विज्ञहरु भन्छन्ः एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्छ, याे पीसीआरको विकल्प हुन सक्दैन
काठमाडौं । एन्टिजिन परीक्षणलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् । एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका हुन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तिर्थ घिमिरेले पीसीआरले भाइरस भित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजिनले भाइरसका टुक्राटुक्रिलाई मात्रै चिन्ने विशेषता हुने बताए । त्यसकारण एटिजिनबाट फल्स रिपोर्ट समेत आउने भएकाले यसलाई पीसीआरको विकल्पमा लिन नहुने बताए । एन्टिजिन टेस्ट गर्दा कहिलेकाहिं कोभिड १९ संक्रमण भएकालाई नभएको र नभएकालाई भएको रिजल्ट दिने भएकाले यसलाई पीसीआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने डा. घिमिरेले बताए । ‘पीसीआरको विकल्पमा एन्टिजिन टेस्ट हुन सक्दैन । पीसीआर भनेको हाइलि एडभान्स टेक्नोलोजी हो । पीसीआर एउटा कन्र्फमेटरी अर्थात कोभिड छ भनेर पकका गर्र्ने अथवा छैन भनेर पक्का गर्ने विधि हो । तर यो एन्टिजिन परीक्षण कन्फर्म परीक्षण होइन । यसमा के छ भन्दा फल्स पोजेटभ अथवा फल्स नेगेटीभ नतिजा आउन सक्छ । त्यो भनेको मेरो शरिरमा कोभिड १९ नहुँदा नहुँदैपनि कहिलेकाहिं देखाइदिने र कोभिड १९ छ भने पनि नदेखाइदिने एन्टिजिन परीक्षणले गर्छ ।’, उनले भने । एन्टिजिन परीक्षण सस्तो, छिटो र सजिलो छ भन्दैमा पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने बताए । एन्टिजिनलाई अत्यावस्यक अवस्थामा मात्रै प्रयोग गर्न सकिने उनको भनाई छ । त्यसबाहेक समूहमा बसोबास गर्नेहरुमा यसबाट परीक्षण गरी स्थितिको बारेमा जानकारी लिन सकिने पनि डा. घिमिरेले बताए । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिष्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रुपमा रहेकाले अहिले नै पीसीआरको विकल्पमा प्रयोग गर्न नहुने बताए । ‘यो एन्टिजिन परीक्षण परीक्षणकै क्रममा रहेकोले प्रयोग गर्न हुन्छ वा गर्न हुन्न भन्ने अवस्थामा म छैन् । तर यसको नतिजालाई पीसीआरको नतिजासँग तुलना गरेर यदी यसको पफमेन्स पनि, सेन्सेटिभिटी, स्पेसिफिसिटी पनि विश्व स्वास्थ्य संगठनले दिएको मार्गदर्शन अनुसारको र हाम्रो देशमा परीक्षण गर्दापनि रियल टाइम पीसीआर जत्तिकै सेन्सेटीभ भयो भने यसलाई प्रयोग गर्न सकिन्छ ।’, उनले भने । अहिले प्रयोगमा आएका एन्टिजेन टेष्टहरु कुनैपनि आधरिकारीक निकायबाट प्रमाणित भइसकेको छैन् । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले पनि आपतकालिन स्वीकृत मात्रै दिएको बन्जाराले बताए । अहिले सबैठाउँमा एन्टिजिन परीक्षण परीक्षणकै रुपमा रहेको र यसको नतिजा उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले ८० प्रतिशत भन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित ग¥यो भने मात्रै पीसीआरको विकल्पमा प्रयोग गर्न किने पनि बन्जाराले बताए । ‘यो एन्टिजिन टेस्ट पनि एफडिए स्वीकृत भएका, सिडिसी स्वीकृति भएका, सिएबाट स्वीकृति भएका यस्ता एन्टिजिन टेस्ट गर्ने टेस्टहरु त्यति छैनन् । अरु एफडिएहरुले पनि आपतकालिन स्वीकृति मात्रै दिएका छन् । सबै परीक्षणको क्रममै रहेका छन । तर यदि एन्टिजिन परीक्षण, उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले त्यस्ता टेस्टहरुको सेन्सिटिभिटी ८० प्रतिशत भन्दा माथि हुनुपर्छ भनेको छ र त्यस्ता टेस्टहरु आए भने रियलटाईम पीसीआरको विकल्प हुन सक्छ । अहिले परीक्षणको रुपमा भएको हुनाले विकल्प भएन । रियल टाइम पीसीआर नै सबैभन्दा भरपर्दो डाइगोनोसिस गर्ने माध्यम भयो ।’, उनले भने । सरकारले भने कोभिड-१९ संक्रमणको पहिचानका लागि भन्दै एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो ।
विदेशमा कोरोनाबाट निधन हुने नेपाली ३०१
काठमाडाैं । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । शनिबार साँझसम्म विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ गैरआवासीय सङ्क्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९१ प्रतिशत रहेको हो । हालसम्म नेपालमा मात्र दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुगेका छन् भने तीमध्ये दुई लाख ३४ हजार ७५६ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक हजार ५२९ जनाको ज्यान गएको छ ।
