सभापोखरी गाउँपालिकामा आधारभूत अस्पताल शिलान्यास
किमाथाङ्का । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल शिलान्यास भएको छ । ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो । केन्द्रीय सरकारले ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पुर्याउन देशभर अस्पताल निर्माण तीव्र बनाएको छ । शनिबार एक कार्यक्रमका बीच सभापोखरी गाउँपालिका–२ बगैँचामा पाँच शय्या क्षमताको आधारभूत अस्पताल शिलान्यास भएको हो । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष रत्न सुब्बाले यो क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिन घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने बाध्यता चाँडै हट्ने बताए । अध्यक्ष सुब्बाले भने, “अब आफ्नै गाउँमा अस्पताल बनेपछि यहाँका नागरिकले सदरमुकाम खाँदबारी र अन्य जिल्ला जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे । केन्द्रीय सरकारको नीतिअनुसार गत मङ्सिर १५ गते शिलान्यास हुनुपर्ने भए पनि प्राविधिक कारणले सभापोखरी गाउँपालिकामा आधारभूत अस्पताल शिलान्यास गर्न ढिला भएको बताइएको छ । गाउँपालिका उपाध्यक्ष सीता दाहालले अस्पतालबाट ११ हजारभन्दा बढी नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने बताइन् । गाउँमै सुविधासम्पन्न अस्पताल बन्ने भएपछि स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । त्यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल नहुँदा निजी स्वास्थ्य संस्था तथा सदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता थियो । सभापोखरीमा सात करोड ११ लाख ९८ हजार लागतमा भवन निर्माण हुनेछ । सङ्खुवासभाको खाँदबारी, पाँचखपन, धर्मदेवी, चैनपुर नगरपालिका र चिचिला गाउँपालिकामा केन्द्रीय सरकारको नीतिअनुसार नै गत मङ्सिर १५ गते अस्पताल शिलान्यास भइसकेका छन् ।
बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव
काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन् । शिक्षा पत्रकार समाजले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा पोषणविद् डा अरुणा उप्रेती, जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेलगायतले विद्यालय सञ्चालन भएको या नभएको अवस्थामा पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिन नसकिए उनीहरुको स्वास्थ्य जीवन र असल सिकाइमा नकारात्मक असर पर्ने बताएका हुन् । डा उप्रेतीले घर र वरिपरि पाइने खानालाई छाडेर पत्रु खाना खाएर स्वास्थ्य बिगार्ने वा खाना नखाएर कुपोषित हुने स्थिति ल्याउने अभिभावकले जानी नजानी आफ्ना बच्चाको जीवन बर्बाद पारिरहेको टिप्पणी गरे । उनले भने, “गरीब हुँदैमा खान नसक्ने भन्ने हुँदैन, आफ्नो स्थानीय उत्पादन र घरको खाना खान सकिन्छ, चाउचाउ खान सक्नेले आलु पोलेर खान सक्छ, कोदो र फापर खाएर अझ पोषिलो बन्न सक्छ ।” डा पाण्डेले सबै स्थानमा विद्यालय खोल्ने स्थिति अझै नभएको र खोल्नु परेमा अनिवार्य मास्क लगाउने, हात धुने र सेनिटाइजर लगाउन छोड्न नहुने सुझाव दिए । उनले शहरी क्षेत्रमा अन्य व्यवसाय खुले पनि विद्यालय खुलेमा र जनस्वास्थ्यका मापदण्ड पालना नभएमा विद्यालयबाट समुदायस्तरमा दोस्रो लहरको महामारी फैलन सक्ने बताए । शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले विज्ञहरुका सुझावका आधारमा जनस्वास्थ्यका मापदण्ड पालना गरी शैक्षिक क्रियाकलाप अघि बढ्नुपर्ने बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका सचिव देवी खड्काले जनस्वास्थ्यका विषयवस्तुबारे अभिभावकलाई सचेतना फैलाउन आवश्यक रहेको जनाउँदै महासङ्घबाट पनि कार्यक्रम सञ्चालन गरिएको बताए । काठमाडौंको पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारीले विद्यालयमा नर्सको समेत व्यवस्था भएकाले पत्रु खाना निषेध गराइएको जानकारी दिए । ललितपुरको आदर्शशौल युवक माविका प्रधानाध्यापक सरोजभक्त आचार्यले दैनिक तीन सत्रमा सञ्चालन हुनेगरी जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन भइरहेको बताए ।
कर्णालीका तीन जिल्लामा काेराेना सङ्क्रमितको सङ्ख्या शून्य
कर्णाली । कर्णालीका तीन जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबै सङ्क्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन् । यसअघि रुकुमपश्चिममा २५५, कालीकोटमा ३२८ र मुगुमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विभिन्न आइसोलेशनमा उपचाररत सङ्क्रमित हाल निको भई घर फर्किसकेका छन् । सामाजिक विकास मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार सुर्खेतमा ९७, दैलेखमा दुई, जाजरकोटमा १४, सल्यानमा ३१, जुम्लामा छ, हुम्लामा ११ र डोल्पामा नौ जनागरी १७० कोरोना सङ्क्रमणका सक्रिय बिरामी छन् । मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हालसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात हजार ३५७ पुगेको जानकारी दिए । आरडिटी र पिसिआर विधिबाट ९६ हजार १०२ जनाको गरिएको परीक्षणमध्येबाट सात हजार ३५७ जनामा सङ्क्रमण पहिचान भएको हो । कर्णालीका प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल दैलेख र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमका प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतका १५ जना छन् । त्यस्तै दैलेखका छ, डोल्पा, कालीकोट, रुकुमपश्चिमका एक÷एक तथा सुर्खेतमा उपचारका क्रममा बाँकेका दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।