नर्भिकमा ६७२ कोभिड संक्रमितले पाए नयाँ जीवन

काठमाडौं । देशमै गुणस्तरीय स्वास्थ्य सेवा दिंदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड-१९ को संक्रमणविरुद्ध देशले थालेको लडाईमा महत्वपूर्ण योगदान गरेको छ ।  नेपालका निजी अस्पतालमध्ये कोभिड संक्रमितको रोजाईको केन्द्र बनेको नर्भिकले कोभिडको छुट्टै एनआइसियू तथा फिभर क्लिनिक नै निर्माण गरी बिरामीहरुलाई स्तरीय स्वास्थ्य सेवा दिएको हो । यो क्रममा कोभिड संक्रमित भएका ६७२ बिरामीले स्तरीय सेवाको साथमा नयाँ जीवन पाएका छन् । संभवत निजी अस्पतालमध्ये नर्भिकले नै सबैभन्दा बढी संक्रमितको उपचार गरेको हो । व्यवसायिक घाटाको डरलाग्दो अवस्थामा रहेको बेला समेत कोभिडको अलग्गै युनिट बनाउँदा सिर्जना हुने आर्थिक दायित्वलाई समेत पन्छ्याएर नर्भिकले सामाजिक उत्तरदायीत्व बोध गर्दै अत्याधुनिक र स्तरीय कोभिड वार्ड तयार गरी बिरामीहरुलाई स्तरीय सेवा दिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । नर्भिकका स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान जोखिममा राखेर भए पनि ६७२ संक्रमितलाई नयाँ जीवन दिने सफलता पाएका सिंह बताउँछन् । नर्भिक अस्पतालले कोभिड सुरु भएपछिदेखि केही दिनअघिसम्म गरी कुल ६७२ संक्रमितको सफल उपचार गरेको हो । नेपालमा कोभिड १९ को संक्रमण सुरु भएलगत्तै सरकारले घोषणा गरेको कोभिड कोषमा निजी क्षेत्रको तर्फबाट सहयोग गर्ने पहिलो व्यक्ति पनि नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरी थिए । उनले सो बेला सरकारी कोषमा ५० लाख रुपैयाँ नगद प्रदान गरेका थिए भने ६० लाख रुपैयाँ बराबरको मेडिकल सामाग्री समेत हस्तान्तरण गरेका थिए । चौधरीले कोभिड कोषमा योगदानको घोषणा गरेपछि निजी क्षेत्रबाट समेत त्यहाँ सहयोग उपलब्ध गराउने लहर नै चलेको थियो ।

ललितपुरकाे वाग्मती गाउँपालिकामा पाँच श्ययाको कोभिड अस्पताल निर्माण

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टडाँडास्थित महाङ्कालखोल्सामा गाउँपालिकास्तरीय पाँच श्ययाको अस्थायी कोभिड–१९ अस्पतालको निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आज सो अस्पतालको उद्घाटन गर्दै मूलुकमा अझै कोरोना महामारी कायम रहेकाले सङ्घीय सरकारको निर्णयलाई गाउँपालिकाले कार्यान्वयन गरी पाँच श्ययाको अस्पताल व्यवस्थापन गरेको छ भने । उनले भने, “अब यहाँका जनतालाई कोभिड सङ्क्रमण भएमा राख्ने ठाउँको अभाव हुनेछैन । बिरामी उपचारका लागि आवश्यक सम्पूर्ण सामग्रीसमेत जुटाइसकेका छाैँ । अस्पतलमा एक एमबिबिएस चिकित्सक र दुई स्टाफ नर्ससमेत रहनेछ ।” अर्काेतर्फ वडा नं ४ प्यूटारस्थित थाङसिनटारमा १५ श्ययाको ‘गाउँपालिकास्तरीय अस्पताल’ भवन निर्माण कार्य पनि सम्पन्न भइसकेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःर्शत अनुदानमा ‘एकपालिका एक अस्पताल’को अवधारणाअनुरुप उक्त काम अघि बढाइएको थियो । गाउँपालिकास्तरीय अस्पताल निर्माणका लागि प्रदेश सरकारले कूल रु दुई करोड तीन लाख २२ हजार भ्याटसहित सम्झौता रकम भवन निर्माणका लागि दिएको ललितपुर क्षेत्र नं १ का प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले बताए । उनले भने, “अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री र दरबन्दी सिर्जना गर्ने काम भने गाउँपालिका र प्रदेशको समन्वयमा हुनेछ ।” सो गाउँपालिकास्तरीय अस्पताल तयार भइसकेपछि नजिकैरहेका बकैया गाउँपालिका र काभ्रेका जनताले समेत सेवा लिन पाउने स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । उनले भने, “भौगोलिक रुपमा विकट रहेका वाग्मतीका सातै वडामा स्वास्थ्य चौकीको व्यवस्था छ । वाग्मतीको एक वडाबाट अन्य वडामा पुग्न घण्टौ हिड्नुपर्ने हुँदा भट्टेडाडाँको स्वास्थ्य चौकीलाई बढुवा गरेर ‘भट्टेडाडाँ अस्पताल’का रुपमा स्तरोन्नती गरिएको छ ।” वाग्मतीका हरेक स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० बिरामी उपचारका लागि आउने गर्छन । वाग्मतीको वडा नं २ माल्टा र वडा नं ५ इकुडोलको स्वास्थ्यचौकी भवन २०७२ सालको भूकम्पले जीर्ण बनाएको हुँदा नयाँ बनाउन आवश्यक रहेको छ । वाग्मतीले गाउँपालिकाका जनतालाई हालसम्म एउटा मात्र एम्बुलेन्स सेवा दिइरहेको तिमिल्सिनाले जानकारी गराए ।

