देशभरि रहेका ६२ अस्पतालका १२० केन्द्रबाट काेभिड-१९ विरुद्धकाे खाेप लगाइने

काठमाडाैं । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौं उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्नेछन् । काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् । काठमाडौंमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंँ मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् । यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन् । उनले आज खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको निरीक्षणसमेत गरिएको बताए । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ । भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । खोप शाखाका निर्देशक डा गौतमले सबै प्रदेशमा खोप पुगिसकेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने छ । सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । सरकारले प्रथम चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको खोप लगाउनका लागि खोप ल्याउने तयारीमा रहेको छ । मन्त्रालयले खोपको समुचित प्रयोग गर्न र खेर जान नदिन आफूले नियमितसमेत गर्ने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन् । भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो । लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था मन्त्रालयले गरेको छ । खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ । खोपको अनुगमन जिल्ला कोभिड –१९ खोप समन्वय समितले गर्ने छ । क-कसले पाउँछन् ? पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ । नेपालमा अहिले कोभिड–१९ को सङ्क्रमण दुई लाख ६९ हजार ७८९ जनामा देखिएको छ । सङ्क्रमणबाट दुई हजार ११ जनाको निधन भइसकेको छ ।

प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

मोरङ । प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार ६०० भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताए । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा प्रदेशका १४ जिल्लासहित प्रदेश नं २ को सिरहा र सप्तरी जिल्लाका लागि पठाइएको खोप प्राप्त भएको उनले जानकारी दिए । प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार तीन, धनकुटाका ८३१, उदयपुरका एक हजार २३७, भोजपुरका एक हजार १७६, मोरङका १२ हजार ५६, इलामका एक हजार ६९०, ओखलढुङ्गाका एक हजार ३६६, खोटाङका एक हजार ६००, झापाका चार हजार ९७७, तेह्रथुमका ७२३, सङ्खुवासभाका ९४९, सोलुका ६८६, सुनसरीका पाँच हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाइने भएको छ ।

कर्णालीमा पुग्यो कोरोना खोप

काठमाडाैं । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश पुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत पुगेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार (भोलि) देखि खोप लगाउन शुरु गर्ने तयारी थालेको छ । निर्देशनालयका निर्देशक डा रविन खड्काले कर्णालीका १२ अस्पताललाई केन्द्र बनाएर खोप लगाइने बताए । उनका अनुसार आठवटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोनाविरुद्धको खोप लगाइनेछ । कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि नेपालगञ्जबाट हवाइमार्ग तथा अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्गबाट खोप ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा करिब २४ हजार खोप आइपुगेको र पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिइने निर्देशक खड्काको भनाइ छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने जनाएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा हालसम्म ९६ हजार ९३६ जनाको पिसीआर परीक्षण भएको छ । तीमध्ये सात हजार ४९५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनुका साथै २९ जनाको मृत्यु भइसकेको छ ।