका कारण पर्याप्त संख्यामा थप परियोजनाहरूका अवसरहरू नहुनु, नयाँ परियोजनाहरूको लगानीमा बैंक तथा वित्तीय संस्थाहरू बीच तीव्र प्रतिस्पर्धा बैंकका लागि चुनौती रहेको छ । ऋण उपकरण र निक्षेप मार्फत स्रोत संकलन एवं पूर्वाधारको सार्वजनिक र निजी परियोजनाहरूमा गरिने कर्जा लगानीमा विविधीकरण गर्ने, आयआर्जन गर्ने नयाँ क्षेत्रहरू विस्तार तथा ऋण उपकरण मार्फत लगानीको स्रोत परिचालनमा जोड दिने, प्रदेश र स्थानीय सरकार सहितको संलग्नतामा पूर्वाधारको परियोजनाहरूको पहिचान गर्दै सोमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने र समग्र जोखिम व्यवस्थापनको आधारभूत पक्षहरूलाई सवलीकरण गर्ने बैंकको रणनीति छ ।

प्राधिकरणले पुनः जारी गर्यो डेडिकेटेड ट्रंकलाइनको बक्यौता बुझाउने म्याद थपको सूचना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना पुनः जारी गरेको छ ।  प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी महसुल बक्यौता रहेका उद्योगीलाई पुनरावलोकनका लागि निवेदन दिन पुन सूचना जारी गरेको हो । यसअघि २६ गते प्राधिकरणले सूचना निकालेको थियो भने प्राधिकरणले सोमबार सूचना प्रकाशित गरी डेडिकेटेड ट्रंकलाइनका ग्राहकहरूले २०७८ सालको विद्युत वितरण विनियमावली, नियम ५५ को उपनियम (२) बमोजिम बक्यौता रकमको ५० प्रतिशत वा सो बराबरको एक वर्षसम्म म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटीबापत राखी, विनियमावलीको उपनियम (९) अनुसार प्रशासनिक पुनरावलोकनका लागि निवेदन दिन सक्ने भनेको छ । प्राधिकरणले निवेदन दिने म्याद हालको कार्यसञ्चालक समितिको मिति २०८२ वैशाख २१ को निर्णय अनुसार तोकेको जनाइएको छ । डेडिकेटेड र ट्रंकलाइनको विषयमा उद्योगीहरू र प्राधिकरणबीच लामो समयदेखि विवाद छ ।