जाजरकोटमा स्वास्थ्य क्षेत्रमा देखिएको क्रान्ति
जाजरकोट । विगत १० वर्षको बीचमा भारी क्षति व्यहोरेको जाजरकोट बल्ल लयमा आएको छ । स्वास्थ्य क्षेत्रमा भएको तीव्र विकासका साथै गाउँमा जोडिएका सडकले यहाँको स्वास्थ्य क्षेत्र सुधारिएको हो । कहिले झाडापखाला त, कहिले भाइरलका कारण समस्या भोगिरहने जाजरकोट पछिल्ला दुई वर्षमा सो दर शून्यमा झरेको छ । स्वास्थ्य क्षेत्रमा बढेको जनचेतना र राज्यको लगानी भित्रिएपछि जाजरकोटले स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको छ । दुई वर्षअघि डोकोको सहारामा पिठ्युँमा बिरामी बोक्ने जाजरकोटका गाउँमा अहिले यातायातका साधनमै सजिलैसँग स्वास्थ्य संस्था पुग्न थालेको बारेकोट गाउँपालिकास्थित वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्राचार्य गोरखबहादुर सिंहको भनाइ छ । उनी भन्छन्, “भर्खरै मात्र १५ शय्याको अस्पताल शिलान्यास भएको छ । प्रशासकीय केन्द्रलगायत तल्लो क्षेत्रमा सडक सञ्जालले छोएपछि आम मानिस सजिलै स्वास्थ्य संस्था जान र आउन सक्ने भएका छन् ।” “पहिले बारेकोटबाट बिरामी बोकेर सदरमुकाम ल्याउन दुई दिनभन्दा बढी लाग्ने गर्दथ्यो” उनले थपे, “अहिले अधिकांश औषधि लिम्सालगायत सबै वडामा रहेका स्वास्थ्य संस्थामा पाइने गरेको छ ।” झाडापखालाको समयमा बढी थलिएको बारेकोटमा अहिले स्वास्थ्य सूचक जिल्लाकै एक नम्बर भएको छ । सदरमुकाममा ५० शय्याको अस्पताल निर्माण शुरुसँगै नयाँ आशाका किरण पलाएको नागरिक अगुवा सहदेव बस्नेतले जानकारी दिए । उनले भने, “कर्णाली प्रदेशमा ५० शय्याको अस्पताल सुर्खेतपछि जाजरकोटमा निर्माण हुन लागेको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल मात्र भएको सन्दर्भमा जाजरकोटमा ५० शय्याको अस्पताल निर्माण शुरु भएको छ ।” हालका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री रहँदा विसं २०७३ जेठ १० गते ५० शय्यामा स्तरोन्नति भएको भनी उद्घाटन गरिएको थियो । अहिले जिल्लाको शिवालय, नलगाड, छेडागाड र बारेकोटमा १५ शय्याको अस्पताल उद्घाटन गरी सेवा शुरु गरिएको छ । स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्य संस्था कसले राम्रो बनाउने विषयमा होडबाजी छ । औषधि पसलको सहारामा चलेको जाजरकोटको स्वास्थ्य सेवा विस्तारै सरकारी सेवाको पकडमा आएको आम नागरिक बताउँछन् । धामी, झाँक्रीको भरोसा मान्ने समाज स्वास्थ्य सेवाप्रति विश्वस्त हुँदै आएको छ । असुरक्षित तरिकाले गोठमा सुत्केरी हुन बाध्य पार्ने जाजरकोटको कुनाकन्दराका गर्भवतीहरु अहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुँदा सो दरसमेत ह्वात्तै बढेको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले बताएको छ । अन्य क्षेत्रभन्दा स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सबै सरोकारवाला सहमत मात्र भएका छैनन्, जिल्लामै डिप्लोमा इन फार्मेसी पढाइसमेत शुरु भएको छ । गाउँगाउँमा भारी मात्रामा पाइने औषधि पसल विस्थापित भएका छन् । औषधि पसलमा जथाभावी औषधि सेवन गर्दा सरकारी स्वास्थ्य सेवाबाट पाइने औषधिले काम नगर्ने समस्या अहिले मेडिकल विस्थापितसँगै हल भएको छ । जाजरकोटमा पहिलोपटक लागेको झाडापाखालबाट सरकारी रेकर्डअनुसार १६६ जनाको मृत्यु भएको थियो । दोस्रोपटक २९ जनाले ज्यान गुमाएका थिए । आशा जगाउने सरकारी कार्यक्रम सरकारी स्वास्थ्य संस्था पहुँचमा नहुँदा सर्वसाधारणबाट गुमेको विश्वास अहिले आर्जन भएको छ । सरकारी स्वास्थ्य संस्थाभन्दा मेडिकलमा गएर उपचार गर्ने नागरिक अहिले स्वास्थ्य संस्थामा भीड लाग्ने गरेको छ । स्थानीय सरकारको गतिशील योजनाले सबैको ध्यान तान्न मद्दत गरेको स्थानीयवासी बताउँछन् । स्थानीय सरकारले एम्बुलेन्समार्फत बिरामीलाई स्वास्थ्य संस्था पुर्याउँदा झन् निम्न अवस्था भएका आम नागरिकलाई सरकारी सेवाप्रति मन तानेको छ । निम्न अवस्था भएका बिरामी, शारीरिक अशक्तलाई स्थानीय सरकारले कार्यपालिकाको बैठकबाट आर्थिक सहायता गर्दा सरकारको अनुभूति सिर्जना भएको हो । कस्ता व्यक्तिलाई एम्बुलेन्स निःशुल्क सहयोग गर्ने भनी कार्यविधि नै बनाइएको छ । सबै पालिकाले आफ्नो क्षेत्रभित्र एमबिबीएस पढ्ने विद्यार्थीलाई आर्थिक सहायतासमेत दिने गरेका छन् । पैसा अभावकै कारण पढ्न नपाउने अवस्थाको अन्त्य गर्न सो व्यवस्था गरिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । रासस