बर्डफ्लूसँग उच्च सतर्कता अपनाउन सरकारकाे आग्रह
काठमाडाैं । कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए । “नेपालमा भारतको हिमाञ्चल प्रदेशबाट बर्डफ्लू भित्रने सम्भावना उच्च रहेको छ । सङ्क्रमणलाई ध्यानमा राख्दै केही समय हिमाञ्चलसँगै भारतबाट भित्रिने कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक लगाइएको हो”, उनले भने । उहाँका अनुसार सीमा नाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउँन समेत आग्रह गरेको छ । “खुला सीमानाका हुँदा सीमाभन्दा बाहिरबाट समेत कुखुरा भित्रने सम्भावना उच्च रहेको छ, बर्डफ्लू नियन्त्रण आदेशको अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई सम्पर्कमा बस्न आग्रह गरिएको हो”, उनले भने, “लुकाएर ल्याइएका कुखुरा नष्ट गर्ने, कुखुरा ल्याउनेलाई कारवाहीको सम्पूर्ण अधिकारी जिल्लाका प्रमुखलाई रहन्छ ।” मन्त्रालयले काँकडभिट्टा, वीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, कैलाली तथा गड्डाचौकी नाका , प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधनको प्रयोग र थप जनशक्ति माग गर्न विशेष निर्देशन दिएको हो । मन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ । नेपालमा बर्डफ्लू सङ्क्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता घिमिरे जानकारी दिए । मन्त्रालयअन्तर्गत देशभर १६ पशु क्वारेन्टिन कार्यालय छन् । देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । भारतको मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्डफ्लू पुष्टि भएको बताइएको छ । रासस
काँचुली फेरिएको भक्तपुर अस्पताल
भक्तपुर । स्थापनाको एक शताब्दी बितिसक्दा पनि सेवा दृष्टिले अत्यन्त पछाडि परेको भक्तपुर अस्पतालले बितेको एक वर्षमा काँचुली फेरेको छ । कोरोना भाइरसको महामारीका बेला उत्कृष्ट सेवा दिन सफल यो अस्पताल वाग्मती प्रदेशको उत्कृष्ट अस्पताल मात्र बन्न सफल भएन स्वास्थ्य मन्त्रालयको मूल्याङ्कनमा समेत उत्कृष्ट बन्न सफल भएको छ । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने टोलीले अस्पतालको स्थलगत अध्ययन गरी दिएको अङ्कको आधारमा भक्तपुर अस्पतालले उत्कृष्ट अङ्क हासिल गरेको हो । उक्त मूल्याङ्कन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो । अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा अर्जुन सापकोटाले बताए । गत वर्ष यस्तै मूल्याङ्कनमा भक्तपुर अस्पतालले आफ्नो खराब अवस्थाका कारण ३८ अङ्कमा चित्त बुझाउनु परेको थियो । भक्तपुर अस्पताल कुनै बेला रिफरल अस्पतालको रूपमा परिचित थियो । यहाँको सेवाप्रति जनताको विश्वास हट्दै गएको थियो । उपचारका लागि दक्ष जनशक्तिको अभाव थियो । दरबन्दीअनुसारको चिकित्सक पाउन मुस्किल थियो । एक्स–रे, ल्याबलगायतको सेवा नियमित थिएन तर अहिले अवस्था फेरिएको छ । अस्पतालले बितेको एक वर्षमा गरेको एकपछि अर्को सुधारका कार्यक्रमले अस्पतालको साख बढ्न थालेको छ । अस्पतालप्रति स्थानीयवासीको विश्वास बढ्न थालेको छ । प्रदेशस्तरीय भक्तपुर अस्पतालमा हाल १०२ शय्या छन् । तीमध्ये १० शय्या इमर्जेन्सी सेवामा छ भने बाँकी ९२ श्ययामध्ये कोरोना स्ङ्क्रमितका लागि २०, प्रसूति सेवाका लागि २५, मेडिकल वार्डमा २१, सर्जिकल वार्डमा २० र आइसियुमा छ शय्या छन् । त्यस्तै यस अस्पतालमा तीन वटा भेन्टिलेटर सञ्चालनमा रहेको छ । केही महिनापछि हाइकेयर युनिट (एचसियु)को रूपमा ७५ शय्या सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् । “एचसियुका