दिल्ली क्यापिटल्सद्वारा सन्दीप फुकुवा
काठमाडाैं । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो । आइपिएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेबु्रअरी दोस्रो साता हुने बताइएको छ । लामिछानेलाई अब अर्को टोलीले आइपिएलका लागि लिने वा नलिने भन्नेबारे त्यही बेला टुङ्गो लाग्ने छ । दिल्लीले लामिछानेलाई सन् २०१८ को आइपिएलका लागि रु ३२ लाखमा पहिलोपटक टोलीमा अनुबन्ध गरेको थियो । त्यस वर्षको आइपिएलमा उहाँले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनैपनि खेलमा खेल्ने मौका दिइएको थिएन । दिल्लीले लामिछानेसँगै इङ्ग्ल्याण्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ ।
बुधबार ३१८ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ३१८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ३१८ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ३१० जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३ हजार ६९३ पुगेकाे छ । नेपालमा आजसम्म २० लाख २६ हजार ७२६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३८३ जना निकाे भएसँगैं हालसम्म २ लाख ६२ हजार ६४२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ६ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १९७५ पुगेकाे छ ।
भारतले कोरोना विरुद्दको १० लाख डोज खोप अनुदान दिने, बिहीबार नै काठमाडौं आइपुग्ने
काठमाडौं । भारत सरकारले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी भारतले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदान सहयोग गर्ने जानकारी दिईएको हो । मन्त्री त्रिपाठीले पहिलो चरणमा कोरोनाविरुद्दको खोप फ्रन्टलाइनमा खट्ने सरसफाईकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मी लगायतलाई दिईने बताए । खोपको लागि आवश्यक कानुनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक सबै तयारी पुरा भइसकेको उनले जानकारी दिए । आवश्यक खोप बिहीबार नै काठमाडौं आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिए । यति खोप मात्रै पर्याप्त नभएको भन्दै उनले बाँकी खोप नेपाल भित्राउन पनि खरिद प्रक्रिया अगाडी बढाउने उनको भनाई छ । फ्रन्टलाइनमा खट्नेहरुलाई पहिलो चरणमा खोप दिएपछि क्रमश अन्य जनसंख्यालाई खोप दिने मन्त्री त्रिपाठीले बताए । खोपको अभियान सफलतापूर्वक सञ्चालन गर्न मन्त्रालय तयार रहेको र ढिलो नगरीकन अगाडी बढाईने उनको भनाई छ ।