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अक्सिजन प्लाण्ट र अक्सिजन भर्ने बुस्टर मेसिन खरिद गरेर जडान गरेसँगै जिल्लामै अक्सिजन उत्पादन र अक्सिजन भर्ने सेवा शुरु गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । प्लाण्ट स्थापनाको लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट विनियोजन भएको ७५ लाख बजेटमध्ये बोलपत्रमार्फत ४२ लाखमा मेसिन तथा उपकरण खरिद गरिएको थियो । त्यसैगरी केन्द्रको भवनलगायतको पूर्वाधार निर्माणमा मन्त्रालयबाटै पाँच लाख बजेट उपलब्ध भएको र अक्सिजन भर्ने बुस्टर मेसिन उपकरण खरिदमा १५ लाख ४० हजार खर्च भएको अध्यक्ष कटुवालले बताए । बुस्टर खरिदमा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा रघुगङ्गा गाउँपालिकामा विनियोजन भई खर्च हुन नसकेको करिब १४ लाख बजेटलाई परिचालन गरिएको र अपुग रकम अस्पतालले थप गरेको जनाइएको छ । उत्पादित अक्सिजनलाई तत्काललाई सिलिण्डरमार्फत भर्ने र प्रयोग गर्ने गरिए पनि केही महिनाभित्रमा अस्पतालको आवश्यक पर्ने कोठामा सोझै पाइपलाइनमार्फत पु¥याउने तयारी गरिएको अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले बताए । अस्पतालका अनुसार, पाइपलाइन विस्तारको लागि सामाजिक विकास मन्त्रालयबाट यस वर्ष १० लाख बजेट विनियोजन भएको छ । अक्सिजन उत्पादन केन्द्र र भर्ने सुविधा विस्तार भएसँगै नियमित रुपमा अक्सिजन प्रयोग गर्दै आएका स्वाशप्रश्वास, दमका बिरामीसँगै जटिल रोगका बिरामीको उपचार सहज हुने डा कँडेलले जानकारी दिए । म्याग्दीमा अहिलेसम्म पोखराबाट अक्सिजन सिलिण्डर ल्याउने गरिएको थियो । अस्पतालमा जडान गरिएको सो प्लान्टमा अस्पताललाई आवश्यक भन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन् । दैनिक १० देखि १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सकिने जनाइएको छ । अस्पतालमा रहेको सघनउपचार कक्षसमेत ‘एसी’ र ‘भेन्टिलेटर’ का उपकरण थप गर्ने तयारी भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रममा खर्च हुन बाँकी रहेको रु ३० लाख बजेट धौलागिरि गाउँपालिकाले अस्पतालमा उपकरण थप गर्न सहमति दिएकाले आवश्यक प्रक्रिया अगाडि बढाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । रासस