झलनाथ खनालकाे स्वास्थ्य अवस्था सामान्य
काठमाडाैं । काेराेना संक्रमण भएर अस्पताल भर्ना भएकाे पूर्वप्रधानमन्त्री झलनाथ खनालकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ । संक्रमण देखिएपछि शनिबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे हाे । अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाकाे अनुसार हिजाेदेखि नै खनाललाई सामान्य अक्सिजनकाे सपाेर्टमा राखिएकाे छ ।
भरतपुरको वागीश्वरी र शारदानगरमा अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाइने
भरतपुर । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहितको टोलीले शनिबार भरतपुरको वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोष्टको स्थलगत अध्ययन गरेका हुन् । टोलीले सो क्षेत्रमा स्थलगत अध्ययन गरी वागीश्वरीमा १०० शय्याको र शारदानगर हेल्थपोष्टमा ३० शय्याको आइसोलेसन केन्द्र बनाउने तयारी थालेको हो । प्रदेशसभा सदस्य सुवेदीले योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोष्ट प्रशासनलाई तत्काल आइसोलेसन केन्द्र बनाउन के–कति खर्च लाग्छ योजनासहित पेश गर्न निर्देशन दिएका छन् । उनले भने, ‘आइसोलेसन केन्द्रका लागि भरतपुर महानगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको सहयोग रहनेछ । भरतपुरमा कोरोनाको सङ्क्रमण फैलिएर महामारीको रूपमा फैलिनसक्ने भएकाले पनि आइसोलेसन जरुरी छ ।’ उनले अस्पतालहरु भरिन थालेपछि अक्सिजनसहितको आइसोलेसनको जरुरी परेको बताए । रासस
थप ५ हजार ७६३ जनामा देखियो कोरोना, एक हजार २८७ जना निको हुँदा १९ को मृत्यु
काठमाडौं । नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख २८ हजार १८७ जना पुगेको छ भने सकृिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २८७ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप १९ जनाको मृत्यु भएको छ । यससँगै, हालसम्मका कूल संक्रमितमध्ये ८५.८६ प्रतिशत अर्थात २ लाख ८२ हजार ३८२ जना निको भएका छन् । १३.१४ प्रतिशत अर्थात ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका छन् भने १ प्रतिशत अर्थात ३ हजार २९८ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।