काभ्रेको रोशी गाउँपालिकामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न, स्थानीय महिला लाभान्वित
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा स्त्री रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोशी गाउँपालिकासंग सहकार्य गरी विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने स्त्री रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन भएको हो । रोशी गाँउपालिकाको वडा नं १,२,३ र नमोबुद्ध नगरपालिकाको वडा नं ८ र ९ का स्थानीय महिलाहरुका लागि लक्षित गरी शिविरको आयोजना गरिएको विन्धवासिनी साकोस, भकुण्डे सेवा कार्यालयका कार्यालय ब्यवस्थापक राजेन्द्र श्रेष्ठले जानकारी दिए । धुलिखेल अस्पताल र रोटरी क्लब अफ पनौतीको प्राविधिक सहयोग तथा स्माईल केयर फार्मेसी बनेपाको ब्यवस्थापनमा रोशी अस्थायी अस्पतालमा संचालित शिविरमा १ सय ३० जना महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । ग्रामिण भेगका अधिकाशं महिलाहरुले आफु भित्र रहेको गुप्त रोगहरु अरुले केही भन्लान की भन्ने डर र लाजका कारण लुकाउने र पछि त्यही रोग फैलिएर क्यान्सरसम्म हुन सक्ने सम्भावना भएकाले घरदैलोमै संचालित शिविरबाट महिलाहरुले धेरै लाभ लिन सक्ने भएकाले शिविर निकै प्रभमवकारी रहेको धुलिखेल अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले बताए । पाठेघरको मुखको क्यान्सर परीक्षण सहित निःशुल्क औषधी वितरण गरिएको उक्त शिविरमा रोशी गाँउपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तोला, वडा श्रीदास लामा, बिन्धबासिनी साकोसका संचालक सदस्य भिमबहादुर के.सी, शिक्षा उप समितिका सदस्य प्रकाश कायस्थ, विभागीय व्यवस्थापक मित्रप्रसाद दाहाल, कार्यालय व्यवस्थापक राजेन्द्र श्रेष्ठ, स्माईल केयर फार्मेसीका निर्देशक पवन अधिकारी लगायतको सहभागिता रहेको थियो ।
बेइजिङमा मात्रै दश लाख बढीले पाए कोरोनाको खोप
बेइजिङ । चीनको राजधानी बेइजिङ्मा मात्रै दश लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । उनीहरु सबैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अहिलेसम्म विकास भएका कोरोनाका खोप हरेक व्यक्तिले दुई चरणमा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । कोरोना भाइरसको उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिएर अहिले उनीहरूलाई मात्रै खोप लगाइएको पनि महानगर स्वास्थ्य आयोगले जनाएको छ । आयोगका उप निर्देशक गोओ जियनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप पनि लगाउने तयारी भइरहेको छ । कोरोना विरुद्धको खोप लगाउदा पहिलो चरणको खोप लगाएको २१ दिनमा दोस्रो चरणको खोप लगाउन पर्ने सिफारिस चिकित्सकहरूको छ । स्वास्थ्य सेवा, घरेलु यातायातलगायतका सेवामा अग्रपङ्तिमा रहेर काम गरिरहेकाहरूलाई प्राथमिकतामा राखेर खोप दिइएको हो । फेब्रुअरी १२ मा चिनियाँहरूको महत्वपूर्ण पर्व ‘स्प्रिङ फेस्टिवल’ पर्ने भएकाले त्यस अगाडि नै खोप लगाउने अभियान सम्पन्न गर्ने महानगरका अधिकारीहरुको तयारी छ । रासस/सिन्ह्वा
खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुन्छ: स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउएका हुन् । खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको र खोप आयात भएको ७ दिन भित्रमा वितरण शुरु भइसक्ने पनि बताए । खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्र, ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरु परिचालन गरिने पनि उनले बताए । उनले भने, ‘खोप आउँछ । निस्चित रुपले हामी समयमै लगाउँछौं र यो अभियानको रुपमा जान्छ । न्यायपूर्ण ढंगले यसको वितरण हुन्छ । त्यसका अरु तयारीहरु भइसकेको अवस्था छ । करिब १६ हजार खोप केन्द्रहरु सञ्चालनमा रहेका छन तिनलाई परिचालन गरिने छ । यस कार्यक्रममा खटनको लागि करिब ५ हजार कर्मचारी छन र ५२ हजार महिला स्वंयसेविकाहरु परिचालन गर्ने अवस्था हामीसँग छ । भण्डारण हामीसँग पुग्दो छ । ढुुवानीको लागि पनि सुनिस्चित अवस्थामा पु¥याइसकेका छौं ।’ खोपको प्राप्ती अन्य व्यवसायीक वस्तुको प्राप्ती जस्तो नभई राजनीतिक वस्तुको रुपमा देखा परेकाले आपूर्तिमा समस्या भएको तरपनि सरकारले खोप आयातका लागि राजनीतिक पहल गरिरहेको उनले बताए । निजी क्षेत्रलाई पनि खरिद प्रक्रियाबाट टाढा राख्न नचाहेको मन्त्री त्रिपाठीले स्पष्ट पारे । पहिले सरकार सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउने र त्यसपछि निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्ने उनले बताए । खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी लगायत अग्रपंतिमा रहेका व्यक्तिहरुलाई, ५५ वर्ष उमेर माथिका र दिर्घ रोगिहरुको लागि उपलब्ध गराइने उनले बताए । उनले भने, ‘मुख्य जोखिममा रहेका जनसंख्या ३ प्रतिशत स्वास्थ्यकर्मी लगायत अग्रपंतिमा कार्यरत व्यक्तिहरुलाई, ५५ वर्ष उमेर माथिका र दिर्घ रोगीहरुको लागि र अर्को २० प्रतिशत जनसंख्यामा यस विषयमा तथ्याङ्क संकलन गर्ने कुरा केही पुरा भइको छ भने केही लिने प्रक्रियामा छौं । कानूनी जटिलताहरु समाप्त भइसकेको अवस्था छ । आर्थिक रुपले अर्थमन्त्रालयले रकम सुनिस्चित गरिसकेको अवस्था छ ।’ नेपालमा छिमेकी राष्ट्रमाभन्दा धेरै पछाडि खोप लगाउनुपर्ने अवस्था नआउने पनि मन्त्री त्रिपाठीले बताए ।