काेराेना भाइरस: पूरानाेभन्दा नयाँ खतरा, संक्रमणदर पनि उच्च
काठमाडौं । नेपालमा भेटिएको नयाँ प्रजातीको कोरोना भाइरस पूरानो भन्दा खतरा भएको बताइएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पूरानोभन्दा नयाँ प्रजातीको कोरोना भाइरस खतरा देखिएको हो । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ प्रजातिको कोरोना देखिएको जनाएको छ । बेलायतबाट आएका तीन जना व्यक्तिमा देखिएको यस नयाँ प्रजातिको कोरोना भाइरस बेलायतमा देखिएको कोरोना भाइरस रहेको पुष्टि भएको छ । गत सेप्टेम्बरमा पहिलोपल्ट बेलायतमा देखिएको यस नयाँ कोरोना भाइरस हालसम्म ४५ वटा दशमा फैलिसकेको छ । बेलायत लगायत अन्य देशमा यसकाे कारण पुन: लकडाउन घाेषणा गरिएकेा छ । यस नयाँ प्रजातिको कोरोना भाइरस यस अगाडिको प्रजातिभन्दा उच्च गतिमा एक देखि अर्को व्यक्तिमा सर्ने बताइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाको अनुसार पनि हालसम्मको अध्यनले यस नयाँ प्रजातिको भाइरसको संक्रमण दर उच्च रहेको देखाएको बताइन् । यस बाहेक नयाँ प्रजातीकाे भाइरसको बारेमा थप जानकारी नरहेको उनी बताउँछिन् ।
नेपालमा पनि देखियाे नयाँ प्रजातिकाे काेराेना भाइरस
काठमाडाैं । नेपालमा पनि नयाँ प्रजातिकाे काेराेना भाइरस देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । बेलायतबाट आएका तीन नेपालीमा नयाँ प्रजातीकाे काेराेना भाइरस देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । साेमबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले उक्त नयाँ भाइरस बेलायतमा देखिएकाे नयाँ भेरियन्ट भएकाे पुष्टि भएकाे जनाएकाे छ । मन्त्रालयले यस राेगकाे भ्याक्सिन नआउन्जेलसम्म सबै प्रकारकाे स्वास्थ्य मापदण्ड पालन गर्न समेत आग्रह गरेकाे छ । बेलायतमा यस नयाँ प्रजातिकाे भाइरस निकै उच्च मात्रामा फैलिएकाे कारण केही समययता लकडाउन गरिएकाे छ । संक्रमण पुष्टि भएकाहरू केही दिनअघि बेलायतबाट नेपाल आएका ६७ र ३२ वर्षीय पुरुष छन् भने एक जना २८ वर्षीया महिला हुन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नमुना परीक्षणमा संक्रमण पाइएका २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको आरटी(पीसीआर नेगेटिभ भइसकेको छ भने ६७ वर्षीय पुरुषमा कुनै बाहिरी लक्षण देखिएको छैन।
तम्घासस्थित कोरोना प्रयोगशालाका कर्मचारीले ३ महिनादेखि पाएनन् पारिश्रमिक
तम्घास । गुल्मीको सदरमुकाम तम्घासस्थित कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । प्रयोगशालामा कार्यरत टेक्नोलोजिस्ट दुई, टेक्निसियन तीन, असिस्टेन्ट दुई, कम्प्युटर अपरेटर एक, हेल्पर एक र एकजना कुकले पारिश्रमिक नपाएका हुन् । उनीहरूले ८ असोज २०७७ सालदेखि कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा काम गर्न थालेका थिए । जिल्ला विपद् व्यवस्थापन समिति बैठकले २०७७ साल जेठ ३१ को कोभिड–१९ प्रयोगशाला र आइसोलेशन सेन्टर सञ्चालन गर्न प्रतिनगरपालिकाले १५ लाख र प्रतिगाउँपालिकाले १० लाख उपलब्ध गराउने निर्णय गरेको थियो । तर केही स्थानीय तहले अहिलेसम्म रकम नदिएपछि प्रयोगशालाका १० कर्मचारी पारिश्रमिकबाट वञ्चित भएका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार गुल्मी दरबार, सत्यवती र चन्द्रकोट गाउँपालिकाले रकम उपलब्ध गराएका छैनन् । अहिलेसम्म रेसुङ्गासहित इस्मा, मालिका, धुर्कोट, रुरु क्षेत्र र छत्रकोट गाउँपालिकाले रकम उपलब्ध गराएको रेसुङ्गा नगरपालिकाका कार्यक्रम अधिकृत विनोद मरासिनीले जानकारी दिए । कालीगण्डकी गाउँपालिकाले रु पाँच लाख दिएको र बाँकी रकमका लागि प्रक्रियामा रहेको मरासिनीले बताउनुभयो । उहाँका अनुसार मुसिकोट नगरपालिकाले १० लाख र मदाने गाउँपालिकाले १० लाख उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको छ । सबै स्थानीय तहको समन्वय र सहयोगमा रेसुङ्गा नगरपालिकाले नेतृत्व गरेर कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरिएको थियो । उपकरण र जनशक्ति व्यवस्थापनमा शुरुबाटै रकम अभाव भए पनि केही स्थानीय तहले अहिलेसम्म रकम नदिँदा समस्या भएको हो । आफूहरूले सक्ने रकमबाट प्रयोगशाला र आइसोलेशन व्यवस्थापन गरे पनि रकम दिन बाँकी रहेका स्थानीय तहले नदिएसम्म स्वास्थ्यकर्मीलाई पारिश्रमिक उपलब्ध गराउन नसकिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी बताउँछन् । प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीले नै पारिश्रमिक नपाएपछि जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगरपालिका प्रमुख र गुल्मी अस्पताल प्रमुखलगायतलाई ध्यानाकर्षण गराएको मेडिकल ल्याब टेक्नोलोजिस्ट मुना क्षेत्रीले जानकारी दिए । कोरोना सङ्क्रमणका बेला जोखिम मोलेरै काम गरेका स्वास्थ्यकर्मीले नै पारिश्रमिक नपाउनु लापर्वाही भएको उनको गुनासो छ । स्वास्थ्यकर्मीको टोलीले ५ पुस २०७७ सालमा जिल्ला अस्पतालमार्फत जिल्ला समन्वय, जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । त्यसको सुनुवाइ नभएपछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ रुद्रादेवी शर्माकोसमेत ध्यानाकर्षण गराएको ल्याब टेक्निसियन दीपेन्द्र पन्थीले बताए । उनीहरूलाई गुल्मी अस्पतालले सार्वजनिक सूचना प्रकाशन गरेर भर्ना गरेको कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासका प्रमुख केपी भण्डारीले जानकारी दिनुभयो । स्थानीय तहले रेसुङ्गा नगरपालिकाको खातामा रकम दिएपछि त्यसैबाट पारिश्रमिक उपलब्ध गराउने सहमति भएको उनले बताए । रासस