अर्घाखाँची सिमेन्टले एक करोडकाे लागतमा स्वास्थ्य केन्द्र बनाउँदै, मन्त्री भुसालद्वारा शिलान्यास

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मध्येको एक सिमेन्ट उत्पादक अर्घाखाँची सिमेण्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । कम्पनीले करिब एक करोड रुपैयाँ बराबरको लागतमा उक्त स्वास्थ्य केन्द्र बनाउन लागेकाे हाे । मैनहियामा बन्न लागेको सो स्वास्थ्य केन्द्र भवनको शिलान्यास कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सोमबार गरेका हुन् । निर्माणपश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैंयाको अस्पताल सञ्चालन गर्नेछ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए । ‘यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारीसँगै यहाँका स्थानीयको समस्या तथा दुःखमा पनि साथ र सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ’, अग्रवालले बताए, ‘तसर्थ, यस क्षेत्रमा स्वास्थ्य सेवाको अभाव खड्किएकाले सोलाई परिपूर्ती गर्नका लागि स्वास्थ्य केन्द्र स्थापना गर्न लागेका हौं ।” अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर सम्बन्धित गाउँपालिकालाई हस्तान्तरण गर्ने कम्पनीको उदेश्य रहेको छ । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले अर्घखाँची सिमेन्टले स्थानीयस्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्रको अवधारणा नमुना भएको जानकारी दिए । उनले भने ‘यस स्वास्थ्य केन्द्रलाई ५ शैंयाको अस्पताल बनाउँदै यसै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने छौं ।’ सियारी गाउँपालिकामा सिमेन्ट उत्पादन केन्द्र रहेको यस कम्पनीले बिगतमा पनि यस गाउँपालिका तथा आसपासका क्षेत्रहरुको शिक्षा, सरसफाइ, खाद्यान्न तथा बाटोघाटो विविध किसिमका पूर्वाधारको विकासमा सघाउ पुर्याउँदै आइरहेको छ । यसै वर्षको बैशाख महिनामा पनि कम्पनीले प्रदेश ५ सरकारद्धारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैँया तथा सियारी गाउँपालिकाका लागि दुई लाख रुपैयाँ बराबरको नगद सहयोग प्रदान गर्नुका साथसाथै कम्पनीको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालीका-तिनाउँ गाउँपालीका र मचागढी गाउँपालीका-का विपन्न बर्गका घरपरिवारका लागि करिब २० लाख रुपैँया बराबरको राहत सामाग्री बितरण गर्ने जनाएको छ । ।

तारकेश्वर नगरपालिकाले हाेम आइसोलेशनमा बसेकालाई ५ हजार रुपैयाँ दिने

काठमाडाैं । तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो । कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए । हाल नगरपालिकामा कोरोना सङ्क्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष छन् । निको हुनेको सङ्ख्या एक हजार ८२९ छ । कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २५० जना पुगेका छन् ।

कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क लिने अस्पताललाई कारवाही गरिने

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् । उनले बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानूनअनुसार कारवाही गरिनेसमेत बताए । “कोभिड–१९ को सन्र्दभमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”, उनले सूचना जारी गर्दै भनेका छन्, “कोभिड–१९ को सङ्क्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न/नगराउन अनुरोध छ ।”