सडक कालोपत्र नहुँदा वर्षौदेखि सास्ती, १० प्रतिशत मात्रै प्रगति
काठमाडौं । ९ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोक मार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ-घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुरावस्थाका कारण सवारी फसेर यात्रुहरूले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र बर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वार पार गर्नै समस्या हुने गरेको छ । बागलुङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर ९ वर्षअघि ठेक्का लगाइएको थियो । जसमध्ये बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । ८ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ । चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गरे । ट्रक मात्रै हैन दर्जनौं कार तथा जिप सडकमा फस्ने गरेका छन् । लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ । नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताए । ‘पुन ठेक्का लगाएको एक वर्ष भयो, २१ करोड रुपैयाँको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ,’ मिश्रले भने, ‘निर्माण व्यवसायीलाई बर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।’ बिहुँ-घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ/रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा पुन ठेक्का सम्झौता गरिएको थियो ।
स्मार्ट बत्तीसहित भरतपुरमा ८ वर्षमा १ हजार ६५ किलोमिटर सडक कालोपत्रे
चितवन । कुनै समय कालोपत्रे सडक देख्न नारायणगढ बजार पुग्नुपर्ने भरतपुर अहिले सडक सञ्जालले भरिपूर्ण बनेको छ । अब महानगरका १ देखि २९ वडासम्म पुग्न ३० मिनेट छुट्याए पुग्ने अवस्था बनेको छ । भरतपुर महानगरपालिकामा पछिल्ला ८ वर्षमा १ हजार ६५ किलोमिटर सडक कालोपत्रे भएका छन् । यी सडक ६ देखि १६ मिटर चौडाइसम्मका रहेका छन् । यसबाहेक सङ्घ र प्रदेश सरकारमार्फत करिब २०० किलोमिटर सडक थप बनेका छन् । महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा पहिलो कार्यकालमा ६२२ किलोमिटर सडक कालोपत्रे गरिएको थियो भने दोस्रो कार्यकालका तीन वर्षमा थप ४४२ किलोमिटर सडक बनेको छ । यही गतिमा काम अघि बढे दोस्रो कार्यकालको अन्त्यसम्म ७३५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे हुने अनुमान गरिएको छ । 'विकासको पहिलो आधार सडक नै हो,' दाहालले भनिन्, 'सडकले समय बचत गर्छ, यातायात खर्च घटाउँछ र अन्य विकासका आधारहरूलाई पनि जोड्छ ।' सडक निर्माणसँगै भरतपुर महानगरले हरियाली र सौन्दर्यीकरणमा पनि जोड दिएको छ । सडकको दायाँ–बायाँ वृक्षरोपण भइरहेको छ । पुल्चोक–गोन्द्राङ सडक, बाइपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथजस्ता ठूला संरचनाहरू सङ्घीय सरकारको सहयोगमा निर्माण सम्पन्न भइसकेका छन् । संघीय बजेटमार्फत मङ्गलपुर–शिवनगर, पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर लामो प्रचण्ड पथ बनेको छ भने महानगरको ८८ किलोमिटर लामो चक्रपथ पनि निर्माण हुँदैछ । यस्तै, सडक संरचनाको सौन्दर्यीकरणमा ध्यान दिँदै महानगरले हाल ८० किलोमिटर सडक क्षेत्रमा स्मार्ट बत्ती जडान गरिसकेको छ भने बाँकी १५० किलोमिटर सडक क्षेत्रमा पनि स्मार्ट लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ ।
नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् । 'नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ', प्रधानमन्त्री ओलीले भनेका छन् । उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । जसअनुसार सङ्घीय राजधानी प्रवेश गर्ने कार र भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले आउँदा २६० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौं आउँदा ६०० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । कूल २ दशमलव ६८८ किलोमिटर लम्बाइको उक्त सुरुङमार्गमा तीन दशमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन् । सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ ।