३ दिनसम्म काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आयुर्वेद हेल्थ होम
काठमाडौं । आयुर्वेद हेल्थ होमले यही मंसिर १९ गतेदेखि २१ गतेसम्म ३ दिन निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । स्वास्थ्य शिविरमा निम्न स्वास्थ्य समस्याहरुको विशेषज्ञ डाक्टरहरुले विशेष परामर्श दिने जानकारी कम्पनीले दिएको छ । शिविरमा मांसपेशी, हाडजोर्नी, ढाड तथा घुँडाहरु दुख्ने समस्या, पेट र पाचन सम्बन्धी समस्या, ग्यास्ट्रिक, कब्जियत, पाइल्स, फिसर, फिस्टुलालगायतका समस्या भएका बिरामीले विशेग परामर्श लिन पाउने कम्पनिले जनाएकाे छ । यसका साथै रुघाखोकी, टन्सिल, श्वासप्रश्वासमा समस्या, दमआदिका रोगीले पनि शिविरमा परामर्श लिन पाउनेछन् । शिविरमा आयुर्वेद उपचारमा अनुभवप्राप्त विशेषज्ञ डाक्टरहरु डा. संगिता महर्जन, डा.व्योम कोइराला, तथा डाक्टरहरु डा.रुमी तण्डुकार, डा.सबिना खड्का, डा.ऋषभ कोइरालाले स्वास्थ्य परीक्षण गर्नेछन् । कम्पनीले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनबाट निर्देशित सावधानी र अत्यावश्यक सुरक्षाका विधिहरु पालना गरी शिविर आयोजना गर्न लागेको हो । आयुर्वेद हेल्थ होम प्रालिले विगत २० वर्षदेखि शरीर, इन्द्रियहरु, मन एवम् पञ्चकर्म र योग उपचारका विविध उपक्रमहरुबाट १२२ देशका नागरिकलाई आयुर्वेद उपचारको सेवा दिँदै आएको छ ।
भाइरसको सङ्क्रमण दैनिक बढ्दै, स्वाब सङ्कलन घट्दै
इलाम । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालयका अनुसार इलाम नगरपालिका-७ मा रहेको आइसोलेसन भवनमा हप्ताको सोमबार र बिहीबार स्वाब सङ्कलन गरिने छ । कार्यालय प्रमुख वृजकुमार दासका अनुसार परीक्षण गराउनका लागि लक्षण भएका व्यक्तिले इलाम अस्पतालको सिफारिस लिएर आइतबार र बुधबार कार्यालयमा नाम टिपाउनु पर्नेछ । दैनिक २० जनाको हाराहारीमा कोरोना बढिरहँदा कार्यालयले राखेको यो मापदण्ड अपुग जस्तो देखिन्छ । “जिल्लामा ल्याब छैन । जिल्लाबाहिर पठाउँदा सीमित सङ्ख्यामा मात्र परीक्षण हुन्छ”, कोरोनाका स्रोत व्यक्ति विमलकुमार बरालले भने, “तर सबैलाई पहुँच पुग्ने गरी परीक्षण गरिनेछ ।” जिल्लामा तिहार पछाडिको समयमा कोरोना अत्यन्त बढी देखिएको छ । स्थानीयस्तरमा कोरोना देखिएकाले परीक्षण बढाउनु पर्ने देखिन्छ । जिल्लामा तिहारपछिको समयममा मात्रै आठ जनाको निधन भएको छ भने करिब २०० सङ्क्रमित थपिएका छन् । अस्पताल र स्थानीय तहले सुरक्षाका मापदण्ड कार्यान्वयन नगराउँदा पनि कोरोना बढेको हो । विशेषगरी बजार क्षेत्रमा हिँडडुल गर्ने यात्रुलाई मास्क प्रयोग गर्न अनिवार्य नगराउनु तथा सवारीसाधनमा दूरी कायम नगरी यात्रु राख्नाले पनि कोरोना उच्च दरमा बढेको हो । जिल्लामा हालसम्म २३३ जनामा कोरोना देखिएको छ । एघार कोरोना सङ्क्रमितको निधन भइसकेको छ । एक सय ६८ जना कोरोनामुक्त भएका छन् । रासस
मंगलबार नेपालभर १३०४ जनामा संक्रमण पुष्टि, २१ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३०४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १३०४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३४ हजार ७५६ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १६ हजार ६३३ पुगेकाे छ । नेपालमा आजसम्म १७ लाख ४६ हजार ३३० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २०७३ जना निकाे भएसँगैं हालसम्म २ लाख १६ हजार ५९४ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २१ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १५२९ पुगेकाे छ ।