महामारी रोकथामका लागि सम्पूर्ण शक्ति लगाउन मुख्यमन्त्री राउतकाे निर्देशन
जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले कोरोना महामारीका विषयमा जानकारीका लागि आज आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल सम्वाद गरेका छन् । विगत केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेकाले सोको अवस्था, रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास तथा आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सुझाव लिनका मुख्यमन्त्री राउतले सो सम्वाद गरेकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । सो अवसरमा मुख्यमन्त्री राउतले कोरोनाको जाँचका लागि प्रदेश सरकारले आठवटै जिल्लामा पिसीआर मेसिन सञ्चालनमा ल्याइसकेको हुँदा जाँचमा समस्या नहुने बताए । सो अवसरमा प्रजिअहरुले कोरोना महामारी नियन्त्रणका लागि आठवटै जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । भर्चुअल सम्वादमा प्रदेश सरकारका तर्फबाट प्रमुख सचिव गोकर्णमणि दवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलगायतको सहभागिता थियो ।
दैलेखमा कोरोनाबाट गर्भवतीको मृत्य
दैलेख । कोरोना सङ्क्रमणका कारण यहाँ एक गर्भवतीको मृत्यु भएको छ । उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आज मृत्यु भएको हो । मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया १० महिनाका गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए । बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएकामा जाँच गर्दा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । मृत्यु हुने महिला १० महिनाकी गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख रेग्मीले जानकारी दिए । रासस
तीव्र गतिमा फैलिँदै कोरोना, काठमाडौंमा एकैदिन ३ हजार संक्रमित
काठमाडाैं । काेराेना भाइरस झन तीव्र गतिमा फैलिरहेकाे छ । काठमाडौं उपत्यकामा मात्रै एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ४ सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ गरी २ हजार ९सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।