सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि निःशुल्क
मङ्गलबारे । कोरोना सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो । विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । उनले होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमा नै जाने र चिकित्सकको टोलीसहित औषधि वितरण गरिने बताए । त्यसका लागि वडाभित्र सङ्क्रमितको पहिचान गर्ने कार्य भइरहेको छ । आयुर्वेदिक औषधिले अन्य असर नगर्ने, शरीरमा रोगसँग लड्न सक्ने क्षमता बढाउने खालका औषधि चिकित्सकको सल्लाहबमोजिम नै खुवाउने व्यवस्था मिलाइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । कोरोनाको कुनै पनि औषधि पत्ता लगाउन नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधि सिफारिस गर्ने गरिएको छ । आयुर्वेदिक औषधि पनि चिकित्सकसँग सिफारिस गरेर मात्र वितरण गरिने बताइएको छ । हाल इलाम नगरपालिका–७ जिल्लाभरिकै बढी सङ्क्रमित रहेको वडा हो । इलाम सदरमुकाम र इलामकै प्रमुख व्यापारिक केन्द्र यहाँ रहेकाले पनि यस वडामा सङ्क्रमितको सङ्ख्या बढी रहेको छ । वडाध्यक्ष श्रेष्ठले यस वडामा सङ्क्रमितको अवस्था बुझ्ने, उनीहरुको खानपानमा परिवारलाई सचेत गराउने र सरसफाइमा ध्यान दिन अनुरोध गरिने बताए । साथै कोरोना सङ्क्रमित बाहिर हिँडडुल गर्ने गरेको र कोरोनालाई सामान्य सम्झिएर अन्यलाई रोग फैलाउने काम गरेको पाइएमा कारवाहीका लागि सिफारिस गर्नेसमेत बताइएको छ ।
बैतडी जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना
बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ । कोरोनाका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । उनले भने, “हामीले जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरेका छौँ ।” जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना भएपछि सञ्चालनमा भने समस्या हुने भएको छ । आइसियुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताए । आइसियु सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आइसियु सञ्चालनमा समस्या आउने देखिएको छ । उनले भने, “आइसियु कक्ष स्थापना भयो तर त्यसमा काम गर्ने विशेषज्ञको अभाव हुँदा सञ्चालनमा समस्या छ ।” यस्तै जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई पनि आइसियु सञ्चालनका लागि तालीमको आवश्यकता पर्ने र त्यो तालीम कसैले पनि लिएको छैन । कोरोनाका गम्भीर बिरामीलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापनाका लागि उपकरण पठाएको थियो । उपकरणसँगै दक्ष जनशक्ति पनि आवश्यक पर्ने भए पनि दक्ष जनशक्ति नपठाउँदा आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ । बैतडी जिल्लाभरि हालसम्म ५६९ मा कोरोना पुष्टि भएकोमा एकको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाभरि हाल ६४ सक्रिय सङ्क्रमित रहेकोमा ५०४ जनाले कोरोना जितिसकेका छन् । रासस
बिहिबार नेपालभर १३४३ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३४३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १३४३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३७ हजार ५८९ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १५ हजार ७६६ पुगेकाे छ । नेपालमा आजसम्म १७ लाख ६३ हजार ९१९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २१११ जना निकाे भएसँगैं हालसम्म २ लाख २० हजार २७२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १३ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १५५१ पुगेकाे छ ।