पित्तथैलीको पत्थरी समस्याबाट पीडितका लागि ईवामुरा अस्पतालले ल्यायाे लक्षित प्याकेज

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित डा ईवामुरा मेमोरियल अस्पतालले पित्तथैलीको पत्थरी सम्बन्धी समस्या भएका बिरामीहरुलाई लक्षित प्याकेज ल्याएको छ । सेवाग्राहीको अनुरोधमा सहुलियतपूर्ण शुल्कमा प्याकेज ल्याएको अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले जानकारी गराए । अनुभवी डाक्टरहरुबाट शान्त वातावरण उपचार हुने व्यवस्था त्यहाँं रहेको छ । प्याकेज २०७७ पुस १५ गतेसम्मका लागि मात्र उपलब्ध भएको जनाइएको छ । यसो हुँदा समयमा नै आफ्नो समस्याको पहिचान गरी रोगमुक्त हुनसक्ने अस्पतालले भनेको छ । साथै, निःशुल्क परामर्शका लागि फोन गरी आफ्नो नाम टिपाउनसक्ने जनाएको छ । दुर्बिन प्रबिधिमार्फत ल्यापोस्कोपी मेसिनबाट सानो प्वाल पारेर उपचार गरिने भएकोले अपरेसनपछि कम दुखाइ, घाउहरु चाडै निको हुने, दाग पनि सानो हुने र चाडै घर जान सकिने जनाइएको छ । चिल्लो खानाबाट पेट फुल्ने वा दुख्ने, पेटको दायाँ कोखा वा पेटकोबीचमा दुख्ने, दायाँ काधँमा दुख्ने, ढाडमा दुख्ने, एक्कासी तौल घट्ने, धेरै दिसा भइरहने पित्तथैलीको पत्थरीका लक्षणहरु हुन् ।

एमबिबिएसको अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान

खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन अनुमति दिएको छैन । जिल्लाका स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गर्न यहाँ भएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानले सो तहको अध्ययनका लागि माग गरेको र मन्त्रालयले सहजीकरण गरिरहेको बताए । उनले प्रतिष्ठानको भौतिक पूर्वाधार, जनशक्ति विकास तथा उपकरणको थप व्यवस्था गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए । प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेका अनुसार प्रतिष्ठानले एमबिबिएस तहको अध्ययन अध्यापनका लागि आवश्यक पूर्वाधार, पाठ्यक्रम तथा जनशक्तिको आवश्यक तयारी लगभग पुरा गरिसकेको छ । उनले भने, “प्रतिष्ठान एमबिबिएस तहको पठन पाठन गर्न अनुमतिको प्रतिक्षामा छ । यस तहको पठन पाठनले दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव हुने छैन ।जनताले घर आगनमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् ।” कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले ६ अर्बको बहुवर्षीय योजना पारित भइसकेको जानकारी दिँदै यसलाई कार्यान्वयन गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । उनले प्रतिष्ठानले स्वास्थ्य सेवा घरघरमा पु¥याउन उच्च प्राथमिता दिइ काम गरिरहेको जानकारी दिए । प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत अमृत भण्डारीका अनुसार प्रतिष्ठानले कर्णालीमा कोरोना परीक्षण तथा उपचारमा उल्लेखनीय सफलता प्राप्त गर्दै आएको छ । कर्णाली प्रदेशका ४२ स्थानीय तहमा पाँचदेखि १५ श्ययाका अस्पतालको शिलान्यास समेत भएको छ । कार्यक्रममा पूर्वराज्यमन्त्री बलबहादुर महतले प्रतिष्ठानको पूर्वाधार र एमबिबिएसको लागि सहयोग गर्न सरकारसित अनुरोध गरे ।

मंगलबार नेपालभर १३८२ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १३८२ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३७७ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १२ हजार ६८६ पुगेकाे छ । नेपालमा आजसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १६३७ जना निकाे भएसँगैं हालसम्म २ लाख २९ हजार ५४ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २३ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १३६७ पुगेकाे छ ।