बागलुङकाे काठेखोला गाउँपालिकामा अस्पताल बनाउन निःशुल्क जग्गा

गलकाेट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न यहाँका स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन जग्गा अभाव भएको भन्दै यहाँका नौ जना स्थानीयवासीले करिब आठ रोपनी जग्गा स्वास्थ्यचौकीको नाममा निःशुल्क नामसारी गरेका छन् । आफ्नै गाउँ ठाउँमा अस्पताल बन्न जग्गा अभाव भएपछि यहाँका उनीहरूले निःशुल्क जग्गा उपलब्ध गराएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । “गत वर्ष अस्पताल निर्माणका लागि बजेट आए पनि स्वास्थ्यचौकीका नाममा जग्गा नहुँदा बजेट फिर्ता भयो”, लामिछानेले भने, “अहिले स्वास्थ्यचौकीका नाममा मौजुदा जग्गासहित १३ रोपनी जग्गा पुर्याएका छौँ, अब अस्पताल बनाउनका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।” अस्पताल बनाउनका लागि स्वास्थ्यचौकी नजिकै रहेको जग्गा स्थानीयवासीले दिएका हुन् । अस्पताल बनाउन विष्णुप्रसाद शर्माले नौ आना, मुरारीप्रसाद शर्माले एक रोपनी पाँच आना, दुर्गाप्रसाद शर्माले एक रोपनी, डण्डपानी शर्माले एक रोपनी चार आना, होमनाथ शर्माले आठ आना, पणनाथ शर्माले छ आना, तिलबहादुर क्षत्रीले एक रोपनी, पवित्रा कार्कीले एक रोपनी दुई आना र खीलानाथ शर्माले १२ आना जग्गा स्वास्थ्यचौकीको नाममा नामसारी गरेका छन् । यसअघि लीलाधर शर्मा, श्यामप्रसाद शर्मा र श्याम शर्मालगायतले पाँच रोपनी जग्गा स्वास्थ्यचौकीका नाममा प्रदान गरिसकेका थिए । जग्गालाई एकीकृत गर्नका लागि स्वास्थ्यचौकीले स्थानीयवासीको सक्रियतामा दुई रोपनी जग्गा खरिदसमेत गरेको छ । आफ्नै गाउँमा सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि निःशुल्क जग्गा स्वास्थ्यचौकीको नाममा पास गरिदिएको जग्गादाता विष्णुप्रसाद शर्माले बताए । रेश स्वास्थ्यचौकी भएको जग्गाको लालपुर्जा नहुँदा अस्पताल निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले जग्गा उपलब्ध गराएको वडाध्यक्ष लामिछानेले बताए । जग्गादाताले स्वास्थ्यचौकीका नाममा एक हप्ता अगाडि मात्रै जिल्ला मालपोत कार्यालय बागलुङबाट जग्गा नामसारी गरिदिएका थिए । जग्गा स्वास्थ्यचौकीको नाममा आइसकेपछि अस्पताल बनाउनका लागि प्रक्रिया थालिएको र आगामी वर्ष बजेट आउने अपेक्षा गरिएको छ । सरकारले हरेक पालिकामा १५, १० र पाँच शय्याको अस्पताल बनाउने निर्णयानुसार रेशमा अस्पताल बनाउन जग्गा व्यवस्थापन गरिएको हो । रासस

सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार खोप आउँदै

महेन्द्रनगर । सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप यहाँ आउन लागेको बताए । उनले यहाँको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आउने खोप प्रादेशिक अस्पतालका साथै जिल्ला अस्पतालबाट लक्षित वर्गलाई लगाइने जानकारी दिए । यहाँ कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालको सरसफाइमा खटिने सरसफाइकर्मीमा उक्त खोप लगाउने तयारी रहेको निर्देशनालयले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार यहाँका जिल्लाबाट करीब १४ हजार ६६६ स्वास्थ्यकर्मी, १२ हजार ७० सुरक्षाकर्मीको तथ्याङ्क निर्देशनालयमा पुगेको जोशीले बताए । सोमध्ये बढी कैलालीमा तीन हजार ९४ स्वास्थ्यकर्मी र चार हजार ७१९ सुरक्षाकर्मी कोराना विरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । भारत सरकारले अनुदानमा दिएको कोरोना खोप केही दिनअघि मात्रै नेपाल आइपुगेको थियो ।

कर्णालीका १० जिल्लाले कोरोनाविरुद्ध ११ हजार खोप आज पाउने

कर्णाली । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले जानकारी दिए । “चिकित्सक तथा स्वास्थ्यकर्मीपश्चात दोस्रो चरणमा सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतका लागि खोप मगाउँछौँ”, उनले भने, “यस प्रदेशका निम्ति कति परिमाणमा खोप आवश्यकता हो भन्ने नभई ढिलो चाँडो खोप सबैले लगाउनुपर्छ ।” उनका अनुसार स्वास्थ्य तथा सङ्ख्या मन्त्रालयले यस प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन खोप अभियानको संयोजक तोकिसकेको छ । उनले खोप लिएर आउने र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग सहकार्य गर्दै खोप अभियानबारे केन्द्रसँग समन्वय गर्ने जनाइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले प्रदेशमा खोप लगाउन पूर्वतयारीको काम थालिएको र छिट्टै स्वास्थ्य मन्त्रालयको मापदण्डबमोजिम यसलाई अघि बढाइने बताए ।