नवलपुरमा फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा आगामी फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले स्वास्थ्य बीमा बोर्डबाट सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि यहाँ अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोटको काम अगाडि बढाइएको छ । स्वास्थ्य कार्यालय नवलपुरसँगको सहकार्यमा बोर्डले जिल्लाको गैँडाकोट, देवचुली र कावासोती नगरपालिकामा अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोट गरिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । फागुन पहिलो सातादेखि जिल्लामा शुरु हुन लागेको स्वास्थ्य बीमा कार्यक्रमका लागि माघ २८ गतेसम्म आठवटै स्थानीय तहका सबै वडामा दर्ता सहयोगी छनोट गरिने स्वास्थ्य बीमा बोर्ड काठमाडौँका अनुगमन तथा सुपरीवेक्षण शाखा प्रमुख शम्भु पौडेलले जानकारी दिए । छनोट भएका दर्ता सहयोगीलाई तीन दिनको तालीम प्रदान गरेर बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी भएको पौडेलले बताए । गण्डकी प्रदेशमा रहेका ११ मध्ये आठ जिल्लामा यसअघि नै बीमा कार्यक्रम सञ्चालन भइसकेका छन् । फागुनको पहिलो सातादेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भन्दै शाखा प्रमुख पौडेलले यसै आर्थिक वर्षभित्र मनाङ र मुस्ताङमा समेत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । विसं २०७२ मा सुदूरपश्चिमको कैलालीबाट शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम गण्डकी प्रदेशमा विसं २०७३ मा बागलुङबाट शुरु गरिएको थियो । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म मुलुकका ६५ जिल्लामा कार्यक्रम लागू भइसकेको छ । स्वास्थ्य बीमा गराएकाले एक हजार १३३ प्रकारका औषधिसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने पौडेलले बताए । पौडेलले पाँच जनाको परिवारले वार्षिक तीन हजार ५०० तथा त्यो भन्दा बढी भएमा प्रति थप व्यक्ति ७०० तिर्नुपर्ने बताए । स्वास्थ्य बीमा गरेपश्चात पाँच जनासम्मको परिवारले वार्षिक रु एक लाखसम्म तथा सोभन्दा बढी सदस्य रहेको परिवारले प्रति थप व्यक्ति २० हजारका दरले अधिकतम दुई लाखसम्मको निःशुल्क सेवा पाउने बताइएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य कार्यालय नवलपुरले समन्वय गर्दै हरेक स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख केशव चापागाईंले बताए । बीमा गरेको तीन महिनापछि सेवा प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयो । बीमा गर्ने व्यक्तिको पहिलो प्राथमिकतामा जिल्ला अस्पताल रहने भन्दै अन्य निजी अस्पतालमा उपचार गर्नका लागि जिल्ला अस्पतालबाट सिफारिस लैजानुपर्ने उनले बताए । “अहिले बीमासम्बन्धी चेतनाका कार्यक्रम तथा स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ” चापागाईंले भने, “यसपश्चात् दर्ता सहयोगीलाई तालीम प्रदान गरेर फागुनको पहिलो साताबाट जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमका लागि फाराम भर्ने काम हुन्छ ।” स्वास्थ्य बीमाका लागि सरकारी तथा गैरसरकारी, सबै सङ्घसंस्थाबाट रचनात्मक सहयोगको आवश्यकता रहेको चापागाईंको भनाइ छ । रासस
सुदूरपश्चिममा नौ हजार बढीले लगाए कोरोना विरुद्धको खोप
फाइल फाेटाे बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरुद्धको (कोभिशिल्ड) खोप लगाइएको छ । प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो । माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । प्रदेशमा सबैभन्दा बढी दुई हजार १८ जनालाई खोप लगाइएको छ । यस्तै अछाममा एक हजार १९५, बैतडीमा एक हजार ६५, कञ्चनपुर ९६४, डडेल्धुरामा ९४२, डोटीमा ९४०, दार्चुलामा ७४७, बझाङमा ६९१ र बाजुरामा ५११ जनलाई खोप लगाइएको हो । खोप कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशमा १२ वटा खोप केन्द्र तोकिएको छ । सरकारले सुदूरपश्चिमसहित देशका सबै प्रदेशमा यही माघ १४ गतेदेखि पहिलो चरणको कोरानाविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेको हो । पहिलो चरणमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक र कोरोनाका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाउने कार्य भइरहेको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप सङ्घीय सरकारले सुदूरपश्चिमका लागि ३६ हजार डोज खोप पठाएको थियो । सुदूरपश्चिममा यही माघ १४ गतेदेखि शुरु भएको पहिलो चरणको खोप अभियान माघ २८ सम्म सञ्चालन हुनेछ । प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए भने पहिलो खोप निर्देशक डा गुणराज अवस्थीले लगाएका थिए । रासस
डाेटीमा कोरोना खोप लगाएका ३३ मा सामान्य समस्या
डाेटी । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किसकिएको बताइएको छ । पछिल्लो केही दिनदेखि अस्पतालमै आएर कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले जानकारी दिए। उनका अनुसारखोप लागउनेमा महिला ५३२ तथा पुरुष ३४५ रहेका छन् । गएको बुधबार अर्थात् यही १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा जिल्लाभरिबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तहअनुसार पालैपालो खोप लगाउन शुरु गरिएको छ । खोप अभियान जिल्ला अस्पताल परिसरमा सञ्चालन भइरहेको छ । जिल्लामा जम्मा एक हजार ६२० डोज भ्याक्सिन आएको अस्पतालले जनाएको छ । सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालकलगायत जिल्लामा जम्मा एक हजार ५२६ जनालाई खोप लगाउने लक्ष्य लिइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, “हामी पहिलो चरणमा स्वास्थ्कर्मी, सरसफाइकर्मी तथा चालकलाई खोप लगाउँदैछौँ, त्यसपछि सरकारको निर्देशनअनुसार अन्यलाई लगाउनेछौँ ।” जिल्लामा सोमबारसम्म मात्रै खोप लगाउने निर्णय गरिएको भए पनि त्यो समय बढाएर यही माघ २२ गतेसम्म राखिएको छ । खोप लगाउन अझै केही सङ्ख्या बाँकी रहेकाले कोभिड खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णयअनुसार केही दिन समय बढाएको अस्पतालले जनाएको छ । रासस