पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
काठमाडाैं । सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । मनमोहन मेमोरीयल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिना भित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमती गरेको थियो । उक्त सहमतीको तीन महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु धर्नामामा बसेर विरोध जनाएका हुन् । व्यवस्थापनले आफुहरुको कामको अवमुल्यन गरेको, यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको कर्मचारीहरुको भनाई छ । आफुहरुको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उनीहरुको भनाई छ ।। श्रमिकको माग पुरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतको माग राखिएको छ ।
नर्भिकमा मुटुको नशाको बिना शल्यक्रिया उपचार सुरु, नेपालमै पहिलाे
काठमाडाैं । मुटुको नशामा अधिक क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको बिना चिरफार नेपालमै पहिलाेपटक उपचार भएकाे छ । याेसँगैं नेपालमा यस अवस्थाकाे पनि उपचार सुरु भएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलका वरिष्ठ मुटु रोग विशेषज्ञ यादवकुमार भट्ट नेतृत्वको टिमले यूरोप/अमेरिकामा मात्र संम्भव प्रविधि प्रयोग गरी यस्ताे अवस्थामा रहेका एक ८० वर्षिया बिरामीको सफल उपचार गरेकाे हाे । भट्ट नेतृत्वको टिमले अधिक क्याल्सियमका कारण बन्द भएको मुटुको नशा बिनाचिरफार खुलाउने विशेष खालको शल्यक्रिया गरेका हुन् । यस्तो शल्यक्रिया नेपालमै पहिलोपटक भएको हो । डा. भट्टको टिमले अल्ट्रासाउण्डिङ वेभको साहाराबाट नशामा भरिएको क्याल्सिम फुटाएर उपचार गरेका हुन् । नेपालमा मुटुको नशा च्यापिँदा त्यसलाई खोलेर स्टेन राख्ने प्रविधि अर्थात एन्जियोप्लाष्टीको उपचार समेत डा. भट्टले नै सुरुवात गरेका थिए ।
कोरोना खोप लगाएका भन्छन्: सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्
दमौली । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप लगाउँदै गर्दा चौधरीलाई मनमा केही डर पनि थियो । उनले खोप लगाए त्यसपछि भने उनी ढुक्क भए । “खोप लगाउनु दश मिनेटअगाडि पनि त्रासकै अवस्था थियो, मलाई पनि केही हुन्छ कि भन्ने डर थियो, तर खोप लगाइसकेपछि भने सबै डर हरायो”, चौधरीले भने, “खोप लगाएको पनि थाहा भएन, दुख्दा पनि दुखेन ।” चौधरीले खोप सुरक्षित रहेकाले प्राथमिकतामा परेका सबै स्वास्थ्यकर्मीलाई ढुक्क भएर खोप लगाउन आग्रह गरे । “केही असर देखिने भए खोप लगाएको केही मिनेटमै देखिन्छ, मलाई केही भएन”, उनले भने । म्याग्दे गाउँपालिकाका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठले महिलातर्फबाट पहिलो खोप लगाए । उहाँले पनि सबै स्वास्थ्यकर्मीलाई ढुक्क भएर खोप लगाउन आग्रह गरे । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आजदेखि दमौलीमा कोरोनाविरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो खोप लगाएका स्वास्थ्यकर्मीलाई चार हप्तापछि पुनः खोप दिइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार १८ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाइन्छ । “खोप लगाएकाहरुलाई केही असर नदेखिएकाले यो खोप प्रभावकारी छ भन्ने हामीले ठहर गरेका छौँ”, अधिकारीले भने, “सबै स्वास्थ्यकर्मीलाई ऊर्जा प्राप्त भएको छ ।” जिल्ला स्वास्थ्य कार्यालय तनहुँले माघ १९ गतेसम्म जिल्लाका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाउँदैछ । खोप लगाउनका लागि दमौलीमा तीनवटा खोप केन्द्र तोकिएको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १४ र १५ गते, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका र घिरिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १६ र १७ गते, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका र देवघाट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १८ र १९ गते खोप लगाइँदैछ । अधिकारीका अनुसार व्यास नगरपालिकाका ५५८, म्याग्दे गाउँपालिकाका ८२, ऋषिङ गाउँपालिकाका ९८, शुक्लागण्डकी नगरपलिकाका २६७, भीमाद नगरपालिकाका १७७, घिरिङ गाउँपालिकाका ६१, भानु नगरपालिकाका १७१, आँबुखैरेनी गाउँपालिकाका ७३, बन्दीपुर गाउँपालिकाका १०५ र देवघाट गाउँपालिकाका ८७ जनालाई खोप लगाइँदैछ । स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीका अनुसार सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायतलाई यो खोप लगाइँदैछ । प्रदेश सरकारले मङ्गलबार मात्रै तनहुँलाई १८९ भायल खोप उपलब्ध गराएको थियो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले खोप लगाएकालाई ३० मिनेट चिकित्सकको निगरानीमा राखिने र केही असर देखिए तत्कालै उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । रासस