टीकापुर र सेती अस्पतालद्वारा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द
टीकापुर । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठ रोग सेवाबाहेकका सम्पूर्ण बहिरङ्ग सेवा बन्द गरिएको जनाएका छन् । अस्पतालबाट प्रदान गरिँदै आएका बहिरङ्ग सेवा आजदेखि अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएका छन् । ‘कोरोना दिनानु दिन बढिरहेकाले अत्यावश्यक अवस्थामा बाहेक अस्पतालमा नआउनसमेत नागरिकलाई अनुरोध गरेका छौँ’, टीकापुर अस्पतालका डा रमेशप्रसाद उपाध्यायले भने, ‘कोरोना सङ्क्रमणका बिरामीलाई धान्न सक्ने अवस्था छैन । अब अस्पतालमा अन्य बिरामीको भीड गर्न थप जोखिम भएको छ । अस्पतालले विगतजस्तो निरन्तर सेवा दिन सक्ने अवस्था छैन ।’ उनले अस्पतालमा दैनिक १५ जना बढी कोरोनाको लक्षणका बिरामी आउन थालेकाले अस्पतालमा थप जोखिम बढेको बताए । ‘हामीले समस्या भएमा बिरामीले फोनबाट परामर्श लिनसक्ने व्यवस्थाका लागि चिकित्सकहरूको मोबाइल नम्बर बाँडेका छौँ । सामान्य समस्या भएकालाई टेलिफोनमै परामर्श लिन भनेका छौँ’, उनले भने, ‘यस्तो विपत्तिमा नागरिकलाई खानपानमा ध्यान दिन, सुरक्षित रहन आग्रह गर्ने हो । श्वासप्रश्वासमा समस्या भए यहाँ अक्सिजन पाउन मुश्किल छ ।’ टीकापुर अस्पतालले १५ शय्याको अक्सिजनसहितको कक्षसमेत सञ्चालन गरेको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले समेत आकस्मिकबाहेक बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवा स्थगित गरेको छ । बुधबार अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको निर्देशनानुसार आजदेखि बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवा बन्द गरेको जनाएको छ । साथै अस्पतालले उक्त अवधिमा अस्पतालमा कार्यरत चिकित्सक लिनसक्ने गरी सम्पर्क नम्बरहरु उपलब्ध गराएको छ ।
अब विदेश जानेहरुको पीसीआर रिपोटमा फोटो राख्नुपर्ने
काठमाडौं । अब विदेश जाने प्रयोजनका लागि गरिएको कोरोना परीक्षणको पीसीआर रिपोटमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशाला लाई बुधबार एक सूचना जारी गर्दै अनिवार्य फोटो राख्न निर्देशन दिएको हो । मन्त्रालयले विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामा मात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने जनाएको छ । यस्तैगरी, मन्त्रालयले पीसीआर परीक्षणको रिपोट आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था गर्ने निर्णय गरेको छ । यसअघि विदेशी जानेहरुसँग पीसीआर परीक्षणको नक्कली रिपोट भेटिएपछि मन्त्रालयले फोटो सहितको रिपोटलाई अनिवार्य गरेको हो ।
बुधबार नेपालभर ४ हजार ८९७ जना काेराेना संक्रमित थपिए
काठमाडाैं । नेपालमा बुधबार ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ४८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख १२ हजार ८२२ जना पुगेको छ भने सकृिय संक्रमितकाे संख्या ३० हजार २०९ पुगेकाे छ । यस्तै आज ७७३ जना निको भएसँगैं हालसम्म २ लाख ७९ हजार २७९ जना निको भएर घर गइसकेका छन ।