लागि आवश्यक सामग्रीको लागि बोलपत्र आह्वान गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने तयारी भइरहेको छ”, उनले भनिन् । भक्तपुर अस्पतालले एक वर्षमा एक हजार ६६२ वटा शल्यक्रिया गर्न सफल भएको मेसु गौतमले बताइन् । “पहिलाजस्तै अलिकति क्रिटिकल भयो कि रिफर गर्ने सिस्टम पूर्णरूपमा बन्द गरिसक्यौँ । हामीसँग भएको इक्विपमेन्टले भ्याएसम्म सबै शल्यक्रिया यही गरिरहेका छौँ । एक÷दुई वटा हामीले गर्न नसकेको मात्र रिफर गरी पठाएका छौँ ।” अस्पतालको सेवाले गति लिए पनि दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी अझै पाउन नसकेको मेसु गौमतले गुनासो गरिन् । दरबन्दीअनुसार नेपाल सरकारका १२९ जना स्वास्थ्यकर्मी अस्पतालमा हुनुपर्ने भए पनि हाल ५५ जना मात्र उपलब्ध भएको उनले बताइन् । “सरकारको दरबन्दीअनुसार अस्पतालमा १२९ हुनुपर्नेमा जम्मा नेपाल सरकारबाट ५५ जना उपलब्ध छन् । बाँकी सबै व्यवस्थापन समिति, नेपाल सरकारको करार र विभिन्न कार्यक्रममार्फत पूर्ति गरिरहेका छौँ”, उनले भनिन् । अस्पतालमा हाल १४५ स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन । तीमध्ये नर्स र अनमी ४२, पारामेडिक आठ, पिसीआरसहित ल्याबमा १२, रेडियोग्राफर चार, विकास समितिका ५२, लेखा, प्रशासन, स्टोरमा एक एक जना, स्वास्थ्य बीमाका चार जना कार्यरत छन् । भक्तपुर अस्पतालमा हालै ल्याप्रोस्कोपी सर्जरीसमेत शुरु भएको छ । छिट्टै पार्किन्सोनिजम (बिर्सिने रोग)को उपचार थाल्ने प्रक्रिया अगाडि बढाएको मेसु गौतमले बताइन् । साथै आँखाको शल्यक्रिया गर्ने सेवा विस्तार गर्न तिलगङ्गा अस्पतालमा कुराकानी भइरहेको जानकारी दिँदै उनले भनिन्, “अपाङ्गता भएका बच्चा नजन्मियोस् भन्ने परीक्षण गर्ने र सानासाना नानीका लागि छ शय्याको आइसियु सञ्चालन गर्ने लक्ष्यका साथ अस्पताल परिवार अगाडि बढेको छ ।” अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । “शल्यक्रिया, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियो थेरापी, आँखा तथा चस्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिरहेको छ”, मेसु गौतमले भनिन् । त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवासमेत दिने व्यवस्था गरेको मेसु डा गौतमले जानकारी दिइन् । अस्पतालले पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवासमेत सञ्चालनमा ल्याएको छ । अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याइएको हो । साथै खुट्टा, छाती, पेटलगायत विशेष अङ्गको भिडियो एक्सरे सेवा र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ । अस्पतालका सूचना अधिकारी डा सुनिल ढुङ्गेलले अस्पतालमा अहिले सहकार्य र टिम वर्कको विकास भएकाले सुधार आएको बताए । उनले भने, “पहिला अस्पतालमा टिम वर्क हिसाबले काम गरौँ भन्दा मनमुटाव हुने अनेकौँ समस्या आउँथ्यो तर त्यो सबै हराए । सबै जना मिलेर काम गरेकाले अहिले काम गर्ने वातावरण एकदमै उत्साहजनक देखिएको छ ।” कोरोनाले जुटाएको अवसर विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसले हरेक क्षेत्रलाई असर गरे पनि स्वास्थ्य क्षेत्रमा भने अवसर पनि जुटाइदिएको छ । यसको एउटा प्रत्यक्ष उदाहरण भक्तपुर अस्पताल पनि बनेको छ । अस्पतालले कोरोना महामारीका बीच नै भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा ल्यायो । कोरोनाको जोखिमका कारण अन्य अस्पतालले नियमित सेवा बन्द गरेको अवस्थामा भक्तपुर अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सबै