नारायणी अस्पतालमा प्लान्ट नहुँदा अक्सिजन बाहिरबाट किन्ने बाध्यता
वीरगञ्ज । नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ । नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताए । पर्सा क्षेत्र नम्बर–२ का सांसद बिमल श्रीवास्तावले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख्न दुई करोड वीरगञ्ज महानगरपालिकालाई दिए पनि हालसम्म सो प्लान्ट स्थापना हुन नसकेकाले जुनसुकै बेला समस्या आउनसक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरले बताए । मुख्य अक्सिजन सप्लायर्स भाजुरत्नले सप्लाई दिन नसकेको खण्डमा समस्या आउने जनाउँदै मेसु ठाकुरले अस्पतालले आफ्नो खर्च अक्सिजन प्लान्ट राख्ने सोच बनाएको बताए । सप्लार्यसले प्रत्येक दुई घण्टामा मागअनुसारको अक्सिजन सिलिन्डर पठाउने गरेकाले हाल सोको अभाव देखिएको छैन । कोरोना सङ्क्रमित बिरामीलाई होम आइसोलेसनमा जान भने पनि उनीहरु घर जान नमान्दा त्यस्ता बिरामीलाई पनि अक्सिजन दिनुपर्ने भएकाले अक्सिजनको बढी दुरुपयोग हुने गरेको बताइएको छ । अस्पतालको प्रयोशालामा शुक्रबार गरिएको परीक्षणमा ८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । एक सय ३९ जनाको पिसिआर परीक्षण गर्दा ६३ पुरुष र २३ महिला गरी ८६ जनामा सङ्क्रमण देखिएको अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए । हालसम्म सो अस्पतालमा उपचारका क्रममा चैत यता आठ जनाको मृत्यु भइसकेको डा दासले बताए । निजि अस्पतालमा सङ्घीय सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि थप्ने भनेर रकम पठाइए पनि केही अस्पतालले श्यया नथपेकाले नारायणी अस्पतालमा यस्ता बिरामीको चाप बढ्दै गएको छ । अहिले नारयणी अस्पतालमा बिरामीको उपचार गर्न ४० श्यया छुट्टाइएको छ । चालीसमध्ये ३१ श्ययामा कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेको अस्पतालका मेसु डा ठाकुरले जानकारी दिए । रासस
जनकपुरमा स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे ३ लाख राजश्व सङ्कलन
सर्लाही । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म तीन लाख ५२ हजार ४०० राजश्व सङ्कलन गरिसकेको छ । नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम तीन हजार ५२४ जनालाई कारवाही गरी हालसम्म उक्त रकम राजश्व सङ्कलन गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए । कार्यक्रमको शुरुवाती यही वैशाख १ गतेदेखि ४ गतेसम्म ४७० पटक व्यापक मात्रामा प्रचारप्रसार/माइकिङ/जिङ्गलसमेत बजाई सचेतना गराइएको प्रहरीले वैशाख ४ गतेबाट ११ गतेसम्म क्रमशःतीन घण्टा होल्डिङ गरी ४४ हजार ४५१ जनालाई सम्झाएर छाडिएको जनाइएको छ । त्यसैगरी १६ हजार ९६९ व्यक्तिलाई होल्डिङ्ग गरी मास्क वितरण गरी छाडिएको र हालसम्म तीन हजार ५२४ जनालाई सङ्क्रामक रोग निवारण ऐन बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रतिव्यक्ति १०० का दरले जरिवाना गरी राजश्व सङ्कलन गरिएको प्रहरी उपरीक्षक प्रसाईँले बताए ।
जाजरकोट: सिधै भारतबाट घर, जिल्ला अस्पतालमा मात्र २ शय्याको आइसोलेसन
जाजरकोट । कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो । सयौँको संख्यामा भारतबाट सर्वसाधारण जाजरकोट पुगेका छन् । प्रहरीले सदरमुकाममा ‘कोरोनाबाट बच्न मास्क लगाऔँ’ जस्ता नारा लगाएर बजार परिक्रमा गरे पनि अन्य कुनै पनि निकायले सतर्कता अपनाएको देखिँदैन । जिल्ला अस्पतालमा समेत दुई शय्याको आइसोलेसनबाहेक अन्य कुनै पनि व्यवस्थापन गरिएको छैन । ठाउँको अभावमा आइसोलेसन बनाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । नयाँ अस्पतालको भवन बन्दै गरेकाले पुराना अधिकांश भवन भत्काउँदा व्यवस्थापनमा समस्या भएको हो । अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गरे पनि अहिलेसम्म खरिद भएको छैन । दुइ वर्षदेखि एम्बुलेन्स नहुँदा जिल्ला अस्पतालमा बिरामी ल्याउन र लैजान समस्या हुँदै आएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै जाजरकोटमा विगत दुई दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा मात्र सङ्क्रमितको २० नाघेको छ । कोरोना जाँचका लागि आएकामध्ये ८० प्रतिशतलाई कोरोना देखिएको छ । भारत तथा अन्य ठाउँबाट आएका सयौँ सर्वसाधारणको जाँच गर्न बाँकी रहेकाले अझै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएको हुनसक्ने कार्यालयले जानकारी दिएको छ । अधिकांश डोल्पा यार्सा सङ्कलनतिर भारतबाट कमाइ नभएको भन्दै केही सर्वसाधारण उपल्लो डोल्पाका पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका छन् । नाकामा जाँच नहुँदा जहाँ गए पनि स्वतन्त्र भएका कारण सर्वसाधारण एक ठाउँबाट अर्को ठाउँमा जान पाएका हुन् । रासस