चितवन मेडिकल कलेजद्वारा नेपालमै पहिलाेपटक न्युक्लियर मेडिसिन सेवा शुरु

चितवन । चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवा शुरु भएको छ । अत्याधुनिक स्पेक्ट सिटी मेशिन भित्रिएसँगै न्युक्लियर सेवा शुरु भएको हो । कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको प्रक्रियामा रहेको दाबी गरेको छ । अमेरिका, बेलायत र क्यानाडाजस्ता देशमा समेत सर्वसुलभरूपमा उपलब्ध नहुने यो प्रविधि आफूले भित्र्याएको अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले दाबी गरे । यस उपकरण जडानसँगै धेरै बिरामीले उपचार लिने काठमाडौँ उपत्यकासहित देशैभरबाट बिरामी आउने उनको भनाइ छ । अस्पतालले उपकरण र जडान गरी करिब रु १४ करोड खर्च गरेर सेवा सञ्चालनमा ल्याएको न्यौपानेले जानकारी दिए । अस्पतालको न्युक्लियर मेडिसिन विभाग प्रमुख डा जीवन पौडेलका अनुसार यस सेवा शुरु भएसँगै मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गाैला, कलेजो, हड्डीका साथसाथै शरीरका प्रायः सबै अङ्गको गहन जाँच सम्भव हुन्छ । चिकित्सा शास्त्रका प्रायः सबै विभागका बिरामी यसबाट लाभान्वित हुने उनको भनाइ छ । पौडेलले भने, “अबको समयमा थाइराइड क्यान्सरलगायत थाइराइडको जुनसुकै समस्याको चितवन मेडिकल कलेजबाट सफल उपचार हुनेछ । थाइराइडका गलगाँडको बिना अपरेसन सफल र स्थापित उपचार हुन्छ ।” यस सेवाअन्तर्गत सानो मात्रामा रेडियोधर्मी औषधि बिरामीको नसाबाट दिएर त्यसबाट निस्कने गामा विकिरणलाई स्पेक्ट सिटीको माध्यमबाट जाँच हुन्छ । यसबाट शरीरका विभिन्न अङ्गको गहन जाँच सम्भव हुने डा पौडेलको भनाइ छ । थाइराइड क्यान्सरको समेत पूर्णरूपमा सफल उपचार हुने उनले जिकिर गरे । न्युक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा विद्यावारिधि गर्नुभएका डा अरुण गुप्ताले यस उपकरण जडानसँगै भारतबाट पनि बिरामी यहाँ आउने बताए । उनले भने “भारतमा पनि बल्ल यो उपकरण भित्रिने चरणमा छ ।” कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले न्युक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) शुरु भएसँगै अस्पतालमा थाइराइडको ‘कम्प्रिहेन्सिभ थाइराइड केयर क्लिनिक’ सञ्चालन गर्न लागिएको बताए । यसमा न्युक्लियर फिजिसियन, शल्यक्रिया गर्ने चिकित्सक र इन्डोक्राइनोलोजिष्टको टोलीले थाइराइडको क्यान्सरलगायत जुनसुकै समस्याको सफल उपचार गर्ने उनको भनाइ छ । वार्षिक चार लाख हाराहारी बिरामीको उपचार गर्दै आएको यस मेडिकल कलेजले आकस्मिक सेवासँगै सिटीस्क्यान, एमआरआइ, क्याथल्याबसहितको विशिष्ट सेवा दिँदै आएको छ । यहाँ नेपालभर र भारतबाट पनि बिरामी उपचारका लागि आउने गरेको देवकोटाले जानकारी दिए । रासस

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताकाे छानविन गरी कारबाही गरिने

काठमाडाैं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले कोकसले अनियमितता गरेका छन् छानविन गरी कारबाही गर्न पत्र पठाउने निर्णय भएको बताए । ‘आज माननिय मन्त्रीसँग विभिन्न कोणबाट छलफल भयो । माननिय सदस्यहरुले पनि स्वास्थ्य उपकरण र औषधि खरिदसँग सम्बन्धित कोभिड १९ सँग जोडिएको मुद्दामा विगत २०७६ सालको चैत महिनामा भएको खरिद प्रक्रियाको सन्दर्भमा विचार विमर्स गर्ने क्रममा समिति के निष्कर्षमा पुग्यो भने यो खरिद प्रक्रिया पूर्ण रुपमा नियमसंगत नभएको कारणले र यसमा विभिन्न पदाधिकारीहरुको संलग्न हुनुहुन्छ । उहाँहरु दोषी हुनुहुन्छ । दोषी करार गर्ने अवस्था सिर्जना भएको हुनाले यसको थप छानविन गरेर कोको दोषी हुनुहुन्छ, कसकसले अनियमितता गर्नुभएको छ त्यो कुरा पहिचान गरेर कानूनी कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पाउने गरी निर्णय भएको छ । त्यो निर्देशन समितिको तर्फबाट आयोगलाई पठाउने छौं र त्यसको अनुसन्धान अगाडि बढ्छ भन्ने हामीलाई लाग्छ ।’, उनले भने । समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो ।

कोभिड सङ्क्रमित अब १० दिन मात्र क्वारेन्टिनमा बसे हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने देखाएपछि क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने समयमा विधि घटाइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । सङ्क्रमणको लक्षण चिह्न देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामीबाहेक सबै सङ्क्रमितलाई १० दिन मात्र राख्ने मन्त्रालयको नीति, योजना र अनुगमन महाशाखाले निर्णय गरेको थियो । यस्तै मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालक केन्द्रले विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १० दिन क्वारेन्टिन वा आइसोलेशनमा बस्न भनेको छ । केन्द्रका प्रमुख तथा सहप्रवक्ता डा अधिकारीले सूचना जारी गर्दै विदेशबाट नेपाल आएका वा सङ्क्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तीमा १० दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने जानकारी दिए । महाशाखाले १० दिन बसेका आधारमा मात्र स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न सबै अस्पताललाई समेत अनुरोध गरेको छ । महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना प्रणाली अद्यावधिक गरेअनुसार नै अस्पताललाई शोधभर्नाबापतको रकम उपलब्ध गराइने जानकारी दिए । उनले कुनै पनि अस्पतालले कोभिड-१९ का बिरामी भर्ना गरी उपचार गरेको सूचना प्रणालीमा अद्यावधिक नगरेमा मन्त्रालय/प्रदेश/स्थानीय तहबाट हुने अस्पताल नवीकरण वा सूचीकरण नहुने व्यवस्थासमेत गरिएको जानकारी दिए । मन्त्रालयले निःशुल्क उपचार गरेवापतको शोधभर्ना रकम माग गरिएका बिरामीबाट कुनै पनि शुल्क नलिन समेत अनुरोध गरेको छ । मन्त्रालयले बिरामीबाट शुल्क लिएको पाइएमा शोधभर्ना नगरिने बताएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित ४४४ जना क्वारेन्टिनमा र छ हजार ९४ जना होम आइसोलेशनमा छन् । त्यस्तै दुई लाख ५१ हजार ६९२ सङ्क्रमित, दुई लाख ४० हजार ३६३ निको र एक हजार ७४९ जना सङ्क्रमणका कारणले निधन भएका छन् । रासस