सेवालाई नियमित सञ्चालन गर्यो । यसले सरकारी अस्पताल जनताको अस्पताल हो भन्ने सन्देश दिन सफल भएको अस्पतालका अर्का चिकित्सक डा दीपक भण्डारीले बताए । उनले भने, “पहिला आइसियु सञ्चालन गर्न नसकेको अस्पतालमा कोभिडको बेला आइसियु सञ्चालन गरेर सबै सेवा यही उपलब्ध गरायौँ । अरुबेला रिफर गर्नुपर्ने केसहरु कुनै पनि रिफर गर्नु परेन । यसले गर्दा जनताको विश्वास जित्न सफल भयौँ ।” भक्तपुर अस्पतालले स्थापनाको ११६ वर्षपछि गत आश्विन पहिलो सातादेखि आइसियु सञ्चालनमा ल्याएको हो । सरकारले कोरोना ‘हब’ अस्पताल बनाएपछि भक्तपुर अस्पतालले वर्षौंदेखि थन्किएका सामान र आइसियुका भेन्टिलेटरसहितका उपकरण र वाग्मती प्रदेश सरकारले पठाएको सामग्रीबाट पाँच वटा भेन्टिलेटर र छ शय्याको आइसियु सञ्चालनमा ल्याएको छ, तीमध्ये तीन वटा भेन्टिलेटरसहित चार शय्या कोरोना सङ्क्रमितका लागि छुट्याइएको छ । मेसु गौतमले भन्नुभयो, “अस्पताललाई आइसियु अतिआवश्यक भइसकेको थियो । अस्पतालको सिङ्गो समूह मिलेर आइसियु ब्लक निर्माणदेखि अन्य सबै तयारी पूरा गरी करारमा नयाँ जनशक्ति थप गरेर सेवा सञ्चालनमा ल्यायाैँ ।” अस्पतालले सरसफाइ क्षेत्रमा पनि उल्लेख्य सुधार गरेको छ । कुनै बेला दुर्गन्धले भरिपूर्ण हुने यस अस्पतालमा अहिले फोहोरको उचित व्यवस्थापन हुँदै आएको छ । अस्पतालले बायोग्यास प्लान्ट स्थापना गरेको छ । प्लाष्टिक र कागजजन्य फोहोरको व्यवस्थापनका लागि नगरपालिकासँग सम्झौता गरेको छ । अस्पतालको स्थापना राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा विसं १९६१ असार १७ गते ‘चन्द्रलोक डिस्पेन्सरी’का नामबाट भएको हो । विसं २०२८ मा ५० शय्याको जिल्लास्तरीय अस्पतालको रूपमा सेवा विस्तार हुँदै २०६१ भदौमा २५ शय्याको प्रसूतिगृह थप गरी ७५ शय्या सञ्चालनमा आएको थियो । रासस
कोरोनाका कारण ६०० बढी पत्रकारको मृत्यु
जेनेभा । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ । प्रेस एम्ब्लेम क्याम्पेन ९पीईसी०ले विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । तीमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेका छन् । त्यसैगरी एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ । स्विट्जरल्याण्डको जेनेभामा कार्यालय रहेको यस संस्थाले पत्रकारहरु समाचार सङ्कलन तथा प्रसारणका लागि सम्बन्धित ठाउँमा नै जानु पर्ने भएकाले उनीहरुमा सङ्क्रमणको खतरा धेरै रहेको बताइएको छ । “पत्रकारहरु स्थलगत रुपमा काम गर्नु पर्ने व्यावसायिक प्रकृतिका भएकाले सङ्क्रमणको सम्भावना बढी हुन्छ, त्यसैले उनीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन पनि प्राथमिकता दिनुहुन सबैलाई अनुरोध छ,” पीईसीका महासचिव ब्लैस लेम्पेनद्वारा जारी वक्तव्यमा लेखिएको छ । फोटो तथा भिडियो सङ्कलन गर्ने, स्थलगत समाचार सङ्कलन गर्ने, स्टुडियोमै गएर समाचार सामग्री प्रस्तुत गर्ने, घटनास्थलमै गएर रिपोर्टिङ गर्ने पत्रकारहरुले घरमै बसेर काम गर्न नमिल्ने भएकाले पनि पत्रकारहरु बढी खतरामा रहेको उनको भनाइ छ । देशअनुसार हेर्दा कोरोनाका कारण सबैभन्दा बढी पत्रकारको मृत्यु पेरुमा भएको देखिएको छ । पेरुमा ९३ जनाको मृत्यु भएको उल्लेख छ । दोस्रो धेरै ब्राजिलमा ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने भारतमा ५३ जना, मेक्सीकोमा ४५ जना र इक्वेडरमा ४२ जनाको मृत्यु भएको छ । त्यसैगरी बङ्गलादेशमा ४१ जना, इटलीमा ३७ जना र अमेरिकामा ३१ जनाको मृत्यु भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस