१३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा  १३३.९५ प्रतिशतले बढेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ८९ लाख रुपैयाँ थियो ।  यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९७ करोड ६२ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तरगत ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २६ करोड ८८ लाखबाट घटेर २४ करोड ४३ लाख कायम भएको छ । विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो । कम्पनीको संचालन मुनाफा पनि ५४ करोड ३० लाखबाट बढेर ८९ करोड २१ लाख पुगेको छ । यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब ३५ करोड रहेको छ ।  यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ११.८८ रुपैयाँबाट बढेर २४.१७ रुपैयाँ पुगेको छ । त्यस्तै प्रति शेयर  नेटवर्थ १४८.२० रुपैयाँबाट बढेर १५२.११ रुपैयाँ पुगेको छ । माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि लगातार लाभांश दिदै आएको छ ।

झापा इनर्जीको आईपीओ खरिद गर्ने स्थानीयलाई आज अन्तिम मौका

काठमाडौं । झापा इनर्जीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा स्थानीयले आज साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ८० हजार १९० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । जसमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरका बासिन्दालाई र १ लाख ९० हजार ९५ कित्ता सेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दालाई छुट्याइएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।  स्थानीय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । ​​​​​इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

साढे ३ अर्बमा बन्यो डाँडा खेत सवस्टेशनको पूर्वाधार

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका-७ डाँडा खेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रशारण लाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडा खेत सवस्टेशनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिए । ‘५१ रोपनीमा निर्माण भएको डाँडा खेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रीडमा जोड्ने उद्देश्यले सवस्टेशन निर्माण हुन लागेको हो ।’ डाँडा खेतदेखि रघु गङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा ३ अर्ब ५७ करोड रुपैयाँमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी कात्तिक २९ गतेसम्म थप भएको छ । ‘समग्रमा ७९.१७ प्रतिशत भौतिक प्रगति भएको छ,’ आयोजना प्रमुख अग्रवालले भने, ‘राहुघाटमा कमजोर भूबनावट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माणको समय बढेको हो ।’ १३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको हालसम्म ५९ वटा टावरको जग राखिएकोमा ४५ वटा टावरको काम पूरा भएको छ । ४ वटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । प्रशारण लाइन र सवस्टेशनको ८५ प्रतिशत उपकरण आयात भइसकेको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सवस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेशन सकेर संरचना निर्माण थालिएको छ । अम्बाङमा सवस्टेशन बनाउन ६ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । निर्माण कम्पनीले पछिल्लो पटक केही दिनअघि भारतबाट करिब १ सय जना जनशक्ति ल्याएको छ । कूल ४ अर्ब ८८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि १ अर्ब ५ करोड रुपैयाँ विद्युत् प्राधिकरण र ३ अर्ब ८२ करोड रुपैयाँ एसियाली विकास बैंकको ऋण लगानी छ । रघुगङ्गा गाउँपालिका-३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारण लाइनको टावर निर्माणस्थल हुन् । टावर रहने निजी जग्गाधनीलाई १ करोड ५० लाख रुपैयाँ मुआब्जा वितरण र वन क्षेत्र प्रयोग गरेवापत ४ करोड ५० लाख रुपैयाँमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला-राहुघाट-मङ्गले र २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेका छन् । कूल ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, ४० मेगावाट क्षमताको राहुघाट र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बताएको चिमखोला-राहुघाट-मङ्गले र संयुक्त ऊर्जाको ठूलो खोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनमा विद्युत् आपूर्ति गराउन थालेका हुन् ।