सिरहाको नयनपुर अस्पतालकाे आकस्मिकबाहेक सबै सेवा बन्द
लहान । स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो । ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको धनगढीमाई–९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए । उक्त अस्पतालको आकस्मिककक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरपछि सिरहामा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । सङ्क्रमितमध्ये सात जना आइसोलेसनमा, एक जनाको विराटनगर, एक जनाको धरानमा उपचार भइरहेको छ भने बाँकी होम आइसोलेसनमा छन् । रासस
बीर अस्पतालको नयाँ भवनलाई ५ सय शैयाको कोरोना अस्पताल बनाउने विषयमा छलफल
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् । सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका गरेका हुन् । काठमाडौं उपत्यकामा कोरोनाका बिरामीहरु बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सिसिएमसीले बिभिन्न विकल्पको खोजी गरिरहेको छ । उपप्रधानमन्त्री पोखरेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोनाका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएका थिए ।
पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री ढकालले यस्तो जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ ।’